काठमाडौ । नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । आफ्ुना ग्राहकलाई अनलाइन माध्यमद्वारा एकद्वार प्रणालीमार्फत सहज र सरल बैंकिङ अनुभव दिलाउन बैंकले ‘नबिल डीजीबैंक पोर्टल’ सार्वजनिक गरेको हो ।
यसमार्फत बैंकले ग्राहकसम्बन्धी सम्पूर्ण सेवालाई स्वचालित बनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले एक कार्यक्रमका बीच यो पोर्टलको सुरुवात गरेका हुन् ।
विगत ३७ वर्षमा बैंकले विभिन्न कोसेढुंगा पार गर्दै आइरहँदा बैंकका विभिन्न उपलब्धीमध्ये नबिल डीजीबैंक पनि एक भएको उनले बताए । यस्तै नयाँ एकीकृत पोर्टलको विकाससँगै कम्प्युटराइज्ड बैंकबाट सुरु भएको नबिल बैंक वास्तविक डिजिटल बैंकको रूपमा विकास भएको उनको भनाइ थियो ।
बैंकले आफ्नो बृहत् डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा डीजी बैंकलाई परियोजनाको रूपमा विकास गर्न सुरु गरेको थियो । त्यसलाई साकार पार्दै डीजीबैंक पोर्टलमार्फत वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको शाहले बताए ।
के हो नबिल डीजीबैंक ?
नबिल डीजीबैंक ग्राहककेन्द्रित अनलाइन बैंकिङ सेवाको एकीकृत एकद्वार प्रणाली हो ।
यसमार्फत ग्राहकले घरमै बसेर अनलाइन फिक्स्ड डिपोजिट, डेबिट–क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, लोन आवेदनलगायत अनलाइन सेवा पाउँछन् । साथै बैंकले आगामी दिनमा पोर्टलमा अन्य सेवा थप गर्दै जाने योजना रहेको बनाएको छ ।
अन्य दुई सेवा पनि सार्वजनिक
यसबाहेक बैंकले नयाँ प्रविधि भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने भीकेवाइसी र भर्चुअल आईकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवा पनि सार्वजनिक गरेको छ, । भीकेवाइसीको सुरुवातसँगै ग्राहकलाई केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैकलाई आवश्यक विवरण पेस गर्ने भन्नेमा दुईटा विकल्प उपलब्ध भएका छन् ।
भीकेवाइसी छनोटमार्फत क्यामेराअघि बसेर ग्राहकले आफ्नो परिचय वा पूर्वनिर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी काम गर्न सक्नेछन् ।
त्यसैगरी नबिल भर्चुअल आईकार्ड नबिल स्मार्ट बैक एपभित्र इमबोस्ड गरिएको सेवा हो । यसबाट ग्राहकले सजिलैसँग आफ्नो प्यानकार्ड अपलोड गरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । यस्तै ब्यालेन्स टपअप, कार्ड विवरणहरू; कार्ड नम्बर, म्याद समाम्ति सीभीभीसहित मोबाइल बैंक एप भित्र भर्चुअल कार्ड तुरन्तै जारी हुनेछ ।
भर्चुअल आईकार्ड भारतीय रुपैयाँ बाहेका ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिनेछ ।
बैंकका कार्यकारी प्रमुख शाहले यो नबिल बैंकको डिजिटल यात्राको सुरुवात मात्रै भएको र आगामी दिनमा नबिल डीजीबैंक पोर्टलमा बैंकका धेरैभन्दा धेरै सेवा उपलब्ध गराउने बताए ।