काठमाडौं । कोभिड–कहरले देश–दुनियाँ आक्रान्त छ । दुई वर्षअघिको त्यो कहाली लाग्दो समय पार गर्दा बल्लतल्ल भ्याक्सिन लगाउने समय आयो । अधिकांशले लगाए, लगाउने क्रम जारी छ । तर, अब अलिक मत्थर हुन्छ कि भन्ने बेला झन् नयाँ भेरियन्ट देखिएको छ । यसले आम मानिसमा सास्ती र वैज्ञानिकमा चुनौती थपिदिएको छ ।
कोभिडकै कारण ठूला व्यवसायी, नयाँ उद्योग स्थापना गर्न चाहने नवउद्यमीलगायत, लगानीकर्ता आदिले तत्काल ठोस निर्णय लिन सकेका छैनन् । आँखैअघि जोखिम देख्दादेख्दै निर्णय लिने कुरा पनि भएन । यसैलाई मध्येनजर गर्दै कतिपय देशले अझै सीमा–नाका खोलेका छैनन् । नाका नखोल्दा विद्यार्थी, पर्यटकहरु जहाँको तही“ अड्किएका छन् । झन् कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिन थालेपछि थुप्रै देशहरुले अन्तर्राष्ट्रिय उडान पुनः बन्द गरेका छन्, गर्दैछन् । उता अस्ट्रेलियाले डिसेम्बर १ देखि खोल्ने भनेको अन्तर्राष्ट्रिय सीमा पछि धकेलिएको छ । ‘पर्ख र हेर’ को स्थितिमा पुगेको छ अहिले । जसका कारण अस्ट्रेलिया जाने विद्यार्थीका लागि अन्यौलको अवस्था सिर्जना भएको छ ।
त्यसैमध्येका एक हुन्, अध्ययनका लागि अस्ट्रेलिया जान लागेका विद्यार्थी रोशन श्रेष्ठ ।
६ महिना नाघिसक्यो रोशनको भिजा आएको । कोभिड–कहरका कारण अष्ट्रेलिया सीमा खुल्ला थिएन । सीमा खुल्ने आशैआशमा रोशनले विदेशी विश्वविद्यालयको महँगो फी तिरेर नेपालबाटै अनलाइन कक्षा लिन थाले ।
अष्ट्रेलियाले यही डिसेम्बर १ देखि सीमा खुल्ला गर्ने घोषणा गरेको थियो । पहिलो सेमेस्टर सकेर दोस्रो सेमेस्टर सुरु गर्ने तयारीमा थिए उनी । सीमा खुल्ने खबर पाएका रमेशका बुवा बुधबार छोराको ‘एनओसी लेटर’ का लागि आवेदन दिन केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखामा पुगे ।
तर, शाखा पुगेकै दिन अष्ट्रेलियाले १५ दिनका लागि सबै खाले अन्तर्राष्ट्रिय आगमन रोकेको बतायो । यो थाहा पाएपछि रमेश अहिले निकै तनावमा छन् ।
‘पहिलो सेमेस्टरका लागि लाखौं खर्च गरी फी तिरियो’, रमेश आफ्नो समस्या सुनाउँछन्, ‘दोस्रो सेमेस्टरका लागि पनि भर्ना गर्नुपर्ने समय भयो । फेरि बोर्डर बन्द हुने रे ! १५ दिन भन्या छ । तर, कहिलेसम्म लम्बिने हो थाहा छैन । एकदम तनाव भाको छ ।’
काठमाडौंका सम्पन्न मल्ल पनि बिहिबार एनओसी लेटर लिन वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखा पुगेका थिए । जुलाई इन्टेकमा अष्ट्रेलिया छिर्ने तयारीमा रहेका उनलाई पनि अहिले तनाव छ । अध्ययनको प्रक्रियामा धेरै खर्च भइसकेको छ । लामो समय कुरेर थालेको प्रक्रियाको बीचमा नयाँ भेरियन्ट आयो । एकातिर यसकै कारण स्थगित गर्नुपर्छ कि भन्ने तनाव उनलाई छ । यस्तै अर्कोतिर जुलाईमा इन्टेक भएकाले त्यतिखेरसम्म केही उपाय लाग्छ, साम्य हुन्छ कि भन्ने उनलाई आशा पनि उत्तिकै छ ।
गत हप्ता दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेपछि वैदेशिक अध्ययनका लागि बाहिर जाने प्रक्रिया पुनः थालेका विद्यार्थीहरू यति बेला मारमा छन् ।
