पानी हाम्रो जीवन । र, जीवनको पहिलो आवश्यकता पनि ।
तर, यही पानीका कारण यो पृथ्वीबाट कुनै देश विलुप्त भयो भने ? कल्पना मात्रले पनि आङ सिरिंग हुन्छ । तर, सत्य यही हाे कि पृथ्वीका दर्जनौं द्वीपहरू पानीमा डुब्दैछन् ।
जलवायु परिवर्तनका कारण सामुद्रिक जलको स्तर बढिरहेको छ । समुद्री सतहसँगै रहेका कतिपय द्वीपहरूले यसको हानि बेहोरिरहेका छन् । जलवायु परिवर्तनकै कारण यी द्वीपमा पिउने पानीसमेत अभाव हुन थालेको छ ।
प्रशान्त महासागरस्थित एउटा सानो टापु तभालुको वर्तमान स्थिति यस्तै छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेका द्वीपमध्ये यो पनि एउटा हो । यही देशले विश्वको सर्वाधिक प्रदूषण फैलाउने देशसँग ग्रिनहाउस ग्यास उत्सर्जन कम गर्न अनुरोध गरिरहेको छ । यस्तै सम्भावित खराब स्थितिबाट बच्ने तयारी पनि गरिरहेको छ । खराब स्थिति अर्थात् देश जलमग्न हुने स्थिति ।
तुभालुका न्याय, सञ्चार र परराष्ट्र मन्त्री सिमाने कोफेले जलवायु परिवर्तनको मुद्दामाथि हालसालै बेलायतमा सम्पन्न जलवालु परिवर्तनसम्बन्धी बैठक कोप–२६ मा एउटा भावुक सन्देश पठाएको थियो । स्कटल्यान्डको ग्लासगोमा भएको यो सम्मेलनमा विश्वभरका नेताहरू सहभागी थिए । र, जलवायु परिवर्तनको संकटमाथि चर्चा र समाधान खोज्ने प्रयास भएको थियो ।
‘हामी डुबिरहेका छौं । बाँकी सबैसँग पनि त यस्तै भइरहेको छ नि !’ काेफेको सन्देश थियो ।
यो सन्देश पठाइरहँदा कोफे घुँडासम्म डुबेका थिए पानीमा । उनी उभिएको ठाउँ कुनै बेला सुक्खा थियो । तर, जलवायु परिवर्तनका कारण अहिले त्यहाँ पानी भरिएको छ ।
समुद्रको स्तर, सम्भावित खतरा
तुभालुमा नौवटा ससाना द्वीप छन् । अस्ट्रेलियाबाट यसको दूरी लगभग चारहजार किलोमिटर छ । किरीबारी, सामोआ र फिजी यसका छिमेकी देश हुन् । १२ हजार जनसंख्या रहेको यो द्वीप समुद्र सतहदेखि चार मिटरकाे बिन्दुमा छ ।
कोफेका अनुसार जहाँ उनीहरू बस्छन्, त्यहाँ जमिनको पातलो पत्र बाँकी छ । केही ठाउँमा दुईतिरै समुद्र देखिन्छ । एकातिर खुला समुद्र अर्कोतिर हरियाली । पछिल्ला केही वर्षदेखि तुभालुको जमिन पानीले काटिरहेको छ ।
समुद्र अनि पिउने पानीमा त्यसको प्रभाव
कोफेका अनुसार केही ठाउँमा समुद्रको पानी भित्रभित्र छिरिसकेको छ । यसको प्रभावले एकीफर्स प्रभावित भइरहेका छन् । ‘सामान्यतया हामीले पिउने पानी आकाशबाट प्राप्त गर्छौं । केही ठाउँमा कुवा पनि खनिन्छ । तर, केही ठाउँमा भित्रभित्रै सामुद्रिक पानी पुगेकाले पिउने पानी पाउन मुस्किल छ’ कोफेको भनाइ छ ।
तुभालुको जमिनमा नुनिलो पानी पुगिसकेको छ । यसले कृषिमा समेत असर पुर्याएको छ । खेतीयोग्य जमिन अनुत्पादक बनेको छ । कतिसम्म भने ताइवान सरकारले तुवाको यो दुर्दशालाई देखेर अन्न उत्पादनका लागि पाइलट–प्रोजेक्टमार्फत सहयोग गरिरहेको छ ।
द्वीपीय देशहरूको संघर्ष
तुभालुजस्ता द्वीपहरू विगत ३० वर्षदेखि जलवायु परिवर्तनको सन्दर्भमा ठोस वैश्विक प्रयासका लागि आह्वान गरिरहेका छन् ।
सन् १९९० मा प्यासिफिक द्वीपीय देशहरु; एन्टिगुआ, बारबुडा र माल्दिभ्ससँग मिली राजनीतिक गठबन्धन बनाएका थिए । यसको उद्देश्य, जलवायु परिवर्तनमा एउटा साझा मोर्चा बनाउने थियो । द एलायन्स अफ स्मल आइल्यान्ड कन्ट्रिजका आज ३९ सदस्य छन् । यो गठबन्धले विकासशील देशमा ग्लोबल वार्मिङको गम्भीर प्रभावलाई अघि ल्याउनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
के भन्छन् वैज्ञानिक
युनाइटेड नेसन्स इन्टर गभर्मेंटल प्यानल अन क्लाइमेन्ट चेन्ज (आईपीसीसी) ले गत अगस्टमा दिएको रिपोर्टअनुसार वैश्विक स्तरमा सामुद्रिक जलको स्तरमा वार्षिक १९०१ र २०१८ बीच तीन गुना बढिसकेको छ । जुन वर्तमान समयमा ३.७ मिलिमिटर प्रतिवर्ष हुन जान्छ ।
मानव सभ्यताका लागि ‘रेड अलर्ट’
जलवायु परिवर्तनविद् तथा आईपीसीसी रिपाेर्टर डाक्टर मोर्गनले प्रशान्त द्वीप क्षेत्रको स्थिति खराब भएको बताएका छन् । उनका अनुसार, दक्षिण प्रशान्त क्षेत्रमा १९०० देखि २०१८ बीच समुद्रको स्तरमा क्षेत्रीय औसत वृद्धि ५–११ मिमि मापन गरिएको छ ।
अन्य विकल्प
जलवायु परिवर्तनसम्बन्धी वर्तमान स्थितिलाई अस्वीकार गर्न सकिँदैन । विश्वस्तरमा अझै पनि ठोस कदम देखिएका छैनन् । यी सबैका बीच तुवालु र त्यहाँका बासिन्दाले आफ्ना लागि भविष्य खोजिरहेका छन् ।
कोफेले भनेका थिए, ‘सबभन्दा नराम्रो त हामीले आफ्नो स्थान छोडेर जाँदा र हाम्रा द्वीपहरू समुद्रमा डुब्दा हुनेछ ।’
–बीबीसीकाे सहयाेगमा ।