कञ्चनपुर । व्यावसायिक केराखेतीको लगात खर्च घटाई बढी आम्दानी लिन बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केराबारीमा थोपा सिँचाइ प्रणाली जडान गरेका छन् ।
खेतमा रोपिएका केराका बोटसम्म सहजरूपमा सिँचाइ र मल पुर्याउन थोपा सिँचाइ प्रणाली जडान गरिएको हो । “बोरिङबाट सिँचाइ गर्दा अधिक पानीको प्रयोग हुँदा चाहिनेभन्दा बढी पानी खर्च हुन्थ्यो”, रानाले भने, “एक बिघामा रोपिएको केराखेतीमा थोपा सिँचाइ जडान गरेपछि थोरै पानीले सिँचाइ गर्न सकिएको छ ।”
थोपा सिँचाइका लागि राखिएको प्लाष्टिकको ड्रममा मलसमेत राखेर सिँचाइसँगै चाहिने मात्रामा मलसमेत आपूर्ति गर्न सकिने व्यवस्था गरिएको छ । रोपिएका केराका प्रत्येक बिरुवामा पाइपमार्फत सिँचाइका लागि पानी पुर्याउने व्यवस्था गरिएको छ ।
सो नगरपालिका क्षेत्रमा थोपा सिँचाइ प्रणालीमार्फत केराखेती यो नै पहिलो हो । थोपा सिँचाइका लागि नगरपालिको कृषि विकास शाखाको एक लाख ५० हजार रूपैयाँ अनुदान र किसानको एक लाख ५५ हजार ८२ रूपैयाँ गरी तीन लाख पाँच हजार ८२ रूपैयाँ लगानी गरिएको छ ।
थोपा सिँचाइ प्रविधिको प्रयोग गरी केराखेती गर्दा सिँचाइ र मलखादलाई पाइपबाटै दिन सकिने भएकाले पटक–पटक लाग्ने खर्चबाट किसान जोगिन गई उत्पादनमा वृद्धि हुने कृषि विकास शाखाका प्राविधिक सहायक हरिश सेटीले बताए ।
राना यस क्षेत्रकै व्यावसायिक केराखेतीमा सफल किसान हुन् । उनले एक बिघा खेतमा रोपिएका केरामा थोपा सिँचाइ प्रणाली जडान गरेका छन् । उनले अन्य चार बिघा जग्गा भाडामा लिएर केराखेतीलाई व्यावसायिकरूपमा अँगाल्दै आएका छन् ।
एक बिघा जग्गामा भर्खंरै केरा रोपिएकाले बोटहरु हुर्कंदै गएका छन् । चार बिघा जग्गामा लगाइएको केरा बजारमा बिक्री गर्न शुरु भइसकेकाे छ । उनले यस वर्षको हालसम्म आठ लाख रूपैयाँ बढीका केरा बिक्री गरिसकेका छन् । “वर्षमा २० देखि २५ लाख रूपैयाँसम्मका केरा बिक्री हुने गरेका छन्”, रानाले भने, “वार्षिकरूपमा ज्यामी, मलखाद, बिरुवा खरीद, बिरुवा रोप्ने, सिँचाइ गर्नेलगायतको सबै रकम कटाइ छ लाख रूपैयाँ जति रकम बचत हुने गरेको छ ।”
केरा खेतबाटै बिक्री हुने गरेका छन् । डडेल्धुरा, अत्तरिया, भीमदत्तनगर, धनगढीलगायत क्षेत्रका व्यापारीले ढुवानीका साधनसहित केराबारीमै पुगेर खरीद गरेर लैजाने गरेका छन् । रानाले बढी प्रतिफल दिने जीनौ जातको केराखेती गरेका छन् । रासस