बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले हेफर इन्टरनेसनलसँगको सहकार्यमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सुरु गरेको छ ।
गाउँपालिकाका आठवटै वडाका कृषकको हितलाई ध्यानमा राखेर ३ करोड ७३ लाख ३३ हजार रूपैयाँको लागतमा साे परियोजना सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए।
“कृषकको चाहनामा आधारित उद्यम सञ्चालनका लागि हामीले कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालन गर्न लागेका हौं”, उनले भने, “कृषकलाई कृषि र पशुपालनका क्षेत्रमा सङ्गठित गर्दै उत्पादन बढाउनका लागि यो परियोजना धेरै उपयोगी हुने अपेक्षा गरेका छौं ।”
कृषकले कृषि र पशुपालनका क्षेत्रमा आफूले चाहेको व्यवसाय गर्न पाउने गरी सञ्चालन हुन लागेको तीनवर्षे यो परियोजनाका लागि गाउँपालिकाका अध्यक्ष थापा र हेफरका सहनिर्देशक दुर्गा केसीले सम्झौतामा हस्ताक्षर गर्रेका थिए।
यो परियोजनाको व्यवस्थापन भीमापोखरा युवा क्लब ९विवाइसी०ले गर्ने भएको छ परियोजनाका लागि वडास्तरमा कृषि समूह गठन गरी उद्यमीको प्रवर्द्धन, उद्यमीले उत्पादन गरेका उत्पादनको बजारीकरण गरिने विवाइसीका कार्यक्रम संयोजक चुडामणि उपाध्यायले जानकारी दिए।
परियोजनाका लागि गाउँपालिकाले पहिलो वर्ष ८० लाख रूपैयाँ, दोस्रो र तेस्रो वर्ष १÷१ करोड रूपैयाँ लगानी गर्ने र त्यसको २५ प्रतिशत रकम हेफरले लगानी गर्ने अध्यक्ष थापाले बताए । परियोजनाका लागि प्रशासनिक र तालिमका कार्यक्रम सबै हेफरले गर्ने भएको छ ।
परियोजनामार्फत उद्यमशीलताको विकास गरी कृषकलाई सहकारीमा आबद्ध गराउँदै उनीहरुद्वारा उत्पादित सामान सङ्कलन र बजारीकरण गर्ने परियोजनाको लक्ष्य छ । हेफरले यसअघि विवाइसीसँगको साझेदारीमा गाउँपालिका– ४ तङ्ग्राममा पशुवस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना परियोजना सञ्चालन गरेको थियो ।
सो परियोजनामार्फत सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थाले बाख्रा उत्पादन गर्दै आएका छन् । करिब ८ वर्षदेखि सञ्चालनमा रहेको परियोजनामार्फत दुई सहकारीले बाख्रा बेचेर वार्षिक ३ करोडभन्दा बढी आयआर्जन गरेका छन् ।
कृषकलाई उत्पादनमा केन्द्रित गराउने र उनीहरुबाट उत्पादित वस्तुको सङ्कलन र बजारीकरणका लागि सहकारीलाई परिचालन गरिँदै आइएको छ । रासस