काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) को ६१ करोड ७२ लाख रुपैयाँ जोखिम वापतको व्यवस्था फिर्ता (राइट ब्याक) भएको छ ।
कम्पनीले ४.५ मेगावाटको तल्लो इन्द्रावती आयोजनाको अनुमतिपत्र (लाइसेन्स) पाएपछि सो रकम राइट व्याक भएको हो । विद्युत विकास विभागले कम्पनीलाई आयोजना बनाउन लाइसेन्स दिएको छ । आयोजनाको लाइसेन्स लिन कम्पनीले ६ करोड २० लाख रुपैयाँ खर्चेको छ ।
कम्पनीको जोखिम रकम राइट व्याक भएपछि हालसम्मकै सबैभन्दा बढी नाफा गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नेसनलले ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुदनाफा गरेको देखाएको छ । राइट ब्याक भएपछि कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशतसम्म बोनस सेयर दिने जानकारी गराइसकेको छ ।
कम्पनीको सञ्चित कोषको आकार २३ करोड २२ लाख रुपैयाँ पुगेको छ । नाफा बढेपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ४१ रुपैयाँ ३१ पैसा पुगेको छ । यस्तै प्रति सेयर कुल सम्पत्ति मूल्य १३० रुपैयाँ ९७ पैसा पुगेको कम्पनीले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
मूल्य आम्दानी अनुपात (पीई रेसियो) घटेर १०.४६ मा झरेको कम्पनीले जनाएको छ । कम्पनीले ४.५ मेगावाटको तल्लो इन्द्रावतीका अतिरित्त १४ मेगावाटको तल्लो इर्खुवाखोला आयोजना बनाइरहेको छ ।
कम्पनीले तल्लो इन्द्रावती आयोजनामा लगानी गरेको थियो । सो आयोजनाको लाइसेन्स खारेज भएपछि सो बराबरको लगानी डुब्ने अवस्था आएपछि ‘प्रोभिजनिङ’ गरिएको हो ।
नेसनल हाइड्रोले तल्लो इन्द्रवतीमा लगानी छुट्टै कम्पनीमार्फत गरेको थियो । सुनकोसी हाइड्रोपावर कम्पनीको लाइसेन्स गएको कारणले यो प्रोभिजन नेसनल हाइड्रोपावरको किताबमा देखिएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी बढेर २ अर्ब नजिक पुग्दै छ ।
यो पनि हेर्नुहोस
एनएचपीसीले पायो तल्लो इन्द्रावतीको लाइसेन्स, २० प्रतिशत लाभांश सुनिश्चित