काठमाडौं । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षको कार्यभार सम्हाले लगत्तै अध्यक्ष युवराज अधिकारीले भएका सबै जहाजहरू सञ्चालनमा ल्याउने निर्णय गरे ।
कात्तिक ११ गते अध्यक्षको कार्यभार लिएका अध्यक्ष अधिकारीको निर्देशन लगत्तै प्राविधिकहरूले तत्कालै कुन–कुन जहाज सञ्चालन गर्न सकिन्छ भनेर चेकजाँच गरेर खर्चको सूचीसमेत तयार पारेर बुझाइसकेका छन् ।
निगमले पहिलो चरणमो १७ सिट क्षमताका ४ वटा वाइ १२ ईमध्ये २ वटा र ५६ सिट क्षमताका एमए ६० दुईवटामध्ये १ वटा सञ्चालनको तयारी गरिरहेको छ । दुईवटा ट्वीनटर जहाजमार्फत आन्तरिक उडान धान्दै आएको निगमले तीनवटा पुराना जहाज सञ्चालन गर्ने तयारी गरिरहेको बेला फेरि विभिन्न शंका र आशंकाहरूले घेरिन थालेको छ ।
जहाज चलाउँदा निगमलाई वार्षिक अर्बौं रुपैयाँ घाटा लागेको भन्दै सञ्चालक समितिको २०७६ असार १५ गते बसेको बैठकले बन्द गर्ने निर्णय गरेको थियो। सञ्चालक समितिको उक्त निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयले पनि सहमति जनाइसके भाडामा दिनु र अन्तिम विकल्पमा बिक्री गर्न अनुमति दिएको थियो ।
अर्थ मन्त्रालयको अनुमतिपछि निगमले आन्तरिक रुपमा ती जहाजहरूलाई भाडामा दिनका लागि आवश्यक कार्यविधिसमेत तयार पारिसकेका थिए । तर, तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेललाई सरकारले हटाएसँगै ती निर्णयलाई उल्टाएर हालका अध्यक्ष अधिकारीले भने सञ्चालनको तयारी थालेका हुन् ।
जहाज सञ्चालन गर्ने निर्णय गरे पनि सहज भने नभएको त्यहाँका अधिकारीहरूको भनाइ छ । निगमकै खर्चले मात्र ती जहाज सञ्चालन गर्न सम्भव छैन, त्यहाँका एक उच्च अधिकारीले भने, त्यसका लागि चीन सरकारकै भरपर्नु पर्ने अवस्था आएको छ ।
जहाज सञ्चालनका लागि आवश्यक सहयोग गरिदिनका लागि चिनियाँ राजदूतावासमार्फत चीन सरकारलाई पत्र पठाउन लागिएको जनाएको छ । चिनियाँ सरकारसँग खरिद गरेर ल्याएको सो जहाजहरूको मर्मत सम्भार र आवश्यक सामग्रीहरूसहित प्राविधिकहरू त्यहीबाट ल्याउनुपर्ने बाध्यता छ ।
जहाज खरिदको बेला जहाज मर्मतका लागि प्राविधिकहरू र आवश्यक सामग्रीहरू चीन सरकारले उपलब्ध गराउने सहमति भएको थियो । तर, पछि जहाज बिग्रिँदा चीन सरकारले बेवास्था गरिरहेको बेला फेरि त्यही सरकारको भरपर्नु पर्ने बेला आएको ती उच्च अधिकारीको दाबी छ ।
‘चीनको सहयोग बिना ती जहाजहरू सञ्चालन गर्न कठिन छ, ती अधिकारीले भने, पहिला पनि त्यही समस्या भएको छ, केही दिन जहाज सञ्चालन गरेर बन्द गराउनुभन्दा अहिलेकै अवस्थामा राख्नु बेस हुन्छ ।’
ईयूको डर
चिनियाँ जहाज सञ्चालन गर्ने निगमको निर्णयसँगै फेरि युरोपियन युनियन(ईयू)ले नेपाली जहाजलाई कालोसूचीमा निरन्तरता राख्ने डर बढेको छ । ईयूले चिनियाँ जहाजलाई पनि दोषी देखाउँदै आएको छ । अन्तर्राष्ट्रिय रुपमा मान्यता नपाएको एमई ६० जहाज नेपालले ल्याएर चलाएको भन्दै लामो समयदेखि युरोपियन युनियन असन्तुष्ट बन्दै आएको बेला निगमले फेरि ती जहाज सञ्चालन गर्ने निर्णय गरेसँगै ती शंकाहरू उत्पन्न भएको हो ।
केही समयअघि नेपालमा आएको ईयूको प्रतिनिधिले विमानस्थलमा ग्राउन्डेड रहेको तीन जहाजहरूको स्थलगत निरीक्षणसमेत गरेका थिए । ईयूले चिनियाँ जहाजसँगै हेलिकप्टर दुर्घटनालाई पनि प्रमुख कारण बनाउँदै आएको छ ।
पछिल्लो केही वर्षयता चिनियाँ जहाज ग्राउन्डेड भएको र हेलिकप्टर दुर्घटनाका दर पनि कम भएकोले ईयूको सेफ्टी लिष्टको कालोसूचीबाट हटाउन सकरात्मक प्रतिक्रिया दिइरहेको थियो । ईयूको टोली सेफ्टी अडिटका लागि केही समयपछि नेपालमा आउने तयारी गरिरहेको बेला पुराना जहाज सञ्चालन गरेर फेरि समस्या बल्झाउन थालेको निगमका एक पूर्व अध्यक्षको भनाई छ ।
ईयूको कालोसूचीकै कारण निगमको जहाज युरोपियन मुलुकमा उडान गर्न सकेको छैन ।