काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झन्-झन् निरश बन्दै गएको छ । पछिल्ला दिनहरुमा एकै दिनको कारोबारमा कुनै समय ह्वात्तै बजार घट्ने र कुनै समय त्यसैगरी बढ्ने ट्रेन्ड समाउँदा लगानीकर्ता झन अन्यौलमा फसेका हुन् ।
‘बजार घट्छ भनेर बेच्यो बढ्छ । बढ्छ भनेर किन्याे फेरि घट्छ’ को स्थितिले लगानीकर्ताहरु झनै आत्तिएका छन् । केही ठूला भनिएका लगानीकर्ता धितोपत्र दलाल व्यवसायीहरुको मिलेमतोले विभिन्न त्रास देखाएर बजारलाई उतार चढावपूर्ण बनाउँदा लगानीकर्ताहरुलाई सेयर बजार नखाउ भने दिनभरिको सिकार, खाउ भने कान्छा बाबुको अनुहार भनेजस्तै भएको छ ।
यहाँभन्दा बजार घट्दैन भनेर सेयर खरिद गरे पनि थप घट्ने औसत मूल्य कायम गराउँदा झनै ओरालो लाग्ने र बिक्री गर्छु भनेर सोच्दा नसोच्दै बजार घट्ने प्रवृत्तिले लगानीकर्ता हैरान बनेका छन् ।
नियामक धितोपत्र बोर्ड नेतृत्वविहीन छ । कारोबारको प्रत्यक्ष निगरानी गर्ने नेप्से पनि नेतृत्वविहीन छ । अर्थमन्त्री जनार्दन शर्मा मौन छन् । त्यति मात्रै होइन्, सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस घट्दो बजारप्रति मौन रहँदा लगानीकर्ताहरु थप हतोत्साही भएका छन् ।
पछिल्लो पटक लगातार घटेको बजारले यसअघिको पहिलो न्यून विन्दुलाई छाडेर करिब ६० अंकले तल बजार सूचक घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से सूचक २४२८.३३ अंकसम्म झर्दा पछिल्लो प्रकरणको उच्च बिन्दु २८७८.२ (कात्तिक २२) को तुलनामा बिहीबारसम्म आइपुग्दा सूचक ४५० अंकले घटिसकेको छ । यो घटाइ करिब १६ प्रतिशत हो । यद्यपि, उच्च बिन्दु भदौ २ को ३१९९ को तुलनामा भने २४ प्रतिशतले बजार सूचक झरिसकेको छ ।
अधिकांश कम्पनीहरुको सेयर मूल्य एक वर्षको न्यून बिन्दुभन्दा तल झरिसकेको स्थिति छ । यसले लगानीकर्तामा थप दबाब परिरहेको छ । खासगरी, सामाजिक सञ्जालमा विभिन्न पक्षबाट बजार अझै घट्छ भन्ने अफवाहले पनि लगानीकर्ताहरु पेनिक सेलतर्फ आकर्षित भएको पाइन्छ । बजार निरन्तर घटे पछि बैंकको ऋण लिएर कारोबार गरिरहेका ऋणीहरुलाई मार्जिन कल आउन थालेको छ । यस अघि पनि मार्जिन कल आउन थाले पछि एकाएक बजार उचालिएको थियो । तर, यस पटक भने त्यस्ता नरहन सक्छ ।
किनभने लाभांश घोषणा गरेका कम्पनीहरुको बुक क्लोजका कारण हुने मूल्य समायोजनले बजार सूचकलाई मात्रै नभएर समग्र कम्पनीहरुको सेयर मूल्यमा प्रभाव पार्न सक्छ । अर्कोतिर ब्याजदर बढ्ने माहोल बनिरहेको छ । मूल्य वृद्धि चुनौतीपूर्ण बनिरहेको छ । बैंकमा लगानीयोग्य रकमको अभाव छ । अहिले गरिएको लगानीबाट प्रतिफल लिन थप एक वर्ष कुर्नुपर्ने हुन्छ । यी विविध कारणले घट्दो बजारलाई घटाउन अझ मद्दत गरिरहेको छ ।
लगानीकर्ताको मनोवल नउकासिएसम्म बजार उक्लिन गाह्रो छ । यद्यपि, बिहीबार पनि बजार सूचक बुधबारको तुलनामा बढेको थियो । बुधबार २४५५ मा रहेको सूचक बिहीबार बढेर २४६५ सम्म उक्लिएको थियो । तर, त्यो लामो समय टिक्न सकेन र अधिक समय २४२८ हाराहारी तिर कारोबार भइरह्यो । तर, अन्तिम समयमा बजार सूचक ५.८४ अंकले घटेर २४४९.९७ अंकमा रोकिएको छ । बिहीबारको कारोबार प्रवृत्ति र यो साताभरको कारोबारको अवस्थालाई हेर्दा आइतबार बजार बढ्न सक्छ । एक चरणको न्यून बिन्दुमा सूचक आएकाले फेरि केही बढेर घटाउने प्रपञ्च भने हुन सक्छ ।
बिहीबार बजार घट्दा १०६ कम्पनीले साथ दिएकोमा सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.८२ प्रतिशतले घटेको छ । उता घटेको बजारमा पनि ७२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । यद्यपि, सबैभन्दा बढी मूल्य बढ्ने कम्नीमा सिनर्जी पावर डेभलपमेन्टको मूल्य ४.५५ प्रतिशतले बढेको छ ।
बिहीबार पनि कारोबार रकम भने बुधबारकै हाराहारी भएको छ । पेनिक सेलरका बाबजुट बजार घटाउने कोसिस रहँदा बिहीबार २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार २ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन कारोबार कात्तिक ३ यताकै न्यून थियो । कात्तिक ३ गते २ अर्ब ६० करोड ८६ लाख रुपैयाँ बरारबको सेयर किनबेच भएको थियो । बिहीबार सबैभन्दा धेरै कारोबार भएको हिमालय डिष्ट्रिलरीको ८ करोड ८५ लाख ५२ हजार रुपैयाँ बरारबको सेयर किनबेच भएको छ ।