भारतीय मूलका अमेरिकी विशाल गर्ग केही समययता आलोचनाको सिकार बनिरहेका छन् । सामाजिक सञ्जाल जुम कलमार्फत ९०० जना कर्मचारीको जागिर खाइदिएका कारण उनी सर्वत्र आलोचित बनेका हुन् ।
मालिकले कर्मचारीलाई जागिरबाट निकाल्नु कुनै अनौठो कुरा त होइन । तर, एउटा जुम कलमार्फत गर्ग स्वामित्वको कम्पनी बेटर डटकममा कार्यरत कर्मचारीलाई निकालिएको घटना अनौठो बनेको छ । यो विषयलाई लिएर कर्मचारीलगायत आम मानिसले राेष प्रकट गरिरहेका छन् ।
गर्गले जागिरबाट निकाल्ने कुरा सहितकाे भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यसपछि उनलाई ‘दुष्ट मालिक’ भन्दै चौतर्फी आलोचना हुन थाल्याे ।
अन्ततः गर्गले घुँडा टेक्नैपर्ने स्थिति आयो । र, उनले यसरी कर्मचारी निकालेकामा माफीसमेत मागेका छन् ।
‘आफ्ना कर्मचारी निकालेको सूचना जुम कलमार्फत दिनु ठूलो गल्ती भयो’ गर्गले भने, ‘यसरी मैले निकाल्नुहुन्थेन ।’
उनले जसरी एउटा कलमार्फत कर्मचारी निकाले त्यो तरिका गलत भएको भन्दै उनको नियतमाथि मान्छेहरुले प्रश्न उठाए । यसरी क्रिसमसको मुखमा कर्मचारीलाई निकाल्नु राम्रो मानिएको छैन । कम्पनीलाई हालसालै मात्र राम्रो फन्डिङ प्राप्त भएको छ । यस्तै केही मिल्नेवाला पनि छ ।
यस्तो स्थितिमा एक त कर्मचारीलाई निकाल्नु नै गलत हो । अर्को कुरा, निकाल्ने नै भए पनि अफिसमा बोलाएर निकाल्नुपर्थ्याे वा इमेलमार्फत निकाल्न सकिन्थ्यो भन्ने प्रश्न उठिरहेको छ ।
याे पनि पढ्नुहाेस्ः
जुम कलबाट ९०० कर्मचारीकाे जागिर चैट् पार्ने विशाल गर्ग को हुन् ?