काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले अर्बौ रुपैयाँ खानेपानी महसुल बक्यौता असुल गर्न बाँकी रहेको देखिएको छ । गएको कात्तिकसम्म विभिन्न सरकारी कार्यालय, निजी कम्पनी र व्यक्तिगत गरी २ अर्ब ७३ करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको केयूकेएलले जनाएको छ ।
केयूकेएलको नाममा २ अर्ब ४३ करोड १३ लाख ५७ हजार र काठमाडौं उपत्यका खानेपानी बोर्डको नाममा २९ करोड ८६ लाख ४९ हजार रुपैयाँ उठ्न बाँकी रहेको हो । कुल २ अर्ब ७३ करोड रुपैयाँ बक्यौता रहेको केयूकेएलले जनाएको हो ।
यस्तै २०६४ फागुन १ गते उपत्यकाभित्र पानी वितरण गर्न भनी केयूकेएलको स्थापना भएको थियो । उपत्यकाभित्र केयूकेएलबाट पानी वितरण भए पनि उपत्यकाबाहिर भने हालसम्म संस्थानले नै पानी वितरण गर्दै आइरहेको छ । यसर्थ केयूकेएल र बोर्ड गरी २ वटा नाममा बक्यौता रकम उठाउँदै आएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यले बताए ।
२०६४ सालदेखि सम्पूर्ण बक्यौता रकम उठाउने जिम्मा केयूकेएलको रहेको छ । बोर्डको नाममा उठेको रकमबाट केयूकेएलले प्रशासनिक खर्च स्वरूप १२ देखि १८ प्रतिशतसम्म रकम कटाउन पाउने व्यवस्था रहेको बोर्डका सूचना अधिकारी उदयकुमार केसी बताउँछन् ।
‘केयूकेएलले सरकारी र निजी क्षेत्रमा जोडिएका धारालाई आधार मानेर प्रशासनिक खर्च कटाउँ । र, बाँकी रकम बोर्डलाई दिन्छ’ केसीले भने, ‘त्यसैले १२ देखि १८ प्रतिशत हुन्छ ।’
यद्यपि केयूकेएलले आफ्नो स्थापना कालदेखि नै पूर्ण रुपमा बक्यौता रकम उठाउन भने सकेको छैन । १४ वर्षदेखि बक्यौता रकम उठाउन नसकेको स्वीकार्दै सीईओ शाक्य भन्छन्, ‘केयूकेएल स्थापना भएदेखि नै एक चरणको बक्यौता उठाउँन बाँकी छ । बोर्डको नाममा केयूकेएल स्थापनाभन्दा पहिलेदेखिकै पुरानो रकम उठ्न बाँकी छ ।’
तर, कुन–कुन निकायबाट कहिलेदेखि कहिलेसम्म र कति–कति रकम उठ्न बाँकी छ भन्ने विषयमा ठोस जानकारी केयूकेएलसँग छैन ।
केयूकेएलले उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा बढी घरायसी प्रयोजन (व्यक्तिगत) बाट रकम उठ्न बाँकी रहेको देखिन्छ ।
केयूकेएल स्थापनापछि अर्थात् १४ वर्षदेखि घरायसी प्रयोजनबाट मात्रै १ अर्ब ९९ करोड ४५ लाख ७५ हजार ४७५ रुपैयाँ उठ्न बाँकी रहेको छ ।
लामो समयदेखि बक्यौता रकम उठ्न नसक्नुको कारण बताउँदै सीईओ शाक्यले भने, ‘धारामा पानी नआएपछि जरिवानासहित तिर्न पाउने व्यवस्था भएकाले उपभोक्ताको सोचाइपछि नै तिर्ने भयो । तर, मेलम्चीको पानी आएपछि भने धेरै उपभोक्ता बक्यौता रकम तिर्न आएका थिए ।’
त्यस्तै घर खरिद बिक्री गर्दा धारा नामसारी नगरिएको अवस्थामा नयाँ घरधनीले ‘मेरो नामको धारा होइन’ भन्ने उद्देश्यले पनि बक्यौता बाँकी रहेको उनको भनाइ छ । तर, सम्पति हस्तान्तरणको अवस्थामा नयाँ घरधनीले नै बक्यौता रकम तिनुपर्ने शाक्य बताउँछन् ।
