काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ह्वात्तै घटेको छ । कारोबार सुरु हुँदा बिहीबारको तुलनामा १ अंकले माथि चढेको बजार त्यसपछि भने निरन्तर घटेर कारोबार सकिन आधा घण्टाअघि ८२ अंकसम्म घटेर २५०४ अंकसम्म आइपुग्यो ।
तर, पछिल्लो आधा घण्टामा सामान्य अवस्थामा फर्किन खोजेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार बन्द हुँदा ७२.३० अंकले घटेर २५१३.८९ अंकमा रोकिएको छ ।
यो बिन्दु कात्तिक २ गतेको न्यूनतम बिन्दु २५११.१ भन्दा २ अंकले माथि हो । कारोबार प्रवृत्तिले सुरुमा बढ्ने, त्यसपछि निरन्तर घट्ने र अन्तिम समयमा केही बढे जस्तो गरी कारोबार बन्द हुने प्रवृत्तिले निरन्तरता पाएको छ ।
बजारमा चलेका हल्लाहरूलाई छाड्ने हो र आइतबारको प्रवृत्ति तथा कारोबार रकममा देखिएको वृद्धिको आधार लिने हो भने बजार अझै झर्ने आँकलन गर्न सकिन्छ । घट्दो बजारमा कारोबार रकम बढ्नु भनेको लगानीकर्ता आत्तिएका छन् भन्ने देखाउँछ ।
त्यसैले झन् छिटो बिक्री गर्ने नाममा हतारहतार मूल्य घटाएर बिक्री प्रस्ताव गर्दा बजार झन्झन् घट्ने बाटोमा अग्रसर हुन्छ । गत साता बजार यथास्थितिबाट माथि उठाउन निकै प्रयास भए पनि आइतबार लगानीकर्ताहरू बढी अतालिएको देखिन्छ ।
यसअघि मौद्रिक नीति जारी भएपछि घटेको बजार कात्तिक २ गते २४८१.८५ सम्म झर्दै २५११ अंकमा रोकिएको थियो । आइतबार पनि नेप्से सूचकले २५०४ सम्म झरेर केही उठ्न खोजेको छ । तर, बढ्दो तरलता अभावले बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह हुन नसकेको अवस्थामा बजार अझै झर्ने आँकलन हुन थालेको छ ।
खासगरी मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले सेयर धितोको एकल ग्राहक कर्जा प्रतिव्यक्ति संस्था ४ करोड र समग्र प्रणालीबाट १२ करोड रुपैयाँ लिन पाउने व्यवस्थामा पुनरावलोकनको अपेक्षा गरिएकोमा नेपाल राष्ट्र बैंकले समीक्षामा सेयर कर्जासम्बन्धित व्यवस्थामा कुनै परिवर्तन नगरेपछि केही लगानीकर्ता बजार अझै घट्ने भनेर डंका पिट्न थालेका छन् ।
उनीहरूले लगानीकर्ताको मनोभावमाथि अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीले खेलेको भन्दै बजार घटेर २२०० भन्दा तल आउने ठोकुवा सामाजिक सञ्जालमा गर्न थालेका छन् । यद्यपि केही लगानीकर्ता भने बजार घट्ने कुनै कारण नभएको बताइरहे पनि बजार भने निरन्तर ओरालो लागेको छ ।
आइतबार गत साताको तुलनामा कारोबार रकममा केही सुधार आएको छ । गत साताको ४ दिन ४ अर्ब रुपैयाँभन्दा कम कारोबार भएकोमा आइतबार ४ अर्ब ९ करोड ७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस दिन सेयर बजार ओरालाे लगाउन १८० कम्पनीले भूमिका खेलेका छन् ।
सबैभन्दा बढी सेयर मूल्य घट्ने कम्पनीमा आइसीएफसी फाइनान्सको ८.३२ प्रतिशत छ । बजारमा ठूलो अंकको गिरावट देखिए पनि आइतबार न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार भइरहेको छ ।
न्यादीलाई पच्छाएको नयाँ सारथि लघुवित्तको सेयर मूल्य ४.०४ प्रतिशतले बढेको छ भने यस दिन ९ वटा कम्पनीको सेयर मूल्य बढेको देखिन्छ । उता नेसनल हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
आइतबार नेसनलको २८ करोड ६२ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर किनबेच हुँदा सबैभन्दा बढी कारोबार हुने कम्पनी भएको छ ।