काठमाडौं । निजी क्षेत्रबाट प्रर्वद्धित ग्रीन भेन्चर लिमिटेडले निर्माण गरेको लिखु ४ जलविद्युत आयोजनाबाट व्यवसायिक रुपमा बिजुली उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको कम्पनीले जनाएको छ । आयोजना रामेछाप र ओखलढुङ्गाको सीमामा बग्ने लिखु नदीमा निर्माण भएको छ ।
आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । हाल आयोजनाबाट करिब ३५ मेगावाट बिजुली प्रसारण लाइनमा जोडिएको छ ।
उत्पादन गृहमा दुईवटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको छ । उत्पादित विद्युत २२० केभी प्रसारण लाइनमार्फत रामेछापको मन्थली नगरपालिका–६, खिम्तीमा निर्माण भएको न्यु खिम्ती सबस्टेसनमा जोडिएको छ ।
आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी र विशाल ग्रुपको लगानी छ । आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ ।
सुरुमा १२० मेगावाट क्षमतामा उत्पादन गर्नेगरी डिजाइन गरिएको लिखु–४ जलविद्युत आयोजनामा भारतीय कम्पनी भिलवारा ग्रुुप लिमिटेड नआउने भएपछि नेपालको ग्रिनभेन्चरले आयोजनाको क्षमता घटाएर काम थालेको हो । पहिला भारत निकासी प्रयोजनका लागि आयोजना १२० मेगावाटमा डिजाइन गरिएको थियो ।
आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । जसमा नबिलको १ अर्ब ४२ करोड, लक्ष्मी बैंक र ग्लोबल आइएमई बैंकले १ अर्ब २५ करोडका दरले लगानी गरेका छन । त्यस्तै एसबीआई र सनराइज बैंकले ११ अर्ब तथा प्रभु र सानिमा बैंकको ८५ ८५ करोड रुपैयाँ ऋण लगानी छ ।
कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
जलविद्युत कम्पनी ग्रीनले ६२ करोड ५० लाख रुपैंया बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिका–७, भुजी र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई बिमिरे भन्ने स्थानमा बाँध बनाई ४.२४ किलोमिटर लामो भूमिगत सुरुङमार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको छ ।
लिखु नदीमा आधा दर्जन आयोजना
लिखुको पानी प्रयोग गरी अन्य छ वटा आयोजनासमेत निर्माणाधीन छन । लिखु १, २, ३ र लिखु ए आयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको छ । यो वर्ष विद्युत उत्पादनमा नयाँ रेकर्ड कायम हुने भएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आइसकेको छ ।