बीबीसी । भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने अक्सफर्ड आस्ट्राजेनेका खोपका एक विकासकर्ताले चेतावनी दिएकी छन्। प्राध्यापक डेम सारा गिलबर्टले एउटा मन्तव्यका क्रममा महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै पैसा आवश्यक पर्ने बताइन्।
उनले ओमिक्रोन भेरिअन्टका लागि खोपहरू कम प्रभावकारी हुनसक्ने समेत चेतावनी दिइन्। उनले यसबारे थप थाहा नहुँदासम्म मानिसहरू सजग हुनुपर्ने बताइन्।
उनले भनिन्, भाइरसले हाम्रो जीवन र जीविकालाई त्रासमा पारेको यो अन्तिम पटक हुने छैन। सत्य के हो भने अर्को निकै खराब हुनसक्छ। त्यो निकै सङ्क्रामक र घातक वा दुवै हुनसक्छ।
उनले त्यस्तो अवस्था दोहोरिन नदिनका लागि अझै पर्याप्त आर्थिक आधारसहितको तयारी नगरिएको बताइन्। हामीले विकास गरेका क्षमता र ज्ञान खेर जानु हुँदैन।
ओमिक्रोन भेरियन्टबारे बोल्दै उनले उत्परिवर्तन भएका स्पाइक प्रोटिनले त्यसको सङ्क्रामक क्षमता उच्च भएको देखाउने बताइन्। तर, त्यहाँ थप परिवर्तनहरू भएका छन् जसको अर्थ खोप वा अन्य भेरियन्टले विकास गरेको प्रतिरोधी तत्त्व ओमिक्रोनबाट बच्न कम प्रभावकारी हुनसक्छ।
यद्यपि उनले सङ्क्रमण विरुद्धको घट्दो संरक्षण र मध्यम खाले रोगको अर्थ गम्भीर रोग र मृत्युबाट पनि खोपले नबचाउने भन्ने चाहिँ भइनहाल्ने बताइन्।
उनले महामारीका बेला छिट्टै खोप र औषधिहरू बनेको प्रगतिलाई एउटा मापदण्डका रूपमा राख्नुपर्ने बताइन्। उनले फ्लुको जोखिमलाई हटाउन विश्वले एउटै खोप विकास गर्न नसक्नुको कुनै कारण नभएको पनि बताइन्।
ओमिक्रोनबाट बच्ने उपायको रूपमा शनिबार बेलायतले एउटा घोषणा गर्दै मङ्गलवारबाट त्यहाँ आउने १२ वर्ष माथिका यात्रुहरूले यात्रा अगावैको बढीमा ४८ घण्टाअघि कोभिड परीक्षण गर्नुपर्ने जनाएको छ।
ओमिक्रोनको बढ्दो सङ्ख्या देखिन थालेसँगै नाइजिरियालाई समेत यात्रामा कडाइ गरिएको रेड लिस्ट सूचीमा थपिएको छ। अर्का वैज्ञानिक प्राध्यापक मार्क वुलहाउसले नयाँ नियमहरू बेलायतमा एउटा नयाँ सम्भावित लहरका लागि तात्विक भिन्नता ल्याउनका लागि निकै ढिलो भएको बताएका छन्।
सरकारको वैज्ञानिक कार्यदलका एक सदस्य रहेका प्राध्यापक वुलहाउसले बीबीसीसँग बोल्दै बेलायतमा ओम्रिकोन निकै तीव्र गतिले फैलिरहेको र दक्षिण अफ्रिका र बेलायतमा आउँदा साता र महिनामा यही क्रम कायम रहेमा त्यसले विश्वको तीव्र दरको डेल्टा लहरलाई उछिन्ने बताए।