चितवन । नेपालको पिछडिएको समुदायभित्र पर्ने चेपाङहरुले पानी, स्वास्थ्य तथा सरसफाइसम्बन्धी आफ्नो योजना सार्वजनिक गरेका छन् । वातावरण संरक्षण शिविर(एक्का) नेपालले आयोजना गरेको ज्ञान बजार कार्यक्रममा चेपाङ समुदायका स्थानीयहरुले आफ्नो योजना सुनाएका हुन् ।
शनिबार राप्ति नगरपालिकामा एक्काले आयोजना गरेको ज्ञान बजार कार्यक्रममा परियोजनाले सहयोग गरेका घरधुरी मध्ये उत्कृष्ट पानी, स्वास्थ्य तथा सरसफाई मैत्री घरधुरी छनोट गरी पहिलो क्षेत्रबाट ३ तथा दोस्रो क्षेत्रबाट ३ गरी जम्मा ६ घरधुरीलाई ६० हजार रुपैयाँ पुरस्कृत गरिएको हो ।
आफ्ना समस्याहरु प्रस्तुत गरी ती समस्या समाधान गर्न आर्थिक सहयोग जुटाउन सक्ने साझा स्थलका रुपमा ज्ञान बजार कार्यक्रम आयोजना गरिँदै आएको छ । एक्का नेपालका कार्यकारी निर्देशक योगेन्द्र चित्रकारले बिगत तीन वर्षदेखि राप्ती नगरपालिकाको वडा नं. १३ चेपाङ्ग समुदायमा स्थानीय निकायहरुको समन्वयमा स्वस्थ बालबालिका, स्वस्थ समुदाय परियोजना सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।
सो परियोजनाबाट पहिलो र दोस्रो क्षेत्र गरी जम्मा ६ सय ४७ घरधुरी, ८ विद्यालय तथा १३ महिला समूह लाभान्वित भएको बताए । संस्थाले गरेका सहयोग तथा तालिमबाट आफू, आफ्नो परिवार तथा समुदायका आएको स्थानीय सम्झना प्रजाले बताइन् । मूल्याङ्कनमार्फत आफ्नो घर उत्कृष्ट पानी, स्वास्थ्य तथा सरसफाई मैत्री घरधुरीबाट सम्मानित हुँदा छुट्टै हौसला मिलेको उनको भनाइ छ ।
कार्यक्रममा ८ विद्यालय र १३ महिला समूहहरुले परियोजनाबाट प्राप्त सहयोग तथा कार्यक्रमहरु र भविष्यमा गरिने कार्यक्रमहरुको प्रस्तावहरु प्रदर्शन गरेका थिए । प्रस्तुत प्रस्तावहरुमध्ये निर्णायक मण्डलबाट उत्कृष्ट २ विधालय तथा ४ महिला समूहहरुको प्रस्तावनालाई छानोट गरी स्थानीय रुपमा लागू गर्न प्रतिप्रस्तावना २५ हजार गरी जम्मा १ लाख ५० हजार रुपैयाँ रकम पुरस्कृत गरिएको संस्थाका कार्यक्रम अधिकृत विपिनकुमार श्रेष्ठले जानकारी दिए ।
गुण्डी परिवर्तन महिला समूहका सचिव रिना प्रजाले संस्थाको सहयोगबाट प्रत्येक घरधुरीलाई शौचालय निर्माणमा सहयोग गरेकाले विशेष गरी महिला दिदीबहिनीहरुलाई महिनावारी व्यवस्थापनमा ठूलो सहयोग मिलेको बताइन् ।
साथै संस्थाले महिनावारी व्यवस्थापन तालिम तथा महिनावारी व्यवस्थापन सामग्री निर्माण र वितरणबाट गाउँका देखिएको परिवर्तनलाई निरन्तरता दिनका लागी महिला दिदीबहिनीहरुलाई प्याड बनाउने तालिम दिने आफ्नो समूहको योजना पुरस्कृत हुँदा आफू निकै खुसी रहेको बताइन् ।
सोही अवसरमा १३ वटा महिला समूहका २ सय ६० सदस्यलाई घरकरेसाबारीमा लगाउनका लागि केराउ तथा प्याजका बिरुवाहरु पनि वितरण गरिएको जानकारी एक्का नेपालका फिल्ड संयोजक रेशम चेपाङले जानकारी दिए ।