काठमाडौं । सार्वजनिक निजी लगानीको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आउँदो चैतदेखि ऋणको किस्ता तिर्न थाल्ने भएको छ । आयोजनाले भदौ २५ गतेदेखि व्यावसायिक बिजुली उत्पादन थालेको हो । आगामी चैतदेखि ऋण तिर्न थाल्ने कर्मचारी सञ्चय कोषका कामु प्रशासक जितेन्द्र धितालले बताए ।
आयोजनाले व्यावसायिक रुपमा बिजुली उत्पादन थालेको दोस्रो त्रैमासदेखि ऋण तिर्न थाल्ने सहमति भएको उनले सुनाए । यद्यपि किस्ता कसरी कति गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको कोषले जनाएको छ । तामाकोसीबाट पाउने किस्ता रकम नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ९९ मेगावाटको तामाकोसी ५ आयोजनामा लगानी गर्ने उनले जानकारी दिए । आयोजनामा ऋण लगानी गर्ने विषयमा समझदारीपत्र (एमाओयू) मा हस्ताक्षर भएको छ ।
कम्पनीको आयोजना सम्पन्न हुँदा दीर्घकालीन ऋण ४१ अर्ब, ब्याज बढेर ३१ अर्ब ७६ करोड २८ लाख र अन्य दायित्व १ अर्ब ७२ करोड ११ लाख, अल्पकालिन ऋण ४ अर्ब र अन्य गरी कुल दायित्व ८९ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेको अपरले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा उल्लेख छ ।
आयोजना बनाउन सरकारबाट १३ अर्ब रुपैयाँ दीर्घकालिन ऋण, सेयरधनीहरु नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानबाट १४ अर्ब र सञ्चय कोषको १४ अर्ब रुपैयाँ दीर्घकालिन ऋण रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यद्यपि सञ्चय कोषको ऋण दायित्व अपरले वित्तीय विवरणमा उल्लेख गरेको छैन । यस्तै विद्युत प्राधिकरणबाट प्राप्त भएको अल्पकालीन ऋण २ अर्ब रुपैयाँ रहेको छ । आयोजनाको शुरू हुँदा कुल अनुमानित लागत ४९ अर्ब, निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब २९ करोड, कुल ब्याज १४ अर्ब रुपैयाँ हुने अनुमान गरिएको थियो । त्यसैगरी सम्पन्न हुदाँसम्म लागत बढेर कुल ८४ अर्ब ब्याज बाहेक ५२ अर्ब र ब्याज ३२ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । कम्पनीले वार्षिक बिजुली बिक्रीबाट ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । आयोजना सञ्चालनमा आएको ३ महिनामा ८६ करोड रुपैयाँ खुदनाफा गरेको छ । ३ महिनामा कम्पनीले बिजुली बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरी सो रकम नाफा गर्न सफल भएको हो । ने
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा बढी नाफा गर्नेमा अपर तामाकोसी भएको छ । कम्पनीले भदौ २५ गतेदेखि ६ वटै युनिटबाट ४५६ मेगावाट बिजुली व्यवसायिक उत्पादन थालेको हो ।
विभिन्न कारणले आयोजना निर्माण सम्पन्न गर्नमा ढिलाइ भएको, निर्माण अवधिको ब्याज, विदेशी मुद्रा सटही व्ययभार र निर्माणका क्रममा प्रशासनिक खर्चमा भएको बढोत्तरीले आयोजनाको लागत बढेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।
सरकारले विद्युत प्राधिकरणमार्फत लगानी गरेको १४ अर्ब रुपैयाँको ब्याजदर घटाएर ६ प्रतिशत कायम गरेको र अन्य ऋण लगानीकर्तालाई ब्याजदर घटाउने अनुरोध गरेको कम्पनीले जनाएको छ । यस्तै सञ्चय कोषले पनि ब्याजदर घटाएर अहिले ९.७५ प्रतिशत कायम गरेको छ ।
आयोजना सम्पन्न भए पनि निर्माण अवधिको ब्याज एकमुष्ठ साँवा निर्धारण गरी ऋणको भुक्तानी तालिका तय र आयोजनाको सम्पत्तिको पुँजीकरण गर्न बाँकी रहेको वित्तीय विवरणमा उल्लेख छ । तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ ।
कम्पनीले लगानीकर्तालाई भविष्यमा थप प्रतिफल दिन रोल्वालिङ डाइभर्सन र रोल्वालिङ खोला आयोजना निर्माण सुरु गर्न लागेको जनाएको छ । रोल्वालिङ बनेपछि बिजुली उत्पादन थप हुनेछ । आम्दानीसमेत बढ्ने छ । यसका लागि उचित ब्याजदरमा आवश्यक ऋण व्यवस्थापनमा चुनौति रहेको कम्पनीले जनाएको छ ।
यसरी उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० के.भी. प्रसारण लाइनबाट राष्ट्रिय प्रसारण ग्रीड प्रणालीमा आबद्घ गरिएको छ ।आयोजनाको पुँजी संरचनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बिमा संस्थाको २ प्रतिशत लगानी रहेको छ ।
समस्या र अनुभव माथिल्लो तामाकोसी जलविद्युत आयोजना तोकिएको समय र लागतमा सम्पन्न हुन सकेन । पाँच वर्षमा सकिने लक्ष्य राखिएता पनि आयोजना ११ वर्षमा सम्पन्न भएको छ । आयोजनाको मुख्य सुरुङको डिजाइन परिवर्तनका कारण निर्माण तथा सम्पन्न हुनमा ढिलाई भएको देखिन्छ ।