काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले निर्माण गरिरहेको ३० मेगावाटको न्यादी आयोजना महँगो बनेको छ । न्यादी आयोजनाको लागत प्रतिमेगावाट २० करोड ३९ लाख २५ हजार रुपैयाँ पुगेको छ । न्यादी आयोजना लागत हेर्दा अन्य आयोजनाको तुलनामा धेरै महँगो छ । अझै पनि निजी लगानीका आयोजनाहरु १३ करोड रुपैयाँमा बन्ने गरेको छ ।
तर, बीपीसीले न्यादीमार्फत बनाइरहेको आयोजना महँगो भए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएदेखि सेयर मूल्यमा उछाल आएको छ । कारोबार भइरहेको अधिकांश दिनमा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ ।
लागत बढी भएको आयोजनाबाट लगानीकर्ताले पाउने प्रतिफल कम हुन्छ । यसका साथै प्रतिफल पाउन लामो समय कुर्नुपर्ने हुन्छ । यति हुँदाहुँदै पनि न्यादीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नुको कारण के हो ? कम्पनीको सेयर मूल्य अहिले ४५४ रुपैयाँ पुगेको छ । कम्पनीको १ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
आयोजना निर्माणकै क्रममा रहेकाले लागत अझ बढ्ने संभावना छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल लागत ६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ अनुमान गरिएको छ । आयोजनाबाट असोज १ गतेदेखि बिजुली उत्पादन गर्ने लक्ष्य भए पनि पछि धकेलिएको छ ।
आयोजनाको लगानी फिर्ता अवधि साढे ७ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता अवधि १३ वर्ष रहेको न्यादीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
लगानीकर्ताहरुले अझै पनि सस्तो लागतमा आयोजनाहरु बनाइरहेका बेला बीपीसीले बनाएको न्यादी भने महँगो हुन गएको छ । पछिल्लो समय सञ्चालनमा आएको ४२ मेगावाटको मिस्ट्रीखोलाको प्रतिमेगावाट लागत १४ करोड रुपैयाँ रहेको छ ।
यस्तै साहास ऊर्जाले निर्माण गरिरहेको सोलु खोला दूधकोसीको लागत पनि प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ रहेको छ । कोरोना महामारीले गर्दा समय र लागत दुवै बढेको न्यादीले जनाएको छ ।
मस्र्याङदी गाउँपालिका पर्ने न्यादी आयोजना नदीको प्रवाहमा आधारित (रन अफ दि रिभर) हो । आयोजनाबाट वार्षिक १७ करोड २१ लाख ४० हजार युनिट बिजुली उत्पादन हुनेछ । १६ मेगावाट क्षमताका २ वटा पेल्टन टर्वाइन जडान गरिएका छन ।
विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति २०७७ वैशाख ६ गते भएकोमा कोभिड-१९ को कारण म्याद थप हुने क्रममा रहेको कम्पनीले जनाएको छ । चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ ।
आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लामा स्थायी बसोवास गर्ने नेपाली नागरिकहरुका लागि निष्कासन गरिने १५ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुका लागि ३ लाख र सर्वसाधारण सामूहिक लगानी कोषहरु तथा संस्थाका कर्मचारीहरुका लागि २२ लाख ५० हजार गरी कुल ४० करोड ५० लाख रुपैयाँबराबरको ४० लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । सेयर बाँडफाँट गरपछि न्यादीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुने भएको छ ।
आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, सनराइज बैंक, हिमालयन बैंक र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । आयोजना लमजुङ्गको मस्र्याङ्दी गाउँपालिकामा रहेको छ ।