२०७६ चैत्र ११ गतेदेखि कोभिडका कारण देशमा निषेधाज्ञा लागू भयो । नेपाललगायत तथा विश्वका सबैजसो मुलुकले महामारी फैलिन नदिन आआफ्ना सीमा बन्द गरे । विदेशमा अध्ययनसँगै अर्थोपार्जन गरी भविष्य बनाऔं भन्ने धेरै युवाको भविष्य ‘भविष्य’ नै बन्यो । पहिलो चरणको महामारी साम्य भएर जनजीवन सामान्य हुन नपाई दोस्रो चरणमा डेल्टा भेरियन्ट देखियो । तर, एन्टिडट खोप बनेर सर्वसुलभ हुन थालेपछि महामारी साम्य भएको आँकल गरी विश्व आफ्नै लयमा फर्किएको थियो । र, वैदेशिक अध्ययनका लागि पुनः चहलपहल सुरु हुनै लागेको थियो । विडम्बना ! नयाँ भेरियन्टका कारण वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीको आशामा तुषारापात लागेको छ । अस्ट्रेलियासँगै जापानले पनि एक महिनाका लागि सीमा बन्द गर्ने घोषणा गरेको छ । यी दुवै मुलुक नेपाली विद्यार्थीका लागि रोजाइका गन्तव्य बन्दै आइरहेका थिए ।
यो भेरियन्ट कहिले मत्थर हुन्छ भन्ने कुरामा वैज्ञानिक नै अनविज्ञ छन् । निषेधको निश्चितता नहुँदा विद्यार्थीको पैसा र भविष्य दुवै ‘कुहिरोको काग’ बनिरहेको छ ।
झापाका विनोद ओलीले गएको भदौदेखि क्यानाडास्थित विश्वविद्यालयमा अनलाइन कक्षा लिइरहेका छन् । पहिलो सेमेस्टरको अन्तिमतिर छन् उनी । दोस्रो सेमेस्टरको लागि फी तिर्ने समय भएको छ । जनवरी पहिलो तारिखमा उनको फ्लाइट छ । तर, ओमिक्रोन भाइरस एकाएक देखा परेपछि विनोदको पनि धैर्यताको बाँध टुट्न थालेको छ ।
‘अहिलेसम्म त क्यानाडाले भ्याक्सिन लगाएका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सीमा बन्द गरेको छैन । एक महिना बाँकी हुँदा अझै नयाँ भेरियन्टले कस्तो रुप लेला भन्ने कसैलाई थाहा छैन’ उनी भन्छन्, ‘पहिलेभन्दा धेरै आक्रमक भएर फैलियो भने क्यानडाले मात्र होइन नेपालले समेतसीमा बन्द गर्न सक्छ । त्यो बेला त हामी झन् बिचल्लीमा पर्छौं ।’
क्यानडा जान भनेर हालसम्म उनले १७ लाखभन्दा बढी रकम खर्चिसकेको सुनाए ।
अहिले वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखामा सम्पन्नजस्ता धेरै विद्यार्थीको भीड देखिन्छ । महामारीबाट केही राहत पाएपछि अब प्रक्रियाका लागि उचित समय रहेको ठानी हिजोआज धेरै विद्यार्थीहरु शाखामा एनओसी लेटर लिन तथा अप्लाई गर्न आउने गरेका छन् ।
शिक्षा मन्त्रालयका उपसचिव तथा शाखाप्रमुख नारायण पोखरेलका अनुसार पछिल्लो समय दैनिक औसत ३ सय विद्यार्थीहरु एनओसी प्रयोजनका लागि शाखामा आउने गरेका छन् । २०७७ साउनयता मात्र ५१ हजार १ सय ९ विद्यार्थीको एनओसी लेटर अनुमोदन भएको शाखाको तथ्यांकले देखाउँछ । यद्यपि यसबीचमा कति विद्यार्थी उडे र कति उड्न बाँकी छन् त्यसको कुनै तथ्यांक (व्यक्तिगत कन्सल्टेन्सीबाहेक) निकायसँग छैन ।
नेपाल शैक्षिक परामर्श संघ इक्यानको तथ्यांकअनुसार २०७६ चैतदेखि हालसम्म करिब ३७ सय विद्यार्थीको अष्ट्रेलियाको भिजा लागेको छ । यस्तै जापानको हकमा करिब ९ हजार विद्यार्थीको क्यूओई आइसकेको छ । त्यसमध्ये ५ सयको भिजा नै आइसकेको छ ।
