पोखरा । पोखरा सिटी टुर गाइड एसोसिएसनको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट दिनेश गौतम सर्वसम्मत अध्यक्षतामा चयन भएका छन् । अधिवेशनबाट प्रथम उपाध्यक्ष निर्मला सुवेदी, द्वितीय उपाध्यक्षमा आनन्द गुरुङ, सचिवमा सरस्वती थापा , कोषाध्यक्षमा बुद्धिसागर देवकोटा , सहसचिवमा खमान सिंह गुरुङ सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सस्यहरुमा झपेन्द्र बहादुर भुजेल, तुलसी अधिकारी, पुष्पराज पौडेल र प्रेमप्रसाद सुवेदी छन् ।
नवनिर्वाचित अध्यक्ष दिनेश गौतमले पोखराको पर्यटन क्षेत्रको विकासका लागि सिटी टुर गाइडहरुको महत्वपूर्ण भूमिका रहेको जनाउँदै आगामि दिनमा संस्थाको उद्देश्यअनुरुप कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको दायरा र क्षेत्र फराकिलो हुने गरी संस्थाको नाम ‘गाइड एसोसिएसन अफ पोखरा’ हुनेगरी नाम परिवर्तन हुने पनि जानकारी दिए ।
उद्घाटन सत्रमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले कोभिडको कारण रोजगार गुमाउन बाध्य गाइडहरुलाई राज्यबाट नै विशेष प्याकेज ल्याएर भूमिका खेल्नु पर्ने जनाउँदै परिषद्ले पनि गण्डकी प्रदेश सरकारलाई यस विषयमा ध्यानाकर्षण गराइरहेको अवगत गराए ।
उनले गाइडहरुको नम्र र भद्र व्यवहारले पर्यटकलाई आकर्षित गर्न सकिने भन्दै विषयबस्तुको बारेमा पनि अपडेट भइराख्न आवश्यक रहेको औंल्याए । पर्यटन क्षेत्रको विकासमा गाइडहरुले खेलेको भूमिका महत्वपूण रहेको उल्लेख गर्दै आवश्यक तालिमको लागि परिषद् समन्वय गर्न तयार रहेको बताए ।
कार्यक्रमका अध्यक्ष कृष्ण भारतीले संस्थालाई विभिन्न समयमा सुझाव, सल्लाह र सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएकाे थियो । उनले संस्थामा ४७ जना सदस्यह रहेको र पर्यटकीय नगरी पोखरा तथा आसपासका क्षेत्रमा पर्यटन दूतको रुपमा काम गरेर देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन उनीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा परिषद् आबद्ध संघसंस्थाका पदाधिकारी र पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।