अटो व्यवसायमै १६ वर्ष बिताइसकेका युवा उद्यमी हुन्, करण चौधरीे । ५ वटा विषयमा मास्टर्स गरेका करण, चौधरी घरानाका प्रतिनिधि हुन् । उनले मेकानिकबाट करियर सुरु गरे । अहिले उनी सीजी होल्डिङ्ग्सका कार्यकारी निर्देशक पनि हुन् । र, हाल नाडाका कार्यसमितिका उपाध्यक्ष पनि ।
चौधरी परिवारको लिगेसीलाई अझै माथि लैजान र आफ्नो पहिचान उँचो बनाउन करणले जिउज्यानका साथ लागिरहेका छन् । नाडा उपाध्यक्ष चौधरी अध्यक्ष पदका बलिया प्रत्यासीसमेत मानिन्छन् । भोलिदेखि हुने नाडा निर्वाचनमा अध्यक्ष पदका लागि उनले उम्मेदवारी दिएका छन् । र, सोही पदका अर्का आकांक्षी धुव्र थापासँग प्रतिस्पर्धा गर्दैछन् ।नेपालको स्थापित अटोमोबाइल ब्रान्ड सीजी मोटरकर्पमा लामो अनुभव संगालेका उनै व्यवसायी चौधरीसँग क्यापिटल नेपाल संवाददाता युजु खालिङले गरेको कुराकानीको सम्पादित अंशः
नाडाको चुनाव आउन एक दिन मात्र्र बाँकी छ । निर्वाचनको दिनसम्म सर्वसम्मतमा जाने भन्ने दुवै पक्षले भन्नुभएको छ । सहमतिमा जाने सम्भावना कस्तो छ ?
मेरो चाहना भनेको अझै पनि सहमतिमा जाऔं नै भन्ने हो । मनोनयन भने दर्ता भइसक्यो । तर, पनि अध्यक्षका अर्का प्रत्यासी ध्रुव थापासँग सहमतिको प्रयास गरिरहेको छु । र, यसलाई अन्तिम क्षणसम्म जारी राख्नेछु । किनकि अटो क्षेत्रको विकास र विस्तारका लागि सबैको सहमति समझदारी भएमा सहज हुनेछ । सर्वसम्मत नभएको खण्डमा निर्वाचनमा जानुको कुनै विकल्प छैन । त्यस बेला सवारी व्यवसायीले सक्षम नेतृत्व छनोट गर्नुहुनेछ भन्ने मेरो आशा छ ।
सर्वसम्मतिको अर्थ एउटाले हाप्ने भन्ने होइन । बरु दुवै जना बराबर नेतृत्वमा रहने भन्ने हो । काम गर्नका लागि टिम आवश्यक छ । एउटा अध्यक्ष मात्रै पनि ठूलो कुरा होइन । सबै पक्ष, सबै वर्ग, सबै क्षेत्र र भूगोलका प्रतिनिधिहरू नाडाको कार्यसमितिमा हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
तपाईंले आफ्नो प्यानल घोषणा कार्यक्रममा आफूलाई गोल्छा अर्गनाइजेसनको समर्थन छ भन्नुभयो । तर, अर्गनाइजेसनका निर्देशक आकाश गोल्छा त तपाईंका प्रत्यासी थापाको प्यानलमा सदस्य पदमा उठ्नुभएको छ । यहाँनेर अलि कन्ट्रोभर्सी भएन र ?
समर्थन कसलाई छ भन्ने कुरा प्रस्ट भैसकेको छ । चुनावको दिनमा झन् छर्लंग हुनेछ । तर, म आजको दिनसम्म पनि सहमतिमा जान प्रयासरत छु ।
मेरो चाहना भनेको अझै पनि सहमतिमा जाऔं नै भन्ने हो । मनोनयन भने दर्ता भइसक्यो । तर, पनि अध्यक्षका अर्का प्रत्यासी ध्रुव थापासँग सहमतिको प्रयास गरिरहेको छु । र, यसलाई अन्तिम क्षणसम्म जारी राख्नेछु । किनकि अटो क्षेत्रको विकास र विस्तारका लागि सबैको सहमति समझदारी भएमा सहज हुनेछ । सर्वसम्मत नभएको खण्डमा निर्वाचनमा जानुको कुनै विकल्प छैन । त्यस बेला सवारी व्यवसायीले सक्षम नेतृत्व छनोट गर्नुहुनेछ भन्ने मेरो आशा छ ।
यसपटकको चुनावमा तपाईं देशकै ठूलो स्थापित व्यवसायिक घरानाबाट स्थापित अटोमोबाइल ब्रान्डलाई प्रतिनिधित्व गर्दै हुनुहुन्छ । अर्कोतिर तपाईंका प्रतिद्वन्द्वी सानो व्यवसायबाट सुरु गरी मोफसलबाट उदाएर सबै क्षेत्रको व्यवसाय गरी अनुभव संगालेका पुराना र स्थापित व्यवसायी हुनुहुन्छ । चुनौती र प्रतिस्पर्धा कत्तिको कडा होलाजस्तो लाग्छ ?
