काठमाडौं । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनअघि तीनवटा सटल बस तयारी अवस्थामा थिए । केही यात्रु चढिरहेका थिए । केहीलाई त्यहाँका कर्मचारीले ‘तपाईंहरूलाई गोल्डेन गेटसम्म हामी पुर्याउँछौं यसमा बस्नुस्’ भन्दै लगेज गाडीमा लगेर राखिँदै थियो ।
त्यही भीडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक भोला गुरागाईंसहित पर्यटनमन्त्री आले पनि सटल बसमा चडेर गोल्डेन गेटसम्म यात्रुहरूलाई पुर्याउन गए ।
यात्रुलाई गोल्डेन गेटसम्म पुर्याउन गएका मन्त्री आलेले सटल बसको सेवा नियमित दिने र आवश्यकताका आधारमा बस थप्दै जाने प्रतिबद्धता जनाए । त्यहाँबाट फेरि उनी त्यही बस चढेर त्रिभुवन अन्तर्राष्ट्रिय गेटतर्फ आउँदै गर्दा उनले आफू पनि विगतमा विमानस्थलको ट्याक्सीमा ठगिएका कारण त्यो समस्या सदाका लागि अन्त्य गर्न सटल बस सेवा सुरु गरेको बताए ।
‘म पनि यसअघि विमानस्थलमा ट्याक्सीमा ठगिएको छु । ठगी रोक्नका लागि सटल बस सेवा सुचारु गरेको हुँ’ मन्त्री आलेले भने ।
विमानस्थलभित्र सञ्चालनमा रहेका ट्याक्सीले मनपरी भाडा लिँदा यात्रुहरू समस्यामा पर्दै आएका छन् । जहाजको भाडाभन्दा ट्याक्सी भाडा महँगो भएको सार्वजनिक गुनासो बढिरहेका बेला मन्त्री आलेले निःशुल्क सटल बस सञ्चालनमा ल्याउँदा खुसी लागेको त्यहाँ भेटिएका यात्रु रमेश बस्नेतको भनाइ छ ।
लगेजसहित गेटसम्म आउन समस्या हुने र पानी परेको बेला झनै गाह्रो हुने भएकाले महँगो शुल्क तिरी ट्याक्सी प्रयोग गर्नुपर्ने बाध्यतालाई सटल बसले अन्त्य गर्ने उनको अनुमान छ ।
विमानस्थलमा सटल बससँगै बुधबार नै विदेश जाने श्रमिकहरूलाई लक्षित गरी विश्रामकक्षसमेत सुरुआत भएको छ । अन्तर्राष्ट्रिय उडानका क्रममा लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने र यात्रुलाई विश्राम गर्ने ठाउँको अभाव भइरहँदा मन्त्री आलेको सक्रियतामा विश्राम कक्षको सञ्चालनमा ल्याइएको हो ।
तत्कालका लागि ३० जना बराबरको क्षमता रहेको सो कक्षमा तातो–चिसो पानीको व्यवस्था छ । साथै टेलिभिजन, निःशुल्क वाईफाई र टेलिफोनको पनि सुविधा छ । विमानस्थलमा कुनै समस्या भएमा सीधै महाप्रबन्धक, महानिर्देशक वा पर्यटन मन्त्रीलाई जानकारी गराउन सकिने व्यवस्था गरिएको बताइएको छ ।
विशेष गरी देशमा रेमिट्यान्स भित्र्याएर अर्थतन्त्रमा उल्लेख्य योगदान गरेका श्रमिकका लागि यसअघि विश्राम गर्ने कक्ष थिएन । यही गुनासोलाई सम्बोधन गर्दै अबको एक महिनाभित्र करिब २०० जनासम्म अट्ने हल निर्माण गर्न लागिएको पर्यटनमन्त्री आलेले कार्यक्रमबीच सुनाए । उनको भनाइअनुसार, विश्रामसँगै केही बेड तयार गरी टाढाका यात्रुलाई सुत्ने व्यवस्थासमेत गर्न लागिएको छ ।
मन्त्री आलेले यसअघि विदेश जाने श्रमिकलाई पीसीआर परीक्षण गरेबापत लिइने चर्को मूल्यको अन्त्यसमेत गरेका थिए । अब पीसीआर परीक्षण गर्दा प्रतिव्यक्ति २ हजार रुपैयाँ लिने गरेकोमा त्यसलाई घटाएर १२०० रुपैयाँ गराउन निर्देशन दिएसँगै कार्यान्वयनमा आएको थियो ।
तर, अहिले त्यसलाई अझै घटाउन सकिन्छ कि भनी होमवर्कसमेत भइरहेको बताएका छन् ।