झापा । कनकाई नगरपालिका–६ का ३८ वर्षीया सबिता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थालेकी छिन् ।
गत वर्ष उनले पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट ३ लाख ५० हजार आम्दानी भएको बताइन् । उनी भन्छिन्, ‘कस्तो हुँदोरहेछ भनेर थोरै खेती गरेका थियौं । आम्दानी त गज्जब भयो ।’
खनालले यो वर्ष एक बिघा जमिनमा व्यावसायिक कुरिलो खेती विस्तार गर्ने गरी बिरुवा उमारिरहेकी छिन् । ६ महिना जति प्लास्टिकको थुँगामा उमारेर हुर्काएका विरुवा रोपेको तीन महिनादेखि नै आम्दानी हुने गरेको उनको अनुभव छ । गत वर्ष लोकल जातको ‘मेरी वासिंटन’ कुरिलोको बेर्ना लगाएकी उनले यो वर्ष हाइब्रिड जातको बेर्ना हुर्काइरहेकी छिन् । १० ग्राम हाइब्रिड कुरिलोको बीउको मूल्य ४ हजार पर्ने बताइन् । कृषिमा श्रीमानकोको दरिलो साथ पाएकी उनले गत वर्ष प्रतिकेजी ३ सयदेखि १ हजार २०० सम्म होलसेलमा कुरिलोको टुसा बिक्री गरेको सुनाइन् ।
कोरोनाका कारण व्यापार–व्यवसाय बन्द भएपछि दमक नगरपालिका–३ मा दुई जना युवा मिलेर कुरिलो खेती सुरु गरे । उनीहरूले एग्रो फर्म प्रालि कम्पनी नै दर्ता गरेर व्यावसायिक रूपमा १० कट्ठामा कुरिलो खेती लगाएका हुन् । नारायण योङहाङ, याम भण्डारीको संयुक्त लगानीमा सुरु भएको फार्मले बेर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरु गरेको थियो । उनीहरूले कोभिड–१९ को संक्रमण फैलिइरहेका बेला प्रतिकेजी १ हजार ४०० ले बिक्री गरेको बताए ।
फार्म सञ्चालक योङहाङले सुरुमा दैनिक ५ केजी देखि १० केजी मात्र टुसा उत्पादन हुने गरेको कुरिलो हाल दैनिक ५० केजी उत्पादन दिन थालेको उनी बताउँछन् । ‘कुरिलोको सब्जी या सुपमा इम्युनिष्टी पावर बढी हुँदो रहेछ’, उनी भन्छन्, ‘विगतमा कोरोनाका संक्रमितले मगाउँथे । हामीले घर–घरमै पुर्याइदियौं ।’
हाल यसको बजार मूल्य प्रतिकेजी ५०० रहेको उनले बताए । अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभई पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत अग्र्यानिक हुने दाबी गरे । कुरिलोको माग जिल्लामै बढिरहेको हुँदा बजारको समेत समस्या नरहेको उनको भनाइ छ । विगत २५ वर्षदेखि दमकमा बबिन कृषि भण्डार सञ्चालन गर्दै आएका वसन्त न्यौपानेले दुई वर्ष यता मात्र कुरिलोको बिजन राम्रोसँग बिक्री हुन थालेको बताउँछन् । कोरोना कालमा मान्छेले कुरिलोको महत्व बुझेपछि मात्र जिल्लामा यसको खेती हुने गरेको बताए ।
‘विगतमा दुई चार प्याकेट बिजन राख्थे, कसैले खोज्दैनथे’ उनी सुनाउँछन्, ‘कोभिड–१९ का संक्रमितले जब यसको टुसा खोज्न थाले अनि मात्र किसान बिजन खोज्दै आउन थाले ।’
कुरिलोको बिजनको मूल्य प्रतिकेजी २ लाख ५० हजार पर्छ । गत वर्ष उनले काठमाडौंबाट दुई केजी र यस वर्ष तीन केजी कुरिलोको बिजन ल्याएर बेचेको बताए । उनका अनुसार झापामा यसको व्यावसायिक खेती गर्ने किसान १५ देखि २० जना छन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले कुरिलोलाई एक औषधिजन्य वनस्पतिको रूपमा लिइने बताए । उनले यो दोमट, बलौटे र पारिलो घाम लाग्ने माटोमा हुने हुँदा झापा कुरिलो खेतीका लागि उर्वरभूमि रहेको पनि बताए । जिल्लामा विगतमा फाटफुट्ट मात्र यसको खेती हुने गरे पनि हाल व्यवसायिक रूपमा खेती सुरु हुन थालेको बताए । ‘कुरिलो बहुवर्षे बाली हो’ उनले भने, ‘एकपटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट पाँच वर्षदेखि सात वर्षसम्म उत्पादन लिन सकिन्छ ।’
कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकाले बिरामी तथा कमजोर व्यक्तिलाई खान दिने धेरै पुरानो प्रचलन हो । विगतमा जंगलमा उम्रिएको कुरिलो खोजेर खाने चलन भए पनि यसको व्यावसायिक खेती भने भर्खरै हुन थालेको हो । रासस