यस विषयमा उपभोक्तालाई जानकारी नहुँदा बक्यौता उठ्न बाँकी रहेको र आफूहरुले जानाकारी प्रवाह गरिरहेको उनले सुनाए । यसबाहेक बक्यौता रकम तिर्ने ग्राहकलाई मेलम्चीको पानी प्रयोग गर्ने धारा निःशुल्क जडान गर्ने कार्यसमेत भएको शाक्यको भनाइ छ ।
विभिन्न सरकारी निकायहरुले २०६४ पछि मात्रै ४० करोड ६७ लाख ९५ हजार रुपैयाँ पैसा तिरेका छैनन् । पानी प्रयोगबापत केयूकेएललाई रकम नबुझाउनेमा सिंहदरबार भित्रका मन्त्रालयदेखि सुरक्षा निकायसम्म रहेका सीईओ शाक्य बताउँछन् ।
‘मन्त्रालय, सैनिक कार्यालय, प्रहरी कार्यालयहरुले रकम नबुझाएको रेकर्डमा देखिएको छ’ क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘केही कार्यालयहरु स्थानान्तरण भएको कुरा पनि आएको छ ।’
लामो समयदेखि उठ्न नसकको बक्यौताको विषयमा केयूकेएलले ठोस कदम चाल्न नसकको शाक्यको भनाइबाट प्रस्ट हुन्छ । ‘हामीले खानेपानी मन्त्रालयमार्फत सम्बन्धित निकायलाई अनुरोधपत्र पठाइरहेका छौं । मन्त्रालयबाट पनि त्यसमा पहल भइरहेको छ’ उनले भने । उता उद्योग एवम् विभिन्न कम्पनीबाट १४ वर्षदेखि २ करोड ९९ सय लाख ८६ हजार ३१५ रुपैयाँ उठाउन बाँकी रहेको तथ्यांक केयूकेएलसँग छ ।
केयूकेएल स्थापना हुनुअघि नै अर्थात् संस्थान हुँदा (२०४६ पछि विभिन्न समयमा) देखिको २३ करोड ६ लाख ९५ हजार ४६९ रुपैयाँ बक्यौता घरायसी (व्यक्तिगत) मात्रै उठ्न बाँकी रहेको देखिन्छ ।
बोर्डको नाममा उठेको अर्थात् २०६४ पहिला बाँकी रहेको रकम भने केयूकेएलले प्रशासनिक खर्च कटाएर बोर्डलाई दिनुपर्ने छ । त्यस्तै बोर्डको नाममा केयूकेएलले सरकारी निकायबाट ६ करोड ५१ लाख ३ हजार ७६६ रुपैयाँ ९२ पैसा उठाउँन बाँकी रहेको पनि देखिन्छ ।
तर, २०६४ पहिलेको बक्यौता रकम उठाउन बाँकी शाखा महाराजगन्ज मात्रै रहेको केयूकेएलले जनाएको छ । उक्त शाखाबाट २८ लाख ४९ हजार ८९४ रुपैयाँ रहेको केयूकेएलको विवरणमा उल्लेख छ । केयूकेएलका उपत्यका भित्र १० वटा शाखा रहेकामा अन्य शाखाले २०६४ पहिला उद्योग एवम् कम्पनीबाट सम्पूर्ण बक्यौता रकम उठाइसकेका छन् ।
केयूकेएलका त्रिपुरेश्वर, महांकाल चौर, महाराजगन्ज, क्षेत्रपाटी, कीर्तिपुर, ठिमी, भक्तपुर, ललितपुर, बानेश्वर र कमलादी गरी १० वटा शाखा कार्यालय रहेका छन् । तर, १० वटै शाखा कार्यालयले घरायसी र सरकारी निकायबाट भने पूर्ण रुपले बक्यौता उठाउन सकेका छैनन् ।
२०६४ पछि उद्योग एवम् कम्पनीबाट पूर्ण बक्यौता उठाउनेमा कीर्तिपुर, भक्तपुर, ललितपुर र बानेश्वर शाखा रहेको बताइएको छ । यी ४ शाखाले पनि घरायसी र सरकारी निकायबाट बक्यौता रकम उठाउन नसककेको केयूकेएलले जनाएको छ । यीबाहेक अन्य ६ शाखाले भने घरायसी, सरकारी तथा उद्योग एवम् कम्पनी गरी तीनवटै क्षेत्रबाट पूर्ण रुपमा रकम उठाउन सकेका छैनन् ।