पोखरा । पर्यटकीय नगरी पोखरामा पहिलो पटक अन्नपूर्ण केबलकारको परीक्षण गरिएको छ । व्यवसायी कालु गुरुङसहित जापानिज व्यवसायीहरुको संयुक्त लगानीमा निर्माण भएको सो केबलकारको सफ्ट ओपनिङ भने अंग्रेजी नयाँ वर्ष २०२२ देखि गर्ने तयारी भएको जनाएको छ ।
केबलकार परीक्षणका लागि जापानबाट सात जना प्राविधिकको टोली पोखरा आएको थियो । दुई हजार ४०० मिटर लामो यो केबलकारका १३ टावर छन्र । यो केबलकारमा १८ वटा डिब्बा छन् । एकमा भने सामान राख्न प्रयोग गरिनेछ । प्रतिडिब्बामा आठ जनाको सिट क्षमता रहने जनाइएको छ । टोलीले सबै प्राविधिक पक्ष सफल भएको जनाएको छ ।
करिब साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि कोरोनाका कारण निर्धारित समयभन्दा बढी लागेको निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि कोरोनाले गर्दा समय पनि लम्बियो र लागत पनि बढेको उनको भनाइ छ । आयोजनाको प्रारम्भिक खाकामा करिब एक अर्बमा योजना सम्पन्न लक्ष्य लिए पनि निर्माण अघि बढ्दै जाँदा पूर्वाधारलगायतका जमिन थपिँदै गएपछि लागत बढेर करिब २ अर्ब पुगेको उनले बताए ।
केबकार सञ्चालनमा आएपछि स्थानीयवासीलाई प्राथमिकता दिएर रोजगारी प्रदान गरिने र ८० देखि १०० जनाले प्रत्यक्ष रोजगार पाउने त्रिपाठीले जानकारी दिए । माथिल्लो स्टेसन भवनमा स्काइ हेवन बेलुन रेष्टुराँ, भ्यूटावर निर्माण भएको छ भने तल्लो स्टेसनमा पार्किङ, बगैंचासहितको संरचना निर्माण भएको छ ।
केबलकारमा जाने र आउने शुल्क ६ सय रूपैयाँ निर्धारण गरिएको छ भने स्थानीयवासी, विद्यार्थी तथा ज्येष्ठ नागरिकलगायतका लागि सहुलियत व्यवस्था गरिने जनाइएको छ । विदेशीका लागि भने ७ सय र ८ सय रूपैयाँ भाडा कायम गरिएको छ । सार्क देशका पर्यटकलाई प्रतिव्यक्ति ७ सय रूपैयाँ र अन्य मुलुकका पर्यटकलाई ८ सय रूपैयाँ लाग्ने गरी टिकट शुल्क तय गरिएको छ ।
अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष गुरुङ छन् । गुरुङसहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्वजापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयवासीको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।
केबलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वास आफूहरूले लिएको अध्यक्ष गुरुङले बताए । केबलकार निर्माण भएकाले फेवातालको किनार सेतीबगरबाट आठदेखि नौ मिनेटमै सराङकोट पुगेर सराङकोटबाट हिमशृखला पोखराको दृश्यावलोकन गर्न सकिने उनको भनाइ छ ।