काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले इन्फोटेकको २७ औं संस्करण आयोजना गर्ने भएको छ । महासंघले माघ १८ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा इन्फोटेक मेला आयोजना गर्ने तयारी गरेको छ ।
यसअघि महासंघले वैशाख २८ देखि जेठ २ सम्म इन्फोटेक मेला आयोजना गर्ने घोषणा गरेको थियो । तर, कोभिड–१९ को दोस्रो लहरका कारण देशभर निषेधाज्ञा लागू भएपछि इन्फोटेक मेला स्थगित भएको थियो ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यअनुरुप महासंघले बर्सेनी इन्फोटेक मेला आयोजना गर्दै आइरहेको छ ।
महासंघले सन् १९९५ देखि क्यान इन्फोटेक सुरु गरेको थियो । जसअन्तर्गत पछिल्लो मेला सन् २०२० (२६ औं संस्करण) सम्पन्न भएको थियो । नेपालमा सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रूपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनी ट्रेड सो हो ।
क्यान इन्फोटेकको २७ औं संस्करणको मिति घोषणासँगै यसको शीर्ष प्रायोजन तथा सहायक प्रायोजक, प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला भएको छ ।
क्यान इन्फोटेक २०२२ मा ब्रान्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्टअप, रोबोटिक्स, इमर्जिंग टेक्नोलोजी, ई–वेष्ट म्यानेजमेन्ट, वाइफाई तथा इन्टरनेट र लर्निङ सेन्टरलगायतका विभिन्न खण्डहरू रहने गरी तयारी अगाडि बढेको छ ।
इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसनलगायत स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल प्रर्दशनीमा रहनेछन् ।