जुम्लाको पातारासि गाउँपालिका– ७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन् । गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रुपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ ।
हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतका अनुसार विस्तारै अन्य घरमा पनि होमस्टे सञ्चालन गरिने छ । “सफल भएमा अन्य घरलाई पनि होमस्टे बनाउने योजना छ”, उनले भने ।
हाल रेडपाण्डा (रातो हाब्रे) संरक्षण नेटवर्कको सहयोगमा ६ घरलाई होमस्टे बनाइएको छ । रावतले भने,“ मुगुको रारा जाने पर्यटकलाई लक्षित गरी पट्मारा गाउँमा होमस्टे सञ्चालन गरिएको होे ।”,
गतवर्ष चैतदेखि सुरु भएको होमस्टेमा कोरोना भाइरसको महामारीका कारण उल्लेख्य पाहुना आएका छैनन् । कोरोनाको सङ्कट कम भएर पर्यटनले लय समात्नेमा रावत विश्वस्त हुनुहुन्छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने उनले बताए ।
पाहुनाको पर्खाइमा रहेको होमस्टे सञ्चालिका राज्यलक्षी रावतले बताए । “पहुनालाई न्यानो स्वागतका साथै रैथाने बालीका परिकार खुवाउन हामी आत्तुर छौं । लोकल कुुखुराको सुप र मासु, कालीमार्सी चामलको भात, फाँपरको परिकार र चिनोको खिरलगायत परिकार तयार पाछौं”, उनले भने।
रारा जाने तथा पट्मारा गाउँको महारुद्र सामुदायिक वनमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा हेर्नका लागि आउने पर्यटनलाई लक्षित गरी होमस्टे सुरु गरिएको रावतले बताए। “रेडपाण्डा हेर्न पट्मारा गाउँमा एक पटक आउन आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गछौँ । होमस्टे गाउँमै पहिलो भएकाले पाहुनालाई आर्गानिक परिकार पस्कने छौं”, उनले भने ।