एजेन्सी । कार्बन उत्सर्जन घटाउन चर्को दबाब पर्न थालेपछि विश्वका ठूला अटो कम्पनीहरूले धमाधम विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) उत्पादनतिर आफ्नो ध्यान केन्द्रित गरेका छन् । पछिलो समय अटो कम्पनीले विद्युतीय गाडीको उत्पादनमा धमाधम लगानी बढाउन थालेका हुन् ।
जापानका ठूला अटो कम्पनी निसान र टोयोटा मोटर्सले विद्युतीय गाडी उत्पादनको योजना सार्वजनिक गरेका छन् ।
अटो निर्माता निसान मोटर कम्पनी लिमिटेडले आगामी पाँच वर्षमा आफ्नो ‘एम्बिसन २०३०’ को ग्रान्ड योजनाअन्तर्गत १७ अर्ब ६० करोड अमेरिकी डलर विद्युतीय गाडीको क्षेत्रमा लगानी गर्ने घोषणा गरेको छ ।
कम्पनीले उक्त लगानी नयाँ इलेक्ट्रिक भेहिकल (ईभी) तथा ब्याट्री प्रविधि विकासमा खर्च गर्नेछ ।
कम्पनीले २०३० सम्म १५ वटा नयाँ ईभी विकास गर्ने घोषणा गरेको हो ।
कम्पनीले उक्त अवधिसम्म आफ्नो आधा उत्पादनलाई विद्युतीकरण गर्ने लक्ष्य लिएको छ । कम्पनीले आगामी ८ वर्षमा २३ वटा विद्युतीय वाहन विकास गर्ने र त्यसमा पनि २० वटा आगामी पाँच वर्षभित्रमै विकास गरिसक्ने बताएको हो । कम्पनीले २०३० सम्म विद्युतीय सवारी मिश्रित बजार विकास गर्ने बताएको हो ।
जसमध्ये युरोपको बजारलाई ७५ प्रतिशत विद्युतीय गर्ने लक्ष्य लिएको छ । यसैगरी जापानको बजारलाई ५५ प्रतिशत, ४० प्रतिशत अमेरिका र चीनलाई विद्युतीय गर्ने योजना लिएको हो ।
कम्पनीले विद्युतीय बाहेकका अन्य गाडीलाई भने इन्टरनल कम्बसन इन्जिन (आईसीई) गाडीकाे रूपमा विकास गर्ने बताएको छ । २०३० सम्ममा सबै गाडीलाई विद्युतीयकरण गरे पनि निसानको हकमा आईसीई भेहिकल उसको ‘लिगेसी मोडल’ हो ।
निसानले आफ्ना सबै ईभीहरू सन् २०२८ सम्म अल सलिड स्टेट ब्याट्री (एएसएसबी) का साथ सार्वजनिक गर्ने बताएको छ । कम्पनीले २०२४ को सुरुवातमा योकोहामा सहरमा यसको पाइलट परीक्षणसमेत गर्ने बताएको छ । यो प्रविधिमा बनेका ब्याट्रीहरू एकदमै चाँडो चार्ज हुन्छन् ।
साथै, कम्पनीले २०२८ सम्म ब्याट्री प्याकको मूल्य पनि प्रति किलोवाट आवर ७५ डलरबाट ६५ डलरमा घटाउने अपेक्षा गरेको छ । ब्लुमबर्गका अनुसार ब्याट्रीको सो नयाँ मूल्य २०२० को तुलनामा आधाले सस्तो हुनेछ ।
यसबाहेक कम्पनीले आफ्नो प्रोपाइलट ड्राइभर असिस्टेन्स प्रविधिलाई निसानका २५ लाख युनिट र इन्फिनिटी भेहिकलमा विस्तार गर्ने योजना लिएको छ । कम्पनीले २०३० सम्म आफ्नो प्रत्येक नयाँ मोडलमा नयाँ जेनेरेसनको एलआईडीआर सिस्टम पनि प्रयोग गर्ने बताएको छ ।
निसानको पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्लोस घोस्नको गिरफ्तारीमा लगातारको लडाइँजस्ता आन्तरिक द्वन्द्वका बीच कम्पनीले नयाँ योजना ल्याएको हो ।
यसबाहेक महंगा, प्रिमियम फ्लेगसिप गाडीहरूको निर्माणकर्ता कम्पनी टोयोटा मोटर कम्पनीले पनि विद्युतीय गाडीको रेसमा प्रवेश गरेको छ । टोयोटाले भर्खरै आफ्नो पहिलो अल इलेक्ट्रिक भेहिकल बीजेडफोरएक्स, सार्वजनिक गरेको छ ।
यो पाँच सिट भएको प्यासेन्जर कम्प्याक्ट एसयूभी हो । टोयोटाको बीजेडफोरएक्सबारे चर्चा त अटो बजारमा लामो समयदेखि चलेको हो । तर, कम्पनीले भर्खरै जापानी बजार भर्सन बजारमा सार्वजनिक भएको हो ।
के हो टोयोटा बीजेडफोरएक्स ?
टोयोटाको बीजेडफोरएक्स पूर्णरूपमा विद्युती एसयूभी हो । यसको आकार कम्पनीको अत्याधिक बिक्री भएको एसयूभी कम्प्याक्ट र्याभ फोरको जस्तै छ । यस मोडलको नामको पछाडी रहेको बीजेडको अर्थ ‘यिबोण्ड जेरो’ हो । जसले २०५० सम्म कार्बन न्युट्रल हुने टोयोटाको उद्देश्यलाई जनाउँछ ।
टोयोटाको पहिलो ईभी भनिए पनि प्राविधिक रूपमा कम्पनीको यो नै पहिलो ईभी होइन । करिब एक दशकअघि कम्पनीले र्याभ फोर ईभी नामको विद्युतीय एसयूभी निर्माण गरेको थियो ।
यसैगरी कम्पनीले १९९७ मा पनि अर्को विद्युतीय भर्सन र्याभ फोर निर्माण गरेको थियो । तर, ती दुवै मोडल बजारमा सीमित उपलब्ध थिए । २०२३ को बीजेडफोरएक्स भने एकदमै अत्याधुनिक ईभी हुनेछ जुन मूलधारको आकर्षण बन्ने छ ।
कम्पनीले यस मोडललाई २०२२ को मध्यसम्मा बजारमा ल्याउने बताएको छ । यसको विस्तृत जानकारी भने अझै आउन बाँकी छ ।
टोयोटाले यो बजारमा एकदमै प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने बताएको छ ।
यसको मूल्य ४० हजार डलरको रेन्जदेखि सुरु हुन सक्ने कम्पनीको भनाइ छ ।