काठमाडौं । प्रदेश तथा केन्द्र सरकारले एउटै सुरुङ मार्गमा दुई–दुईपटक अध्ययन गरी फरक–फरक रकम खर्चिएको खुलेको छ ।
प्रदेश १ सरकारले धरान–धनकुटा सडकखण्डअन्तर्गत धरान–लेउती सुरुङमार्गका लागि १७ लाख रुपैयाँ खर्चिएर प्रारम्भिक चरणको अध्ययन गरेको थियो । त्यही सुरुङमार्ग अध्ययन गर्न केन्द्र सरकारअन्तर्गतको सडक विभागले ३० लाख १५ हजार रुपैयाँ खर्च गरेको खुलेको हो ।
प्रदेश सरकारले सुरुङमार्गको प्रारम्भिक चरणको अध्ययनका लागि ‘सितारा कन्सल्ट्यान्ट ललितपुर’ लाई जिम्मेवारी दिएको थियो । सितारा कन्सल्ट्यान्टले सन् २०१९ को नोभेम्बरमा प्रारम्भिक चरणको अध्ययन प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकेको छ । तर, केन्द्र सरकार अन्तर्गतको सडक विभागले भने चालू आर्थिक वर्षको असारबाट सोही सुरुङमार्गको प्रारम्भिक चरणकै अध्ययनका लागि ‘टीएमएस ईआई इलेभेन जेभी’ लाई जिम्मा दिएको जनाएको छ ।
एउटै सुरुङमार्गमा प्रदेश र केन्द्र सरकारबाट किन छुट्टाछुट्टै अध्ययन भएको ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ दुवै निकायले दिन सकेका छैनन् । प्रदेश १ सरकारले गराएको अध्ययनमा सुरुङमार्ग निर्माणका लागि १५ अर्ब लगानी लाग्ने अनुमान गरिएको थियो । तर, सो रकम प्रदेश एक्लैले खर्च गर्न सक्ने अवस्था नरहेपछि केन्द्र सरकारले गर्नुपर्ने प्रदेश सरकारको भनाइ छ ।
यता केन्द्र सरकारले भने प्रदेश सरकारसँग समन्वय नै नगरी झन्डै दोब्बर रकम खर्च गरेर पुनः अध्ययन थालेको छ ।
भौतिक पूर्वाधार मन्त्रालय प्रदेश १ का सूचना अधिकारी ओमप्रकाश साह भन्छन्, ‘पहिले अध्ययन प्रदेश सरकाले गरेको हो । दुईपटक अध्ययन हुनु भनेको आपसी समन्वय नभएर हो ।’
त्यस्तै सोहि विषयमा सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) सौरभ बज्राचार्य भन्छन्, ‘मलाई प्रदेश सरकारले अध्ययन गरेको छ भन्ने थाहा थिएन । हाम्रो कुरा प्रदेशलाई थाहा हुन्छ तर । उनीहरूको कुरा हामीलाई थाहा हुँदैन । प्रदेशले रातो किताब आफैंले तयार गर्छ र बनाउँछ । हामीले बजेटमा आउने विषयमा काम गर्छौं । तर, दोहोरियो भन्ने कुरा हामीलाई थाहा हुँदैन ।’
सितारा कन्सल्ट्यान्टले बुझाएको प्रतिवेदन अनुसार सुरुङमार्ग धरानको ब्रिटिस क्याम्पबाट सुरु भएर मूलघाट नजिकै टुंगिने छ । सो कन्सल्ट्यान्टले प्रदेश सरकारलाई धरान–लेउती–सुरुङमार्गका लागि ४ वटा विकल्पसहित प्रतिवेदन बुझाएको सूचना अधिकारी साह बताउँछन् । उक्त प्रतिवेदनअनुसार प्रतिकिलोमिटर सुरुङमार्ग बनाउन ३ अर्ब ५ करोड रुपैयाँ लागत लाग्छ ।
