काठमाडौं । श्री एयरलाइन्सले एकैपटक २ वटा क्यू–४०० सिरिजका जहाज ल्याउने भएको छ । आन्तरिक र विदेशमा चार्टर्ड उडान गर्दै आएको श्रीले अबको केही महिना भित्रमै नयाँ जहाज ल्याउने गरी आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।
कोभिडका कारण थला परेको पर्यटकीय गतिविधि चलायमान हुन थालेसँगै श्री एयरलाइन्सले नयाँ जहाज ल्याउने प्रक्रिया अघि बढाएको हो । एयरलाइन्सका एक उच्च अधिकारीका अनुसार जहाज खरिदको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिसँगै जहाज ल्याउने बाटो खुल्नेछ ।
जहाज कतिमा ल्याउन लागिएको हो भन्ने नखुलाए पनि युरोपबाट जहाज ल्याउन लागिएको जानकारी प्राप्त भएको छ । यसअघि पनि श्रीले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको जहाज ल्याएको थियो । ८० क्षमता सिटका जहाज ल्याएसँगै हाल रहेका गन्तव्यमा उडान संख्या पनि बढाउने तयारी एयरलाइन्सले गरेको छ ।
कोभिड संक्रमणपछि आन्तरिक यात्रामा जहाज चढ्नेको संख्या बढेको छ । लामो दूरीको बसभाडा सरह नै जहाजको टिकट पाउने भएकाले पनि धेरैले हवाई यात्रा गर्न थालेका हुन् । यसबाहेक कोभिडका बेला पनि सुरक्षित यात्राका रुपमा एयरलाइन्सलाई लिइएको थियो ।
श्री एयरलाइन्सलाई एयरलाइन्स भित्रको पायोनियरको रुपमा व्याख्या गरिंदै आएको छ । श्रीकै प्रवेशपछि आन्तरिक उडानको भाडा आधाभन्दा बढी सस्तो भएको थियो । श्रीले हाल ६ वटा जहाजमार्फत उडान भर्दै आएको छ ।
एयरलाइन्सले भद्रपुर, विराटनगर, राजबिराज, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायतका विमानस्थलमा सेवा दिँदै आएको छ । यस्तै श्रीले उद्धार उडान र चार्टर्डका लागि हेलिकप्टर समेत सञ्चालन गर्दै आइहरेको छ