काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेन्डामा सबै राजनैतिक दलहरूले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड १९ को माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रुत गतिमा पुनरुत्थान गर्न सबै राजनैतिक दलहरूको समान धारणा आवश्यक पर्ने बताएका छन् ।
‘अहिले अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ । यो जुन सुधार देखिएको छ यसलाई रोकिन दिनुहुन्न । सबै मिलेर यसलाई द्रुत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन’ उनले भने, ‘यसका लागि सबै राजनैतिक दलको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ’ उनले भने ।
लुम्बिनी प्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै ढकालले बिस्तारै यस क्षेत्रका भैरहवा र बुटवलजस्ता सहर आर्थिक केन्द्रका रूपमा विकसित हुँदै गरेको भन्दै आईएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तब्यहरु निर्माण भइरहेको र त्यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणसँग समेत सहकार्य हुने बताए ।
‘हामीले सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तव्य निर्माण गर्न गइरहेका छौँ । यसमध्ये एउटा परियोजना बुटवलमा पनि रहेको छ । यस्ता परियोजनामा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणसँगसमेत साझेदारी र सहकार्य हुनेछ’ उनले भने ।
‘कोभिड–१९ को महामारीले चुनौतीका साथै नयाँ अवसरको ढोका पनि खोलेको बताउँदै डिजिटल अर्थतन्त्र निर्माणको गतिलाई तीव्र बनाउन सबैलाई बाध्य पारेको छ बताए । इ–कमर्स, ई–कारोबार, सेवा तथा वस्तुको उत्पादन एवम् बजारीकरणमा डिजिटल प्रविधि र प्लेटफर्महरुको प्रयोग बढेको ढकालको भनाइ छ ।