काठमाडौं । नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा सविधानसभा सदस्य रेशमबहादुर बानियाँले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेसँगै भेटघाट र छलफललाई तीव्रता पारेका छन् ।
केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारीका लागि जिल्ला र प्रदेशका नेता तथा कार्यकर्ता र केन्द्रिय नेतासँग छलफल गरेर बानियाँ चुनावी मैदानमा उत्रेका हुन् ।
बानियाँ संस्थापन इतरका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिएपनि जिल्ला र प्रदेशका सबै समुहका नेता र कार्यकतामाझ उनको राजनीतिक छवी राम्रो मानिन्छ ।
२०३६ सालमा भएको जनमत संग्रहबाट कलिलै उमेरमा राजनीतिमा होमिएका बानियाँ २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए ।
उनले २०४७ सालमा गठन भएको कांग्रेस जिल्ला तर्दथ समितिको सहसचिव, नेविसंघ जिल्ला सभापति, केन्द्रिय सदस्य हुदै २५ बर्षको कलिलै उमेरमा अर्थुङ्गे गाविसको अध्यक्षमा समेत निर्वाचित भएर काम गरेका थिए ।
पार्टीमा दुई कार्यकाल सचिब, दुई कार्यकाल उपसभापति हुँदै एक कार्यकाल पार्टीको जिल्ला सभापतिको नेतृत्व समेत गरेका बाँनिया म्याग्दीमा हालै सम्पन्न जिल्ला अधिवेशनबाट संस्थापन र इतर समुहको साझा उम्मेदवारको रुपमा महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए ।
उनले पार्टीका केन्द्रीय सदस्यमा विजयी भएर सबल र सुदृढ कांग्रेस बनाउने अभियानलाई शसक्त ढंगले अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
उनी २०३८ सालमा पहिलो पटक नेबिसंघको सदस्य बनेका थिए भने २०४८ सालको असोजमा बुटवलमा सम्पन्न नेबिसंघको केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
२०७० मा भएको दोश्रो संविधान सभा निर्वाचनमा संविधानमा भएको ब्यबस्था अनुसार मन्त्रीपरिषदबाट नियुक्त हुने २७ जना बिशिस्ट ब्यक्तिहरूको तर्फबाट संविधान सभा सदस्यमा मनोनित भै २०७४ सम्म संविधान सभा सदस्यको भुमिकामा बाँनिया रहेका थिए ।