काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीलाई आग्रह गरेका छन् । उनले नेपालमा मोबाइल उत्पादन गर्न सरकारले सहयोग गर्ने भन्दै मोबाइल उत्पादनतर्फ ध्यान व्यवसायीलाई आग्रह गरे ।
मोबाइल वितरक संघको दोस्रो महाधिवेशनको उद्घाटन गर्दै मन्त्री शर्माले ‘मेरो मोबाइल कम्पनीले नेपालमा नै मोबाइल फोन उत्पादन गर्ने तयारी गरेको भन्ने मैले सुनेको छु । मेरो मोबाइल मात्र हैन तपाईंहरूले पनि फोन उत्पादनमा जोड दिनुस् । सरकारले गर्न सक्ने सहयोग गर्छ’ भने ।
यस्तै उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारी गराए ।
‘गत साउनबाट एमडीएमएस लागू भएको मलाई जानकारी आएको थियो । तर पूर्णरूपमा लागू नभएको कुरा मैले हिजो मात्र सुनें । एमडीएमएस लागू गर्न के समस्या भएको हो । तत्काल समाधान गरी लागू गर्न मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु’ शर्माले भने, ‘अवैध रूपमा हुने कारोबार र राजस्व चुहावट रोक्न सरकार सधैं तयार छ ।’
मोबाइल व्यवसायीहरूले अर्थ मन्त्रालयका कारण एमडीएमएस लागू गर्नमा ढिलाइ भएको कुराको खण्डन गरेका छन् । ‘तपाईंहरूले अर्थ मन्त्रालय र अर्थमन्त्रीका कारण एमडीएमएस लागू नभएको भन्नुभएको रैछ । सरकारलाई नोक्सान हुनेमा मैले कहिले सहयोग गर्दिनँ, तपाईं ढुक्क हुनुस् एमडीएमएस पूर्णरूपमा लागु हुन्छ’ उनले भने ।
मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले लामो समयको तयारीपश्चात् पनि एमडीएमएस पूर्णरूपमा लागू नहुनु दुःखद भएको बताए ।
‘व्यवसायीले एमडीएमएस छिटो लागू गर्न पटकपटक आग्रह गर्दै आएका छौं । गत साउनदेखि लागू गरियो भनियो तर अहिलेसम्म पूर्णरूपमा अवैध फोन नियन्त्रणमा आउन सकेको छैैन’ उनले भने, ‘हामी व्यवसाय गरी सरकारलाई कर बुझाउछौं । तर, बिनाकर बजारमा झन्डै आधा कारोबार अवैध हुँदा हामीले हेर्नेबाहेक केही गर्न सक्ने अवस्था भएन ।’
अग्रवालले तत्काल एमडीएमएस लागू नभए व्यवसायी मिलेर सरकारलाई तालाचाबी बुझाउनुबाहेक अरू विकल्प नभएको बताए ।
मोबाइल फोन व्यवसायीले सरकारले नियमन नगर्दा ५० प्रतिशत फोन भारत लगायतका देशबाट अवैध रूपमा भित्रने गरेको बताउँदै आएका छन् । पछिल्लो समय भएका अधिकांश आपराधिक गतिविधिहरू पनि अवैध फोनको सहयोेगमा भएको भन्दै व्यवसायीले तत्काल अवैध फोन नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने भन्दै गत साउनदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गरेको थियो । तर, सो सिस्टम पूर्णरूपमा लागू हुन सकेको छैन । प्राधिकरणले पुस १ गतेदेखि पूर्णरूपमा एमडीएमएस लागू गर्ने तयारी भएको जनाउँदै आएको छ ।