काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना मंगलबार सार्वजनिक गरेको छ ।
कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बिमा योजनाहरू ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना यहाँहरू माझ प्रस्तुत गरेको हो ।
यो जीवन बिमा योजना मुनाफामा सरिक हुने सर्वाधिक जीवन बिमा हो । विकासोन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवनयापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठुल्ठूला परियोजनाहरू, हाइड्रोपावरहरू, भवन निर्माण लगायतका निर्माण कार्य तीव्र गतिमा अघि बढेका छन् । यस्तो विकास निर्माणका काममा जोखिम बढिरहेको हुन्छ ।
साथै अन्य जोखिमयुक्त पेसाहरू जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरूलाई लक्षित गरेर यो ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना ल्याएको हो । यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बिमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बिमा योजनाको माग यहाँहरू माझ ल्याएको हो ।
यो बिमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्र्षसम्म अवधिको बिमा लिन सकिने छ भने १८ वर्षदेखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बिमाशुल्क तिरेर बिमांक रकम बराबर वा अधिकतम ५० लाखरुपैयाँसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ ।
वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रूपमा बीमा शुल्क भुक्तानी गर्न सकिने ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा १ प्रतिशत छुट, त्रैमासिक बिमा शुल्क तिर्ने तरिका लिँदा ३ प्रतिशत थप र मासिक बिमा शुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्नेछ भने अर्धवार्षिक बिमा शुल्क तिर्ने तरिका लिँदा प्रिमियममा थपघट हुने छैन ।
वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् बिमालेखलाई धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।