काठमाडौं । जी टिभी र सोनी पिक्चर इन्टरटेनमेन्टले क्रिसमसअघि नै मर्जर सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् । यसअघि नै तय गरिएको ९० दिनको एक्सक्लुसिभ पिरियडभित्रै दुवैै कम्पनीले सम्झौता गर्ने भएका हुन् ।
जीको संस्थापक कम्पनी इन्भेस्कोले मर्ज कम्पनीमा आफ्नो भावी हिस्साबारे सरोकार राखेपछि सम्झौतामा उक्त विषय सम्बोधन गर्नुपर्ने बताइएको छ । उक्त सम्झौता सफल हुने÷नहुने विषयमा लगानीकर्ता कम्पनी इन्भेस्कोकै जिम्मेवारी रहने बताइएको छ ।
इन्भेस्को जीको सबैभन्दा ठूलो सेयरधनी हो । जीमा उसको १७. ८८ प्रतिशत हिस्सा रहेको छ । इन्भेस्कोले एकताका जी कम्पनीलाई व्यवस्थापकीय नियन्त्रण तथा विभिन्न मुद्दाका कारण अदालतसम्म पुर्याएको थियो ।
जीका प्रमुख कार्यकारी अधिकृत पुनित गोयंका गत हप्ता लस एन्जलस पुगेर सोनीको शीर्षस्थ नेतृत्वसँग भेट गरेका थिए ।
कम्पनी मर्जपछि एकीकृत कम्पनीमा पनि गोयंकाले नै सीईओको भूमिका निर्वाह गर्ने बताइएको छ । साथै जीको कार्यकारीको तर्फबाट बोर्डमा रहने उनी एक्लो अधिकारी हुने छन् । मर्ज कम्पनीका ९ बोर्ड सदस्यमध्ये पाँच जना सोनीकै कार्यकारीहरु रहने छन् ।
दुई कम्पनीको सम्झौताका लागि काम गरिरहेको समूहले हाल सेयरधनीको मुख्य सरोकारलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । उक्त समूहले एउटा मेकानिजम तयार गर्ने र सोको आधारमा जीका प्रमोटरले आफ्नो हालको हिस्सा ३.९९ प्रतिशतबाट २० प्रतिशतसम्म बढाउन सक्नेछन् ।
इन्भेस्कोको अडान
जीको सबैभन्दा ठूलो सेयरधनी इन्भेस्कोलाई नन बाइन्डिङ डिल डकुमेन्टभित्रका ‘गैर प्रतिस्पर्धा’ तथा ‘हिस्सेदारी बढाउन मिल्ने’ पाटोसँग चित्त बुझेको छैन ।
इन्भेस्कोले यस विषयमा आगामी दिनमा सोनीको व्यवस्थापनसँग कानुनी परामर्शदाताको साथमा भेट्ने अपेक्षा गरेको छ ।
-एजेन्सीकाे सहयाेगमा ।