काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको तेस्रो दिन पनि घटेर कारोबार बन्द भएको छ । यद्यपि मंगलबार घटाइको दर भने झिनो छ । सोमबारको तुलनामा १.६४ अंकले घटेर नेप्से सूचक २६२८.३७ अंकमा झरेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेपछि आइतबारबाट घट्न थालेको बजारको मार्जिन भने कम हुँदै गएको छ ।
यद्यपि सोमबार र मंगलबार कारोबारको सुरुवाती चरणमा अघिल्लो दिनको तुलनामा बढेर कारोबार हुने र मध्य समयमा घट्ने र अन्तिममा तुलनात्मक रुपमा फेरि बढ्ने तर सोही दिनको अघिल्लो उचाइलाई नछुने प्रवृत्ति देखाएको छ ।
खासगरी मौद्रिक नीति समीक्षामा सेयर कर्जा धितोको एक ग्राहक कर्जा सीमा परिवर्तन नभएपछि लगानीकर्ताहरु आक्रोशित देखिएका थिए । आइतबार ८७ अंकसम्म घटेको बजार ८० अंकमा खुम्चिएको थियो भने सोमबार आइतबारको तुलनामा २८ अंकले बजार सूचक बढे पनि कारोबार रोकिँदा २१ अंकले घटेको थियो ।
यस्तै अवस्था मंगलबार पनि देखिएको छ । कारोबारको सुरुमै १८ अंक बढेर २६४८ पुगेको नेप्से त्यसपछि निरन्तर घटेर कारोबार भयो । यद्यपि बीचबीचमा बढ्ने कोसिस गर्यो । तर, पौने २ बजेदेखि बजार उकालो लाग्यो । २६४० अंकसम्म चढ्यो । त्यसपछि फेरि घटेर २६२१ मा अडिएको बजार कारोबार बन्दा हुँदा २६२८.३७ मा रोकिएको छ ।
कारोबार प्रवृत्ति र कारोबार रकमले लगानीकर्ताहरु घट्दो मूल्यमा सेयर बिक्री गर्न हिच्किचाहेका छन् । परिणामस्वरुप कारोबार रकम घटेर ३ अर्ब ८ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ ।
यो सोमबारको तुलनामा ५० प्रतिशतभन्दा बढी घटेको हो भने आइतबारको तुलनामा झण्डै सतप्रतिशतले कम हो । यसबाट सीमित समूहहरु खेलाइखेलाइ बजार घटाउन तल्लिन छन् भन्ने प्रष्ट हुन्छ ।
तर, बहुसंख्यक लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । खासगरी सेयर धितो राखेर ठूलो ऋण लिने समूहको विपक्षमा साना लगानीकर्ताहरु देखिन्छन् । जसले बजार विश्लेषक र ठूला लगानीकर्ताले भनेको जस्तो घट्न खोजिरहेको छैन ।
३ दिनको कारोबार र नेप्से सूचकको प्रवृत्ति हेर्दा बुधबार बजारले सकारात्मक बाटो देखाउने संभावना छ । यद्यपि पछिल्ला ३ दिनको लगानीकर्ताको मनोभावलाई नियाल्दा अझै बजार घटाउन प्रयास भने हुनै नै देखिन्छ ।
मंगलबार सेयर बजार सूचक घटाउन ८६ कम्पनीले मद्दत गरेका छन् । सबैभन्दा बढी इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ४.७७ प्रतिशतले मूल्य घटेको छ । मंगलबार सेयर मूल्य घट्नेभन्दा बढ्ने कम्पनीहरुको सूची धेरै छ ।
८९ कम्पनीहरुको सेयर मूल्य बढ्दा समलिङ पावर र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेर कारोबार भएको छ । सूचक स्थिर राख्न भूमिका खेलेका १४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सबैभन्दा बढी आईसीएफसी फाइनान्सको १६ करोड २ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।