नयाँ ओमिक्रोन भाइरसका कारण दुई वर्षदेखि उच्चशिक्षा हासिल गर्ने योजनामा रहेका विद्यार्थीहरुको आशामा धक्का लागेको इक्यानका महासचिव दिपकराज भुसाल स्वीकार्छन् ।
‘दुई वर्षदेखि उच्च शिक्षा हासिल गर्ने जुन योजनामा विद्यार्थीहरु थिए’ महासचिव भुसाल भन्छन्, ‘सीमा खुल्ला हुँदा थोरै आशा सञ्चार भएको थियो । तर, ओमिक्रोनका कारण धक्का लागेको छ ।’
कोभिडको अनिश्चितता बुझेकै कारण अहिले कतिपय कलेजले अनलाइनमार्फत बाहिर रहेका विद्यार्थीलाई अध्यापन गराएबापत फी लिने गरेका छैनन् । जापानमा पनि केही कलेजले उक्त फी लिएका छैनन् । तर, कतिपय कलेजले भने इन्टरनेट शुल्कसमेत लिइरहेको भुसाल बताउँछन् । यस्तै कोभिडपछि अष्ट्रेलियाका कलेजले पनि ट्युसन फी घटाएर पनि सुविधा दिएका थिए ।
‘कलेजका लागि प्रोसेसिङ गर्दा सम्बन्धित कलेजले ट्युसन फी घटाउने–नघटाउने, अनलाइन कक्षा लिने–नलिने, लिएको खण्डमा चार्ज गर्छ कि गर्दैन भन्ने कुराको अध्ययन गर्नुपर्छ’ महासचिव भुसाल भन्छन्, ‘यो विषम परिस्थितिमा त्यहाँको मुलुकले कस्तो संरक्षण तथा सुविधा दियो, बोर्डर खुल्यो वा खुलेन, नेपालमा के–के गर्नुपर्छ ? जस्ता कुरा बुझेर प्रक्रिया थाल्दा हामीलाई सजिलो हुन्छ’ उनले भने ।
इक्यान तथा शैक्षिक परामर्श संस्थाहरु भने कोभिडको समय ’पर्ख र हेर’ रहेको हुँदा सबै अनिश्चित भएकाले संकटग्रस्त भएर नहि“ड्न सुझाव दिन्छन् । परिस्थिति पहिलेजस्तो सहज नभएको र जुन बेला जस्तोसुकै निर्णय आउन सक्ने हुँदा आर्थिक समस्या र मानसिक रुपमा विक्षिप्त विद्यार्थीले यत्तिकै प्रक्रिया नथाल्न भुसाल सुझाव दिन्छन् ।
नेपालमा आर्थिक सहायता राम्रो भएको तर बाहिर जाँदा जस्तोसुकै के–कसो हुने हो भन्ने प्रस्ट छैन । यसैले कहाँबाट के सहयोग लिने सकिन्छ भनी हेर्न तथा खोज्न सक्ने विद्यार्थीले मात्र योजना बनाउने समय हो यो । यदि नेपालमै आर्थिक रुपमा समस्याग्रस्त तथा मानसिक रुपमा विक्षिप्त हो भने तत्काल बाहिर जाने समय नरहेको विज्ञहरु बताउँछन् । यद्यपि विदेश गएको खण्डमा वा केही त्यस्तो घटना घटेमा क्यान तथा व्यक्तिगत शैक्षिक परामर्श संस्था समन्वय गर्न सधंै तत्पर रहेको उनी बताउँछन् ।
’कोभिडको सुरुवाती चरणमा इक्यानले विभिन्न इन्फर्मेसन सिस्टम बनाएर अप्ठ्यारोमा परेका विद्यार्थीहरुलाई सम्पर्कमा आउन आह्वान गरी केहीलाई सहयोग पनि गरेको थियो । यस्तै त्यहाँका एनआरएनए, कलेज, विश्वविद्यालय, नेपालीहरु सबैसँग कोअर्डिनेट गरी समस्यामा परेका विद्यार्थीहरुलाई छात्रवृत्ति, अनुदानको व्यवस्था र पार्टटाइम जबमा सहयोग तथा स्वास्थका हिसाबले पनि कोअर्डिनेट गरेका थियौं’ भुसालले भने ।
कोभिड सुरु हुँदा केही समय शैक्षिक परामर्श संस्थाहरुले आफ्नो गतिविधि स्थगित गरेका थिए । त्यसयता भने प्रक्रिया रोकिएको छैन । अल्पकालीन रुपमा सीमा खुल्ने, बन्द हुने खुल्ने क्रम चलिरहेको छ ।
तर, विश्वविद्यालयले भर्ना लिन, दूतावास तथा आप्रवासनले निर्णय गर्न भने रोकेका छैनन् ।