बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम बढाउने चेतावनी दिएको छ ।
याे भेरियन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने डब्लूएचओले बताएको हो । संगठनका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशमा खोप पठाउनका लागि पुनः आह्वान गरेका छन्।
दक्षिण अफ्रिकी क्षेत्रबाट आउने यात्रुलाई नेपालमा अनिवार्य क्वारेन्टिन राख्ने भनिएकाे छ । ओमिक्रोन भेरियन्ट यसै महिनाको सुरुवातमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । र, प्रारम्भिक प्रमाणले यसको संक्रमणकाे जोखिम धेरै रहेको बताइएको थियो। उक्त भेरियन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको छ ।
अध्ययन हुँदै
सोमबार बोल्दै डाक्टर टेड्रोसले विश्वभरका वैज्ञानिकले नयाँ भेरियन्ट उच्च सङ्क्रामक छ वा छैन, पुनः संक्रमण हुने खतरा कति छ र खोपले कति काम गर्छ भनेर पत्ता लगाउन काम गरिरहेको बताए ।
'ओमिक्रोनले अब काेभिड सकियाे भन्ने हाम्राे साेचलाई एकपटक पुनः झस्काएकाे छ' उनले भने । नयाँ भेरियन्टका कारण कसैको ज्यान गएको भन्ने अहिलेसम्म नपाइएको पनि उनले बताए ।
यो नयाँ भेरियन्ट युके, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डस्लगायत थुप्रै देशमा देखिइसकेको छ। नयाँ भेरियन्ट देखापरेपछि अमेरिका, बेलायत र युरोपेली संघले दक्षिण अफ्रिकी देशका नागरिकमाथि यात्रा गर्न प्रतिबन्ध लगाएको छ।
उक्त निर्णयको दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आलोचना गरेका छन् । जापानले नयाँ विदेशी पर्यटकलाई मंगलबार रातिदेखि सीमा बन्द गरिने घोषणा गरेको छ । अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ ।
अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी एवम् दक्ष कामदार बुधवारबाट पुनः जान पाउने भनिए पनि अब फेरि डिसेम्बर १५ तारिखसम्मका लागि पर सारिएको छ।
इजरायलले पनि विदेशीलाई देश प्रवेशमाथि प्रतिबन्ध लगाएको छ । बेलायतमा ओमिक्रोनको नयाँ लहरलाई रोक्न मद्दत पुगोस् भनेर १८ वर्षमाथिका सबैलाई कोभिडको बुस्टर खोप दिन थालिएको छ ।
अमेरिकी राष्ट्रपति बाइडनले पनि आफ्ना सबै नागरिकलाई बुस्टर खोप लगाउन भनेका छन्। उनले घरभित्र बस्दा पनि मास्क लगाउन आह्वान गरेका छन् । तर, अमेरिकामा थप यात्रा प्रतिबन्ध लगाइने वा लकडाउन हुने कुनै अनुमान नगरिएको बताए ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार सन् २०२० मा विश्वव्यापी महामारी सुरु भएयता विश्वभरि २६ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । यस्तै ५० लाखको ज्यान गइसकेकाे छ ।