काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तत्कालिन महाप्रबन्धक डिमप्रकाश पौडेलले निर्देशनअनुसार काम नगरेकै कारण जिम्मेवारी खोसिएको बताएका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ) डेको अवसरमा पर्यटन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले निर्देशन दिएको ३५ दिनसम्म पनि काम नगरेको र निगमका कर्मचारीहरु माथि ज्यादति गरेको कारण जिम्मेवारी खोसिएको स्पष्टिकरण दिएका छन् ।
अनलाइन टिकेटिङको व्यवस्था गर्न ढिलाई गरेको, निगमको भएका भौतिक संरचनाहरु न्यूरोडको जग्गा २ करोड रुपैया र सिनामंगलको जग्गा २६ लाख रुपैया मूल्यांकन गरेर निजीकरणको प्रपन्च गर्न लागेपछि कर्मचारीहरु विरोधमा उत्रिदा उल्टै दमन गरी १० जना कर्मचारीहरुलाई कुटपिट गरेको आरोप उनी माथि लागेको छ ।
तत्कालिन मन्त्रीपरिषदलाई प्रभावमा पारेर महाप्रबन्धक पौडेलले तलब भत्तासहित ४ लाख रुपैया लिने गरेको बताउदै हालका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने १ लाख रुपैयामै काम गर्न तयार भएको बताएका छन् ।
’युवराजजी त्यहाँको रिटायर्ड कर्मचारी हुनुहुन्छ, मैले त निःशुल्क रुपमा काम गर्नुस भनेको थिए, तर उहाँले बढेको तलब लिन्न, १ लाख रुपैया भए हुन्छ भनेपछि सहमति दिएको हुँ’ ।
सरकारले महाप्रबन्धक पौडेलको जिम्मेवारी खोसेर उड्यन विज्ञको रुपमा मन्त्रालयमा तानेको छ । मन्त्रीपरिषदले नियुक्ती गरेको कारण उनलाई बर्खास्त गर्न नसकेपछि मन्त्रालयमै जिम्मेवारी दिएर राखिएको छ । यता निगम कार्यालयमा भने उनलाई प्रवेश निषेध भन्दै मुलगेटमा कर्मचारीहरुले बोर्ड रोख्दै आएका छन् ।