काठमाडौं । सेयर बजार घटाउने बढाउने खेलले कारोबार रकम खुम्चिएको छ । जसले बुधबार ४० दिन यताकै न्यून कारोबार भएको छ । बुधबार २ अर्ब ७४ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच हुँदा ५३ लाख १० हजार कित्ता कारोबार भएको छ ।
यसअघि गत कात्तिक ७ गते ४९ लाख ८१ हजार ५०० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७४ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसयता पनि कारोबार रकम बढेर ७ अर्ब ७६ करोड रुपैयाँसम्म सेयर किनबेच भएको छ ।
कात्तिक ७ गते सेयर बजार सूचक पनि घट्दै गएर २५८४ अंकमा खुम्चिएको थियो । यद्यपि यो कात्तिक ७ गते पछिल्लो न्यून विन्दु २४८१ बाट उठ्दै गरेको बेला थियो ।
बुधबार सेयर बजारमा उतारचढाव भने कायमै रह्यो । कारोबारको मध्य समयमा २६४९.९९ अंकसमम चढेको बजार घट्दा भने २६२८.४८ विन्दुसम्म झर्यो ।
यो साताको ३ दिनको कारोबार भन्दा बुधबार घट्ने र बढ्ने बीचको मार्जिन निकै खुम्चिएको छ । घटबढको सीमा २२ अंकभित्र सीमित रहेको बजार सूचक अन्तिम समयमा भने ५.२८ अंकले बढेर २६३३. ६६ अंकमा रोकिएको छ ।
बुधबार कारोबार सुरु हुने बित्तिकै बढ्न थालेको बजार सूचक १५ मिनेटमा २६४६ अंकसम्म चढ्यो । तर, अर्को १५ मिनेटभित्र घटेर २६३१ अंकमा पुग्यो । फेरि आधा घण्टामा बुधबारकै उच्च विन्दु पहिल्यो भने फेरि घट्दै गयो ।
केही समयपछि बढ्न थालेको बजारले साढे १ बजेतिर पूर्व उच्च विन्दुलाई पछ्यायो । अन्तिम ३ मिनेटमा बजार बढेर बन्द भयो । कारोबार प्रवृत्ति कारोबार रकममा देखिएको संकुचन र लगानीकर्ताको मनोभावले बिहीबार बजारले केही सकरात्मक प्रभाव पार्न सक्छ ।
तर, जुन ढंगले प्रतिस्पर्धा र बजार खेलाउन खोजिएको छ । त्यसले बजार घट्ने दबाब पनि सिर्जना गर्ने छ । सामान्य बढेको बजारमा समलिङ पावर, न्यादी हाइड्रोपावरले सकारात्मक सर्किट लगाएर कारोबार गरेको दिन बुधबार ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने आइसीएफसी फाइनान्सको मूल्य सबैभन्दा बढी ५.६२ प्रतिशत घटेको बुधबारको कारोबारमा ८७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
बुधबार नेपाल टेलिकमको सबैभन्दा बढी १४ करोड ५३ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।