ठूलो व्यावसायिक घरानामा जन्मिनु मेरो दोष होइन । तर, म युवा हुँ । परिपक्व छु । युवाले चाहेमा र इच्छाशक्ति भएमा राम्रो गर्न सकिन्छ । त्यही राम्रो गर्न नाडामा आउन खोजेको हुँ । यहाँबाट सबैको हितका लागि धेरै काम गर्न सक्छु भन्ने छ । यसअघि दुई कार्यकाल नाडामै बिताएँ । नाडामा अब नेतृत्व पनि युवाकै चाहियो भन्ने कुरा हो ।
मेरो टिममा ठूला व्यवसायी छन् । टायर उद्योग सञ्चालकदेखि दुईपांग्रे चारपांग्रे सवारीको एसेम्बल प्लान्ट खोल्ने उद्योगीसम्म छन् । म स्वयम् लुब्रिकेन्ट उत्पादक पनि हुँ ।
तर, धेरै भोट साना व्यवसायीको छ । यस्तोमा ठूलालाई सानाले भोट गर्छन् कि गर्दैनन् भन्ने संशय छ । मेरो कुरा प्रस्ट छ– यदि एउटै टिममा, एउटै कम्पनीको काम गर्ने प्रतिबद्धता लिएर अघि बढेका छौं भने आफ्नो व्यावसायिक हितका लागि पनि आफ्नो सहयात्रीलाई भोट हाल्नैपर्ने हुन्छ ।
साथ–सपोर्टको कुरा गर्दा टिमलाई टाटा, एक्साइड ब्याट्रीलगायतको आधिकारिक वितरक सिप्रदी ट्रेडिङदेखि एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसम्मको साथ छ । यस्तै हालको कार्यसमितिको ८० प्रतिशत सदस्यको साथ पनि मलाई छ । मेरो टिम उद्योगीमुखी भएकाले नेपालमा एसेम्बल प्लान्टदेखि, लुब्रिकेन्ट, ब्याट्रीको प्लान्ट स्थापना गरेका र गर्ने तयारीमा रहेकाहरूको समेत साथ छ ।
कम्पनीको नाम लिँदा सुजुकी, टाटा, महिन्द्रा, फियाट, जेसीबी, स्कोडा, जिप, रेनो, एमजी, यामाहा, हिरो, होन्डा, बजाज, एक्साइडलगायतको साथ पनि मेरा लागि छ ।
टिममा हालका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानिया हुनुुहुन्छ । हिरोका अभिक ज्योति, देवराज भण्डारी, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश पुरी, निलमणि पाठक, बरदान बस्नेतलगायत पनि मेरै टिममा हुनुहुन्छ ।
तपाईंका चुनावी एजेन्डा के–के हुन् त ?
पूर्वाधार विकास हाम्रो पहिलो एजेन्डा हो । बाटो ठूलो र धेरै भयो भने धेरै गाडी चल्न सक्छन् । धेरै पार्टस् बिक्री हुन्छ । धेरै टायर, ब्याट्री र लुब्रिकेन्ट बिक्री हुन्छ । पूर्वाधार विस्तार कसरी गर्न सकिन्छ भनेर सरकारसँग सहकार्य गर्ने हाम्रो योजना छ ।
तर, त्यसपूर्व सरकारले सवारी व्यवसायप्रति हेर्ने नजर परिवर्तन गर्न जरुरी छ । नाडासँग आबद्धलाई अनुत्पादक मान्छन् । जुन सवारी व्यवसायमैत्री छैन । सरकारी निकाय र सबैले यो कुरा स्वीकार्नुपर्छ कि कुल गार्हस्थ उत्पादन र राजस्वमा सबैभन्दा बढी योगदान गर्ने क्षेत्र भनेकै नाडा हो । सवारी व्यापार निरुत्साहन गर्दा सरकारको ३५ प्रतिशत आयस्रोत घट्छ ।
डाउनपेमेन्ट, भन्सार विभागको सन्दर्भ मूल्यसूचीसम्म सबैले सवारी व्यवसायमा व्यवधान खडा गर्दै आएको छ । तसर्थ, सोच परिवर्तन गर्नु आवश्यक छ । र, मेरो कार्यकाल सवारी व्यवसायमैत्री सरोकारवाला निकाय बनाउनेमा केन्द्रित हुनेछ ।
सरकारले सवारी व्यवसायप्रति हेर्ने नजर परिवर्तन गर्न जरुरी छ । नाडासँग आबद्धलाई अनुत्पादक मान्छन् । जुन सवारी व्यवसायमैत्री छैन । सरकारी निकाय र सबैले यो कुरा स्वीकार्नुपर्छ कि कुल गार्हस्थ उत्पादन र राजस्वमा सबैभन्दा बढी योगदान गर्ने क्षेत्र भनेकै नाडा हो । सवारी व्यापार निरुत्साहन गर्दा सरकारको ३५ प्रतिशत आयस्रोत घट्छ ।
नाडामा सधैं केही कर्पोरेट हाउसहरुको मात्र बोलवाला भयो । उनीहरुको हितानुकूल मात्र नीतिगत पहल भए । अन्य साना व्यवसायीको हित संरक्षणका लागि खासै पहल भएन भन्ने आरोप छ । यसमा तपाईंको भनाइ के छ ?
