काठमाडौं । मनकामना केवलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले मनकामनमा चारतारे स्तरको मनकामना रिसोर्ट निर्माण गर्ने भएका छन् । गोर्खाको मनकामनामा स्टार होटलहरु नहुँदा त्यहाँ पुग्ने भक्तजनहरु काठमाडौंसहित पोखरा र चितवनमा बास बस्न पुग्नुपर्ने बाध्यतालाई हटाउन रिसोर्ट निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाए हुन् ।
साढे ९ रोपनी क्षेत्रफलमा फैलिने सो रिसोर्ट डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने केहि महिना भित्रै काम अगाडी बढाउने गरी तयारी थालिएको उनले बताए । रिसोर्टको जग्गा बाहेक ३५ देखि ४० करोड रुपैया लागत अनुमान गरिएको छ । रिसोर्ट बाई मनकामना केवलकार प्रालि मार्फत रिसोर्ट निर्माण हुने भएको हो ।
केवलकारकै जग्गा भएकोले खरिद गर्न नपरेकाले पनि लागतमा केहि सस्तो भएको उनको भनाई छ । यहि कम्पनीमार्फत रिसोर्ट निर्माण हुने गरी आवश्यक डिजाइनहरु तयार पारेर सामान खरिदको प्रक्रिया अघि बढिसकेको जनाएको छ ।
४० वटा कोठासहित तालिम र सेमिनारका लागि आवश्यक हल, हेल्थ क्लब, स्पा सहितको व्यस्था होटलमा रहने बताइएको छ । चारतारे स्तरका रिसोर्ट (होटल) का लागी आवश्यक सबै मापदण्ड र पुर्वाधारहरु निर्माण हुने उनको भनाई छ ।
रिसोर्टमा सामान्यतया ३ जनासम्म सुत्ने मिल्ने गरी ठूला ठूला कोठाहरु रहने छ । कुरिनटारमा पनि सोही कम्पनीमार्फत दोस्रो चरणमा होटल निर्माण गर्ने तयारी गरेका छन् ।
कुरिनटारमा भने कुन स्टार, कति लगानी र कुन नाममा होटल खोल्ने भन्ने विषयमा यकिन नभए पनि प्रारम्भीक रुपमा छलफल अघि बढिसकेको जानकारी दिए ।
मनकामना केवलकार नेपालकै सबैभन्दा पुरानो र पहिलो हो । त्यहाँ आन्तरिक एवंम बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । विषेश गरेर भारतीय पर्यटकहरु मनकामना माताको दर्शनका लागि जाने भएकोले पनि सुविधासम्पन्न होटल निर्माणमा आफु लागेको सञ्चालक श्रेष्ठको भनाई छ ।
भारतको मात्र नभई विभिन्न मुलुकका पर्यटकहरुले त्यहाँ आएर स्टार लेभलका होटलहरु खोज्ने गरेको उनले बताए । पछिल्लो समय त्यस क्षेत्रमा होटलहरु निर्माण हुने क्रमले तिब्रता पाएको छ । केवलकारले कुरिनटारमा रेष्टुराँ भने यस अघिनै सञ्चालनमा ल्याएको थियो । रिसोर्ट भने पहिलो पटक निर्माण गर्न लागेका हुन् ।