काठमाडौं । पछिल्लो समय देशका विभिन्न क्षेत्रका विमानस्थलमा पशुपन्छी जहाजमा ठोकिने क्रम बढेपछि नियन्त्रणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी थालेको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को ७७ औं स्थापना दिवसको अवसरमा मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञबीच पशुपन्छी नियन्त्रणका लागि छलफल अघि बढाएको हो ।
केही साताअघि नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोकिएको थियो । मानवीय क्षति नभए पनि जहाजमा क्षति पुगेको थियो । यसअघि पनि उक्त विमानस्थलमा बँदेल नै ठोकिएको थियो । यसबाहेक पनि विभिन्न समयमा जहाजमा चरा, कुकुर र स्याल ठोकिने गरेका छन् ।
विज्ञहरुद्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार सन् २०२१ को १० महिनामा नेपालमा चरा र वन्यजन्तुका कारण उडान प्रभावित भएका कुल घटना ५५ पुगिसकेका छन् ।
तथ्यांकअनुसार यस्तो जोखिम काठमाडौंमा बढी हुने गरेको छ । काठमाडौंपछि पोखरा, भैरहवा, भरतपुरसहितका विमानस्थलमा यस्ता घटना भएका छन् । नेपालमा हरेक वर्षजसो यस्ता प्रकृतिका घटना–दुर्घटना बढिरहेका छन् ।
प्राधिकरणका निमित्त उपमहाप्रबन्धक देवचन्द्रलाल कर्णका अनुसार कुनै बेला धावनमार्ग र चराको रंग उस्तै हुने हुनाले एयर ट्राफिक कन्ट्रोलरले चरा नदेख्दा दुर्घटनाको जोखिम हुन्छ । भारतका अधिकांश विमानस्थलमा चरा तथा वन्यजन्तु धपाउन पटका पड्काउने गरिएको भन्दै नेपालमा समेत सोही उपाय अपनाउन आवश्यक अनुमतिका लागि गृहमन्त्रालयसँग समन्वय गरिदिन लागि पर्यटन मन्त्री तथा सचिवलाई आग्रह गरेका छन् ।
धावनमार्गनजिकै खाडल नै छाडिदिनाले र विमानस्थल क्षेत्रभन्दा बाहिर लगाउने बालिनालीमा पन्छी आउँदा हुने सक्ने सम्भावित क्षति कम गर्नसमेत स्थानीय सरोकारवालासँग समन्वय हुनुपर्ने बताएका छन् । घाँस काटेर मात्र समस्या समधान नहुने भन्दै त्यसका लागि आवश्यक पूर्वधार निर्माण हुन आवश्यक रहेको उनको भनाइ छ ।
तर, विमानस्थल भित्रको घाँस काट््ने जिम्मेवारी कसलाई दिने भन्ने विषयमा समेत स्पष्ट हुनुपर्ने कर्ण बताउँछन् ।
प्राधिकरणका पूर्व महानिर्देशक रतिसलाल चन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दायाबायाँ प्रदूषित खोलानाला भएकाले चराचुरुंगीदेखि स्याल र कुकुरको बिगबिगी भएकाले त्यसतर्फ पनि ध्यान दिन अनुरोध गरेका छन् ।
विमानस्थल आसपासको घाँस काट्ने विषयमा प्राधिकरणले वर्षको दुई पटक बैठक राख्नुपर्नेमा सन् २०१३ देखि बस्न नसकेको उनको भनाइ छ ।
प्राधिकरणकै पूर्व महानिर्देशक त्रिरन्त मानन्धरले घाँस व्यवस्थापनमा लामो समयदेखि छलफल भए पनि ठोस निर्णय हुन नसकेका कारण समस्या हुँदै आएको बताए । नियमको अक्षरशः पालना गर्ने र लापरबाही गर्नेलाई जवाफदेही बनाउने हो भने धेरै हदसम्म समस्या समाधान हुने पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठ बताउँछन् ।
यसैगरी वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विमानस्थलभित्र पशुपन्छी जहाजमा ठोकिँदा सबैभन्दा क्षति उड्डयन उद्योगमा परेको बताउँदै त्यसको नियन्त्रणका लागि मन्त्रालय गम्भीर भएर लाग्न सुझाव दिएका छन् ।
’पशुपन्छी ठोकिएर महिनौंसम्म जहाज ग्राउन्डेड हुँदा करोडौं घाटा पर्छ । तर, कही“बाट क्षतिपूर्ति हुँदैन’ क्याप्टेन थापाले भने, ‘यस्तो बेला हाम्रो समस्यामा पनि प्राधिकरण र मन्त्रालय गम्भीर भएर लाग्नुस् ।’
प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले नेपालगन्जमा भएको घटनाले आफूहरु लज्जित भएको बताउँदै पशुपन्छी नियन्त्रणका लागि पहल सुरु भएको बताए । विमानस्थलभित्र पशुपन्छीले पुर्याएको क्षतिलाई केही मात्रामा प्राधिकरणले पनि बेहोर्ने गरी आवश्यक गृहकार्य भएको उनले सुनाए ।
मन्त्रालयका सचिव महेश्वर न्यौपानेले घाँस काट्ने बैठक एक साता भित्रमा राख्न प्राधिकरणका महानिर्देशक क्षेत्रीलाई निर्देशन दिएका छन् । ‘छिटै बैठक आव्हान गरेर घाँस व्यवस्थापनमा लाग्छौं’ सचिव न्यौपानेले भने ।
पर्यटन मन्त्री प्रेमबहादुर आलेले पनि एक साताभित्र प्राधिकरणको बजेट पास हुने बताउँदै त्यति बेला पशुपन्छी नियन्त्रणसहित घाँस व्यवस्थापनका लागि आवश्यक बजेट आउने उल्लेख गरे । घाँस काट्ने, तारजाली लगाउनेदेखि पशुपन्छी नियन्त्रणका लागि आवश्यक सबै उपकरण खरिद गरी सबै विमास्थलमा तत्कालै पुर्याउनसमेत मन्त्री आलेले प्राधिकरणका महानिर्देशक क्षेत्रीलाई निर्देशन दिएका छन् ।