४ वटा विकल्पमा सबैभन्दा कम लम्बाइको ३.५१ किमि सुरुङ निर्माण गर्न १५.१४ अर्ब रुपैयाँ, ४.१६ किमिका लागि १४.८२ अर्ब र ४.३१ किमिका लागि १५.१४ अर्ब लागत लाग्ने सितारा कन्सल्ट्यान्टले जनाएको थियो । यस्तै अन्तिम विकल्पमा ५ किमि सुरुङ निर्माण गर्न १७.९३ अर्ब रुपैयाँ लागत लाग्ने बताएको थियो । यसरी हेर्दा सितारा कन्सल्ट्यान्टले ३.५१ देखि ५ किमि लम्बाइको सुरुङमार्ग बन्ने अनुमान गरेको थियो ।
‘टीएमएस ईआई इलेभेन जेभी’ ले गरेको अध्ययनले पनि धरान–लेउती सुरुङमार्गको लम्बाइ साढे ४ देखि ५ किलोमिटर हुने जनाएको बज्राचार्य बताउँछन् । तर, कोरोना संक्रमणका कारण जेभीले सम्पूर्ण अध्ययनको प्रतिवेदन सडक विभागलाई बुझाउन सकेको छैन ।
४ महिनाभित्र सुरुङको प्रारम्भिक चरणको अध्ययन गर्ने सम्झौतामा काम सुरु भए पनि कोरोनाका कारण अध्ययन प्रक्रिया समयमा सम्पन्न नभएको सिडिई बज्राचार्यले बताए । उनका अनुसार टीएमएस जेभीसँग विभागले ३० लाख १५ हजार रुपैयाँमा अध्ययन सम्पन्न गर्न सम्झौता गरेको छ ।
तर, टीएमएस जेभीले सुरुङमार्गको लागत भने हालसम्म टुंगो लगाएको छैन । क्यापिटल नेपालसँग कुरा गर्दै सिडिई बज्राचार्य भने, ‘अहिले प्रारम्भिक चरणको अध्ययन हुँदैछ । सम्पन्न भएको छैन । सुरुङसँगै सडकको पनि आवश्यकता पर्छ । त्यसैले लागतको अनुमान डिटेल डिजाइन नभई हुँदैन । लम्बाइ पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदासम्म परिवर्तन हुन सक्छ ।’
प्रारम्भिक चरणको अध्ययन गर्दै आएको जेभीले विभागलाई ५ वटा अलाइनमेन्ट प्रपोजलसमेत दिएको छ । यी प्रपोजमा छलफल गरेर विभागले एउटामा काम गर्न सुझाव दिनुपर्छ । तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको महाधिवेशनका कारण छलफल रोकिएको उनको भनाइ छ ।
‘हामीले अध्ययनमा रहेको कम्पनीलाई सुझाव दिन धरानका स्थानीय तहसँग पनि छलफल गर्नुपर्ने हुन्छ । अहिले एमालेको महाधिवेशनले राजनीतिक स्थिति सजिलो छैन । विभागले त्यहाँ जाने तयारी गर्दैछ । केही दिनमा जान्छौं होला’ बज्राचार्यले भने ।
चालू आर्थिक वर्षमा अर्थमन्त्रालयले धरान–लेउती सुरुङमार्ग निर्माणका लागि भनेर ५ करोड र अध्ययनका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोनाका कारण जेभीलाई अध्ययन गर्ने मिति आगामी चैतसम्म समय थपिएको विभागले जनाएको छ ।
धरान–धनकुटा सडकखण्डको कूल लम्बाई ७८ किमी रहेको छ । यातायात पूर्वाधार निर्देशनालय प्रदेश १ का प्रमुख रेवतीरमण पराजुली भन्छन्, ‘सितारा कन्सल्ट्यान्टले गरेको प्रारम्भिक अध्ययनअनुसार सुरुङमार्ग निर्माण भएमा धरान–धनकुटा सडकखण्डको करिब २० किलोमिटर दूरी घट्छ ।’