गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सञ्चारमाध्यमले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनताको पक्षमा वकालत गर्नुपर्ने बताएका छन् । पोखराबाट नियमित प्रसारण सुरु गरेको सिटीवान टेलिभिजनको मंगलबार शुभारम्भ गर्दै उनले प्रेसले जनताको पक्षमा वकालत गर्ने दायित्व पूरा गर्न नसक्दासम्म लोकतन्त्र सवल हुन नसक्ने बताए ।
अहिलेको प्रतिस्पर्धात्मक समयमा व्यावसायिक पत्रकारितासँगै मिडियाले सरकारले गरेका कमी–कमजोरी र निम्न तहका जनताका समस्या उजागार गर्नुपर्ने भन्दै नेपालको मिडिया क्षेत्र अहिले आम नेपालीको अधिकार सुनिश्चित गर्ने काममा निकै अघि रहेको उल्लेख गरे । टेलिभिजनले मानवअधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारमाध्यम खोल्ने प्रतिस्पर्धा भएको अहिलेको समयमा व्यावसायिक पत्रकारिताको मर्म, सिद्धान्त र आदर्शलाई आत्मसात् गरी सञ्चालन गर्नु र अघि बढाउनु मुख्य कुरा रहेको बताए । उनले भने, ‘टेलिभिजन र सञ्चारमाध्यमको संख्यात्मक वृृद्धिसँगै जनताका मुद्दा, दुःखपीडा कति मुखरित भएका छन् भन्ने महत्वपूर्ण छ । सञ्चारमाध्यम अझ बढी जनमुखी हुँदै जनताका प्राथमिकतालाई उठाउन आवश्यक छ ।’
सांसद खगराज अधिकारीले आम नागरिकको स्वतन्त्रताको मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए । गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान, प्रविधि तथा समाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले प्रदेशका समृद्धिमा टेलिभिजनले सघाउने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले उद्योग व्यवसाय, पर्यटन, शिक्षालगायतका क्षेत्रका मुद्दाहरु टेलिभिजनले उठाउनुपर्नेमा जोड दिए । टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापतिले कोरोना त्रासका बीचमा पनि टेलिभिजन सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण रहे पनि दूरदराजका आवाजविहीनहरूको आवाजलाई आम दर्शकमाझ ल्याइने प्रतिबद्धता व्यक्त गरे । रासस
यस्तै टेलिभिजनका कार्यक्रमहरू विभिन्न सामाजिक सञ्जाल तथा मोबाइल एप्स, वेबसाइटमार्फत हेर्न सकिने प्रबन्ध निर्देशक अनिषा श्रेष्ठले जानकारी दिइन् ।