काठमाडौं । पछिल्लो समय विवाहमा फोटो तथा भिडियो खिच्ने प्रचलन निकै बढेको छ । फोटोग्राफर स्वयम् पनि नेपालमा फोटो खिच्ने प्रचलन बढेको बताउँछन् । केही वर्ष पहिलेसम्म विवाहको दिनमा मात्रै फोटो खिच्ने फोटोग्राफरहरू अहिले एउटा विवाहका लागि ६/७ दिनसम्म व्यस्त हुने गरेका छन् ।
हुन त लगन नभएको महिनामा विवाह हुन्न । तर, फोटो खिच्ने क्रम भने विवाहबाहेकको महिना वा समयमा पनि हुने फोटोग्राफर अमित रन्जित बताउँछन् । उनका अनुसार मंसिरमा विवाह भए पनि फोटोग्राफरको व्यस्तताका कारण ‘पोस्ट वेडिङ’ खाली समय अर्थात् पुस महिनामा हुने गरेको छ ।
धेरै जसो विवाह, पास्नी तथा बेबीसावरमा उनले फोटोग्राफी गर्छन् । अन्य समयमा पनि व्यक्तिगत तथा विभिन्न कार्यालय प्रयोजनका लागि फोटो खिच्दै आएका छन् । ‘कोरोनोले गर्दा अरुले व्यवसाय परिवर्तन गरे । तर, म अनलाइन व्यवसायका लागि पनि फोटो खिच्ने गर्छु । खाली बस्दिनँ’ उनले सुनाए ।
अमितले एउटा विवाहमा ३ दिनसम्म फोटो खिचेका छन् । त्यसका लागि १ जना फोटोग्राफर र १ जना भिडियोग्राफर जान्छन् । आवश्यकताअनुसार त्यसभन्दा बढी पनि जान सकिने उनको भनाइ छ ।
कति लिन्छन् त पारिश्रमिक फोटो तथा भिडियोग्राफरले ? यो प्रश्नमा अमित भन्छन्, ‘भर्खरै सिक्दै गरेकाहरुले थोरै पारिश्रमिकमा पनि काम गर्छन् । त्यसले हामीलाई अलि समस्या भएको छ ।’
प्रत्येक फोटोग्राफरले छुट्टाछुट्टै पारिश्रमिक लिन्छन् । अमितले एक दिन विवाहमा फोटो–भिडियो खिचेको ३० देखि ४० हजार लिने गरको छन् । मंसिर लागेपछि उनको व्यस्तता झनै बढेको छ । उनका अनुसार यो महिनाभरि फोटोग्राफीका लागि व्यस्त छन् अमित ।
उनले फाटोग्राफी गर्न थालेको करिब १५ वर्ष भयो । ४ वर्षयता उनी विवाहका लागि फोटो खिच्दै आएका छन् । केही वर्षयता हलिउड÷बलिउड फिल्मको प्रभाव नेपालमा बढ्दो छ । त्यसबाट प्रभावित भएर नै नेपालमा इन्गेजमेन्ट, मेहेन्दी र विवाहमा फोटो सुट हुन थालेको अनुभव अमितको छ । उनी भन्छन्, ‘नेपालमा पहिला यस्तो प्रचलन थिएन । अहिले त कसार बटार्नेहरु पनि फोटो सुट गर्छन् ।’
त्यस्तै अर्का फोटोग्राफर विशाल सिग्देलको दैनिकी विगत ४ वर्षदेखि विवाहमा फोटो तथा भिडियो खिचेरै बित्ने गरेको छ । यसपालिको मंसिरमा मात्रै १३ दिन विवाहमा फोटो खिच्नकै लागि व्यस्त रहेको उनी सुनाउँछन् । नागढुंगा घर भएका सिग्देल प्रायः गाउँमै बस्ने गर्छन् । विवाहबाहेकको समयमा पनि फोटो–भिडियो मै आफ्नो दैनिकी बिताउँछन् । तर, आफूले लिने गरेको पारिश्रमिक भने फोटोग्राफर सिग्देलले खुलाउन चाहेनन् ।
सिग्देलले पनि ४ वर्षयता नेपाली समाजमा फोटो र भिडियो खिच्ने प्रचलन बढेको स्वीकारे । क्यापिटल नेपालसँग कुरा गर्दै सिग्देल भन्छन्, ‘इन्डियन फिल्मको प्रभाव बढेको छ । फोटो–भिडियो खिच्न मात्रै होइन डेकोरेसनमा पनि धेरै परिवर्तन भएको छ । यो क्रम अझै बढ्न सक्छ ।’
फोटो खिच्नका लागि मात्रै विशाल चितवनदेखि विराटनगरसम्म पुगेका छन् । तर, धेरैजसो काठमाडौंमा नै उनको व्यस्तता रहन्छ । उपत्यकाबाहिर जाँदा समय र पारिश्रमिक पनि बढी लिनुपर्ने उनको भनाइ छ ।
एउटा विवाहमा १ दिनदेखि ५ दिनसम्म फोटो खिचेको अनुभव छ सिग्देलको छ । त्यस्तै एउटा विवाहमा फोटो–भिडियोका लागि ३ देखि ६ जनासम्म जाने गरेका छन् ।
अर्का फोटोग्राफर सन्तोष सुवालको अनुभव भने अलि फरक छ । कोरोना संक्रमणपूर्व विवाहको सिजनमा प्रायः व्यस्त रहन्थे । तर, पछिल्लो २ वर्ष कोरोनाले गर्दा फोटो–भिडियोको काममा असर परेको उनले बताए । हिजोआज (लगनको महिना) उनी १२÷१३ दिनसम्म फोटो खिच्न व्यस्त रहन्छन् । बेबी–सावरलगायत अन्य कार्यक्रममा पनि उनले फोटो खिच्दै आएका छन् । उनको आफ्नै स्टुडियोसमेत छ ।
पारिश्रमिको सन्दर्भमा सुवाल एक दिनको २५ हजारदेखि १ लाखसम्म लिने गरेको बताउँछन् । उनको भनाइमा रकमको निर्धारण कति जना जनशक्ति फोटो–भिडियोग्राफीमा जानुपर्छ त्यसअनुसार निर्धारण हुन्छ ।
फोटो खिच्ने क्रममा नै पश्चिम नेपाल तथा मध्यनेपालका मुख्य सहर पुगिसकेका छन्, सुवाल । उपयुक्त अवसर आए देशभरि नै जान सक्ने उनले बताए ।
अर्की फोटोग्राफर सन्जु राउत पनि लगनका महिनामा १४÷१५ दिनसम्म फोटो–भिडियोग्राफीका लागि व्यस्त हुने बताउँछिन् । इन्गेजमेन्टदेखि ‘पोस्ट वेडिङ’ सम्म गरी ४ दिनसम्म उनले फोटो खिचेकी छन् । आवश्यक पर्दा समूहमा ७ जनासम्म जाने गरेका छन् ।
सन्जुले पनि अन्य फोटोग्राफरलेजस्तै दिनको आधारमा पारिश्रमिक लिने गर्छिन् । उनको समूहले एक दिन फोटो–भिडियो खिचेको ३५ हजारदेखि ५० हजार रुपैयाँसम्म लिने गरेको छ ।