काठमाडौं । कात्तिक महिनामा मात्र १९ ओटा जीवन बीमा कम्पनीहरुले १० अर्ब १९ करोड ८२ लाख रूपैयाँ भन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले दिएको तथ्यांक अनुसार यी कम्पनीहरुले प्रथम बीमाशुल्क, नविकरण बीमाशुल्क र वैदेशिक रोजगार बीमाशुल्क बापत उक्त रकम संकलन गरेका हुन् ।
१९ ओटा जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ, सन नेपाल लाइफ, ज्योति लाइफ र नेपाल लाइफले मात्र कुल बीमाशुल्कमा प्रथम बीमाशुल्क, नविकरण बीमाशुल्क बाहेक वैदेशिक रोजगार शीर्षकबाट पनि बीमाशुल्क आर्जन गरेका हुन् ।
कुल बीमाशुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा रहेको छ । कात्तिक महिनामा मात्र नेपाल लाइफले २ अर्ब ६४ करोड ४३ लाख रूपैयाँ भन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो ।
नेपाल लाइफले प्रथम बीमाशुल्क ६२ करोड ४३ लाख रूपैयाँ, नविकरण बीमाशुल्क २ अर्ब १ करोड ९४ लाख रूपैयाँ र वैदेशिक रोजगार बीमा शुल्कवापत ४ लाख रूपैयाँभन्दा बढी रकम संकलन गरेको हो । नेपाल लाईफ इन्स्योरेन्स पछि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले सर्वाधिक दोस्रो नम्बरमा कुल बीमाशुल्क आर्जन गरेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनले कात्तिक महिनामा मात्र १ अर्ब ३३ करोड ६५ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । यस कम्पनीले प्रथम बीमाशुल्क वापत रू. २३ करोड ८ लाख र नविकरण बीमाशुल्क वापत रू. १ अर्ब १० करोड ५७ लाखभन्दा बढी रकम संकलन गरेको हो ।
महालक्ष्मी लाइफले कात्तिक महिनामा सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीले १० करोड ८० लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । महालक्ष्मी लाइफले प्रथम बीमाशुल्क वापत रू. ४ करोड १४ लाख र नविकरण बीमाशुल्क वापत रू. ६ करोड ६६ लाख रकम संकलन गरेको हो ।