काठमाडौं । कांग्रेसको संस्थापनइतर पक्षमा सभापति पदमा साझा उम्मेदवार चयन गर्नका लागि नेताहरूबीच रस्साकस्सी चलिरहेको छ । आकांक्षी नेताहरू आफ्ना पक्षमा माहौल बनाउन दौडधुप गरिरहेका छन् । केही दिनयता नेताहरू विभिन्न छलफलमा व्यस्त भइरहेका छन् । तर, सहमति जुट्न सकेको छैन ।
सभापतिका लागि वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच रस्साकस्सी चलेको छ । महामन्त्री शशांक कोइरालाले भने आफू नै सभापतिको उम्मेदवार हुनुपर्छ भन्ने दाबी नरहेको भनिसकेका छन् ।
सभापतिका आकांक्षी नेता शेखर कोइरालाले बिहीबार बिहान जिल्ला र प्रदेशका नेतासँग अलग्गै छलफल गरेका हुन् । उनले जिल्लाका नेताहरूको सुझाव र सल्लाह लिएका थिए । ‘धेरै साथीले साझा उम्मेदवार बनाऔं र त्यो साझा उम्मेदवार तपाईं बन्नुभयो भने जित्न सकिन्छ भन्ने धारणा राख्नुभयो । कतिपयले त मध्यमार्गी बाटोबाट एकताकै बाटो रोज्नुपर्ने भन्नुभयो’ एक जिल्लाका सभापतिले भने, ‘समग्रमा सहमति र एकताको विकल्प छैन । हामीले त्यही सुझाव दिएका छौं ।’
छलफलमा नेता कोइरालाले भने देशभरका साथीहरूको सुझावले झन् उत्साह मिलेको भन्दै सभापतिमा दाबी नछाड्ने बताएका थिए । बिहान मात्रै वरिष्ठ नेता पौडेल निवासमा पुगेर सिंहले माने आफूले छोड्ने, नभए आफूलाई सघाउन भनेका थिए । ती जिल्ला सभापतिका अनुसार शेखरले प्रकाशमानले मान्दै नमानेको अवस्थामा पनि आफूउम्मेदवारीबाट पछि नहट्ने बताएका थिए ।
‘मैले सभापतिको दाबी छाडेको छैन, छाड्दिनँ पनि’ शेखरको भनाइ उद्धृत गर्दै ती सभापतिले भने, ‘हामीले पनि उहाँलाई सकेसम्म आफ्नो नाममा सहमति जुटाउने प्रयास गर्न आग्रह गर्यौं ।’
नेता सिंहले आफूबाहेक अरू कसैका लागि पनि नछोड्ने बताएपछि संस्थापनइतर पक्षमा एकताको प्रयासमा लागेका नेताहरू नै एकताको सम्भावना कमजोर बनेको भन्न थालेका छन् ।