यस्ता समस्या मैले देखेको छैन । सबै क्षेत्रको प्रतिनिधित्व गर्नु जरुरी छ । यसो गर्नाले सबैको सल्लाह, सुझाव लिन सकिन्छ । ठोस समस्या बुझ्न र समाधान निकाल्न सकिन्छ । मेरो प्यानलमा सबै सानाठूला व्यवसायी छन् । अहिलेदेखि नै व्यवसायीलाई भेटेर उनीहरूको कुरा सुन्न थालिसकेको छु । यसअघि पनि मैले उहाँहरूका कुरा सुनेकाले उपाध्यक्षमा निर्वाचित गराउनुभयो ।
यही विश्वास र अपेक्षा लिएर अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । उहाँहरूले दिएको सुझाव र समस्या समाधानका लागि सुझाएअनुसार सहयोग गर्छु ।
तपाईंको प्यानल हेर्दा गाडी एसेम्बल उद्योगीदेखि, टायर आयातकर्तासम्म छन् । नाडाको नेतृत्व तपाईंको हातमा आएमा नेपालको अटो क्षेत्र उद्योगमुखी होला भनेर आशा गर्न सकिएला ?
नेपाल सरकारले विदेशी मुद्रा बाहिर नजाओस्, त्यहीअनुसार रोजगारी सिर्जना होस् भन्ने कुरालाई विशेष ध्यान दिन जरुरी छ । यसका लागि उद्योगीले पनि सरकारको लक्ष्यलाई पछ्याउँदै हातेमालो गर्दै अघि बढ्नुपर्छ । हाल नेपालमै उत्पादित पार्ट्स, लुब्रिकेन्टलगायत अन्य उपकरणहरु प्रयोग गरेर यहीँ नयाँ सवारी उत्पादन गर्नुजस्तो उचित केही हुँदैन ।
तर, त्यो गर्नलाई केही समय भने लाग्छ । नेपालले एसेम्बल उद्योग स्थापनाका लागि दिएका विभिन्न सन्देशले अब नेपाल पनि उद्योगको युगमा गएको संकेत गरेको छ । यसले आगामी १० देखि १५ वर्षमा नेपालमै उत्पादित गाडीको सुविधा दिन सक्छ । तर, सरकारले यस्ता कुरामा नीतिगत स्पष्टता गरिदियो भने उद्योगीलाई ठूलो सहयोग हुन्छ । यो बिषयलाई विशेष पहल गर्नेछौं ।नेपाललाई अटो म्यानुफ्याक्चर हबका रूपमा विकास गर्नेबारे यहाँको धारणा जान्न मन लाग्यो ।
भारतझैं म्यानुफ्याक्चर हबका रुपमा नेपाललाई विकास गर्नेबारे तत्काल परिकल्पना गर्न मिल्दैन । सरकारले जे–जति सहयोग गरे पनि निर्यात हब बन्न निर्यात रुट तथा यातायातका विकल्प हुनुपर्छ । बाटोको विकल्प नहुँदा ढुवानी खर्च निकै महँगो पर्न जान्छ ।
एसेम्बलिङ प्लान्ट निर्माण नेपालका लागि अति आवश्यक हो । तर, होइन निर्यातका लागि । यहाँ हुने उत्पादन नेपालमा खपत गर्न सकिन्छ । यही कुरा निर्यात गर्दा महँगो पर्छ । नेपालमा गुणस्तरीय उत्पादन गर्न सकिन्छ भने यहाँ खपतको समस्या छैन ।
म ल्युब आयल उत्पादन र ब्लेन्ड पनि गर्छु । हामीले गुणस्तरीय उत्पादन दिँदा हामीप्रति ग्राहक वर्गको विश्वास छ । यसरी नै नेपालमा उत्पादन हुने गाडी, ब्याट्री टायर यहीँ खपत गराउन सकिन्छ । साथै यहीँ एसेम्बल गरेका सुजुकीका गाडी नेपाली जनताले चढ्न पाउने विषयमा आशावादी छु । यस विषयमा अध्ययन पनि भइसकेको छ । सरकारले केही नीतिगत पूर्णता दिन आवश्यक छ ।
