काठमाडाैं । एसियाली विकास बैंकको ऋण अनुदानमा कैलाली र कञ्चनपुरका चारवटा स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ ।
क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका गरी चारवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको हो । संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीले ती स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थान छनोट गरेर डीपीआर तयार गरी वातावरण प्रभाव मूल्यांकन स्वीकृतका लागि विभागमा पठाएको छ । वातावरण मन्त्रालयले सो प्रतिवेदन स्वीकृत गरेर आएपछि निर्माणको प्रक्रिया सुरु गरिने संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमख प्रविन शाहले जानकारी दिए ।
धनगढी उपमहानगरपालिका–७ मा निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भई बोलपत्र आह्वान भइसकेको छ । त्यसको लागत अनुमान १ अर्बको रहेको जनाइएको छ । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा सामुदायिक वनभित्र एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि डीपीआर तथा वातावरणीय प्रभाव मूल्यांकनको काम सम्पन्न भइसकेको छ । मन्त्रालयले सो स्थानमा केन्द्र निर्माणका लागि पुनःवातावरणीय प्रभाव मूल्यांकन गर्न भनेपछि सो काम पनि सम्पन्न गरी मन्त्रालयमा पठाइएकोे आयोजना प्रमुख शाहले बताए ।
गोदावरीमा बन्ने उक्त केन्द्रको लागत ६० करोड रहेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गा प्राप्त भइसकेको छैन । सो नगरपालिकाले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गा खोजिरहेको र जग्गा प्राप्तिपछि लागत अनुमान तयार गरिने आयोजनाले जनाएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि डीपीआर र वातावरणीय प्रभाव मूल्यांकनको काम सम्पन्न भई बोलपत्र स्वीकृत भएको छ ।
उक्त केन्द्रको लागत ५३ करोड रहेको जनाइएको छ । ११ अर्बको लागतमा कैलाली र कञ्चनपुरमा अत्याधुनिक सहरी सडक र एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने गरी क्षेत्रीय सहरी विकास आयोजना लागू गरिएको हो । केन्द्र निर्माण भएपछि कुहिने र नकुहिने फोहरलाई छुट्याई मेसिनको सहायताले प्रशोधन गरी कम्पोष्ट मल एवम् बायोग्यास उत्पादन गर्नका लागि पक्की संरचना निर्माण गरिने बताइएको छ ।
एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणपछि रोजगारीसँगै नगरपालिकाको राजस्वसमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।