काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्यान गु्रपका निर्देशक अक्षय गोल्यान र बुद्ध एयरका वरिष्ठ पाइलट देवेन्द्र बस्नेतकी छोरी आऐशा बस्नेतबीच दुबईको चर्चित रिसोर्ट ‘कस्र अल सरब’ मा भैरहेको विवाहमा नेपालबाट ३ सय बढी उद्योगी व्यवसायीको सहभागिता रहेको छ ।
अक्षय गोल्यान उद्योगी व्यवसायी तथा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानका छोरा हुन् ।
पाँचतारे कस्र अल सरब रिसोर्ट दुबईको भव्य रिसोर्टमध्ये एक हो । आबुधाबीबाट २०० किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्ट विशाल क्षेत्रफलमा फैलिएको छ । थाइल्यान्डको अनन्तारा चेन होटलले व्यवस्थापन सम्हालेको रिसोर्टभित्र हस्पिटालिटीका सम्पूर्ण सुविधा उपलब्ध रहेका छन् ।
यो रिसोर्ट मध्यपूर्व मात्र होइन संसारका धेरै मुलुकका पर्यटकको रोजाइमा समेत पर्छ । बलिउड, हलिउड सिनेमादेखि अरबी फिल्म यस रिसोर्टमा छायांकन भएका छन् । अक्षयकुमारको बेबी, ऋतिक रोशनको ब्याङ ब्याङलगायतका सिनेमा यस रिसोर्टमा छायांकन भएका थिए ।
रिसोर्टमा कुल १४० रुमहरू रहेका छन् । विवाहका लागि गोल्यान ग्रुपले सबै रुम बुक गरी त्यहाँ पुगेका एक व्यवसायीले जानकारी दिए । विवाहको इभेन्ट तीन दिनको रहेको छ । सोमबार, आज र भोलि गरी रिसोर्टमा विवाहको कार्यक्रम तय भएको हो ।
१४० रुममा १४ स्विट र ५२ पुल भिल्ला रहेको छ । होटलको रुमको मूल्य एक रातको ७० हजार रुपैयाँदेखि डेढलाखसम्म रहेको छ ।
भव्य रिसोर्टमा भैरहेको विवाहमा नेपालबाट ३ सय बढी उद्योगी व्यवसायी नेपालबाट दुबई पुगेका हुन् ।
उद्योगी व्यवसायी शिवरतन शारडा, पशुपति मुराराका, शेखर गोल्छा, भवानी राणा, त्रिलोक अग्रवाल, शशिकान्त अग्रवाल विवाहको निम्तो मान्न त्यहाँ पुगेका हुन् । यस्तै मोती दुगड, अरुण चौधरी, आमिरप्रताप राणा, सतिश मोर, रामचन्द्र सांघाई, लोकमान्य गोल्छा, विष्णु न्यौपाने, साहिल अग्रवाल, देवेन्द्र राजगाडिया, हरि न्यौपाने, विष्णु गोयन्का, प्रदीप मुराराका, गोापाल धनावत, अशोक भिमसेरिया, सुरेश बंशल,राजबहादुर शाह लगायत रहेका छन् ।
अधिकांश व्यवसायी परिवारसहित त्यहाँ पुगेका हुन् । नेपालबाट पहिलोपटक सो रिसोर्टमा ‘डेस्टिनेसन वेडिङ’ गर्ने गोल्यान पहिलो हुन् । गोल्यान ग्रुपको दुबईमा रियल स्टेट व्यवसायसमेत रहेको छ ।