काठमाडौं । बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने औद्योगिक क्षेत्रतर्फ कर्जा २५.७ प्रतिशतले वृद्धि भएको छ । बागमती प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा मात्रै ८ खर्ब ९६ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
गत वर्ष यस्तो कर्जा २२.८ प्रतिशतले वृद्धि भई ७ खर्ब १२ अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७.७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ७ खर्ब ७१ अर्ब ६ करोड रुपैयाँ रहेको छ । यो कुल ऋण लगानीको ८६.० प्रतिशत हो । सबैभन्दा कम रसुवा जिल्लामा रहेको छ । रसुवामा ४६ करोड रुपैयाँ अर्थात ०.१ प्रतिशत मात्र लगानी रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ४१.१ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा कम खानी उत्पादन सम्बन्धी उद्योगमा १४.८ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, विद्युत, ग्यास तथा पानीमा ३२.५, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ३७.७, निर्माणमा १९.१ र गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा २०.८ प्रतिशतले कर्जा बढेको छ ।
प्रसारणलाइन र सबस्टेसनको कमीले एकातिर उद्योगले मागेजति विद्युत नपाउने र अर्काेतिर उत्पादित विद्युत खेर जाने अवस्था रहेकाले प्रसारणलाइन पूर्वाधार निर्माण गरी उत्पादन बढाउन सक्ने सम्भावना रहेको राष्ट्र बैंकले औल्याएको छ ।
नेपालमा पुँजी बजारतर्फको आकर्षण बढदै गएको तथा अनलाइनमार्फत लगानी गर्न सकिने भएकोले ठूला उद्योगहरुले अनलाइनमार्फत पुँजी वृद्धि गरी थप उत्पादन बढाउन सक्ने सम्भावना रहेको राष्ट्र बैंकले औल्याएको छ । प्रदेशमा जनघनत्व बढी भएका कारण औद्योगिक उत्पादन बजारीकरणको सम्भावना उच्च रहेको छ ।