तर, कहिले र कसरी भन्ने कुराचाहिँ खुलाउन चाहन्नँ । मलाई चुनावको मुखैमा यस्ता विषय खुलस्त पार्दा चुनावी एजेन्डा र प्रचारको रुपमा पनि लिने गरिन्छ । जे सम्भव छ त्योमात्र सपना देख्छु । अहिलेलाई यहाँ गाडी बनाएर निर्यात गर्नेबारे सोचेको छैन । उत्तर–दक्षिणमा उत्पादन लागत जति कम छ त्यतिमा नेपालमा कसै सम्भव छैन ।
भारतझैं म्यानुफ्याक्चर हबका रुपमा नेपाललाई विकास गर्नेबारे तत्काल परिकल्पना गर्न मिल्दैन । सरकारले जे–जति सहयोग गरे पनि निर्यात हब बन्न निर्यात रुट तथा यातायातका विकल्प हुनुपर्छ । बाटोको विकल्प नहुँदा ढुवानी खर्च निकै महँगो पर्न जान्छ । एसेम्बलिङ प्लान्ट निर्माण नेपालका लागि अति आवश्यक हो । तर, होइन निर्यातका लागि । यहाँ हुने उत्पादन नेपालमा खपत गर्न सकिन्छ । यही कुरा निर्यात गर्दा महँगो पर्छ । नेपालमा गुणस्तरीय उत्पादन गर्न सकिन्छ भने यहाँ खपतको समस्या छैन ।
एकातिर कोभिड–१९ महामारीको तेस्रो लहरको सम्भावना छ । अर्कोतिर चिप अभावको असर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटो बजारमा देखिन थालेको छ । सरकारको नीतिगत अस्थिरता पनि त्यस्तै छ । यस्तो कठिन समयमा नाडाको नेतृत्व तपाईंको हातमा आएको खण्डमा कसरी अघि बढ्ला यो क्षेत्र ?
कोभिडले व्यवसायमा पारेको प्रभावको तथ्यगत सूचना संकलनसहित वर्तमान अवस्थाको विश्लेषण र भावी रणनीति तर्जुमा गर्न कार्यदल बनाएर काम गर्नेछु । उक्त कार्यदलको सुझावमुताबिक तीनै तहका सरकारसँग समन्वय गरी कोभिडले थिलथिलो बनाएको व्यवसायीका लागि आवश्यक राहतका लागि विधिवत् रुपमा पहल गर्नेछु । कोभिडबाट सुरक्षित रहँदै व्यवसाय गर्न सरकार तथा विज्ञहरुको सुझावसंयोजित मापदण्ड सबै सदस्य व्यवसायीलाई उपलब्ध गराउने र त्यसको कार्यान्वयनका निम्ति तहगत कार्यशाला पनि बनाउने हाम्रो नीति छ ।
नाडाको कुरा सरकारले सुन्न छाड्यो, पहिलेभन्दा धेरै कमजोर पनि भयो भन्ने सुनिन्छ नि !
सुन्न छाडेको अलि भन्न नमिल्ला । आज नाडालाई सरकारले महत्व दिन थालेको छ । विद्युतीय सवारीको भन्सार होस् या वातावरण सम्बन्धित नीति । अरू थुप्रै नीतिगत विषयमा पनि नाडासँग सरकारले सुझाव लिएको । यस्तै नाडाले पनि पहल गर्दै आइरहेको छ ।
केही गर्छु भन्ने युवा व्यवसायीलाई के सन्देश दिन चाहनुहुन्छ ?
बोल्नेभन्दा सुन्ने बढी गर्नुपर्छ । काम गर्न मुख सानो र कान ठूलो बनाउनुपर्छ । सिक्नका लागि आफ्नो खर्च गरेर भन्दा पनि अर्काको काम गरेर सिक्नुपर्छ । र, आफूले लगानी गरेपछि नाफा कमाउन थाल्नुपर्छ । अरुको कम्पनीमा काम गर्नुस् । आफ्नो सम्भावित गल्ती पहिल्याउनुस् । गल्ती अरुको पैसामा गर्नुस्, आफ्नोमा होइन ।