काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि फैलन सक्ने संभावित अवस्थालाई मध्यनजर राखेर सरकारले अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाएको छ ।
त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश नदिने व्यवस्था गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको गृहका प्रवत्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।
उनका अनुसार निर्णय कार्यान्वयनका लागि पत्राचार भइसकेको छ । कोभिडको ओमिक्रोन भेरियन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टिन राख्ने निर्णय गरिएको हो ।
नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सीधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साताको क्वारन्टिन अनिवार्य गर्ने निर्णय भएको दक्षिण अफ्रिकी मुलुकमा देखिएको ओमिक्रोन भेरियन्ट अहिले अष्ट्रेलिया, नेदरल्याण्ड, बेलायत, हङकङ, बेल्जियम र इजरायलमा भेटिसकेको छ । अन्य मुलुकहरुमा पनि भेटिने संभावना बढेको छ । यस्तै छिमेकी भारतले पनि यसको रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउने निर्णय गरिसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ओमिक्रोनबाट सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै भेरिअन्ट अफ कन्सर्न घोषणा गरेपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन्।
नेपालले खोप नलगाई आउने यात्रुहरूलाई एक हप्ताको क्वारन्टिन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटल क्वारन्टिन अनिवार्य गरेको छैन। अहिले दक्षिण अफ्रिकामा बढी फैलिएको देखिए पनि यो अन्यत्र पनि फैलिएको हुनसक्ने सम्भावना छ।
युरोपियन सङ्घअन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले सोमबारबाट अधिकांश दक्षिण अफ्रिकी मुलुकहरूबाट हुने उडानहरूमा रोक लगाउने निर्णय गरिसकेका छन्। दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुहरूमा प्रवेशमा रोक लगाइएको छ।
अमेरिकाले पनि सोमबारबाट लागु हुने गरी दक्षिण अफ्रिकाका ७ देशबाट आउने आफ्ना नागरिक बाहेकका यात्रुलाई प्रतिबन्ध लगाएको छ।
जापानले अधिकांश दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई अनिवार्य १० दिन क्वारन्टिनमा राख्ने निर्णय गरेको छ। छिमेकी भारतले दक्षिण अफ्रिका र हङकङ सहितका देशहरूबाट आउने यात्रुहरूमाथि निगरानी बढाउन निर्देशन दिएको छ। इरानले ६ वटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ।
ब्रजिलले पनि ६ वटा दक्षिण अफ्रिकी देशहरूबाट आफ्नो देशमा हुने यात्रामा प्रतिबन्ध लगाएको जनाएको छ। क्यानडाले दक्षिण अफ्रिकी देशहरूमा विगत १४ दिनको अवधिमा यात्रा गरेका विदेशीहरूलाई प्रवेशमा रोक लगाएको छ। थाइल्यान्डले ८ वटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ।
अस्ट्रेलियाले अफ्रिकी देशहरूसँगको उडान १४ दिनका लागि बन्द गरेको छ। अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् । पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका छन् ।
इटालीको दक्षिणी क्याम्पानिया क्षेत्रका एक नागरिकमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट को पहिचान गरिएको इटालियाली अधिकारीलाई उद्धृत गरी यहाँको सरकारी समाचार संस्था (आन्सा) ले जनाएको छ । सङ्क्रमित व्यक्ति ‘केही दिन पहिले’ मोजाम्बिकबाट मिलान फर्केका बताइएको छ ।
इटालियाली स्वास्थ्य मन्त्री रोबर्टो स्पेरान्जाले विगत १४ दिनमा दक्षिण अफ्रिका, लेसोथो, बोत्स्वाना, जिम्बाबे, मोजाम्बिक, नामिबिया, एस्वाटिनी र मलावीको भ्रमण गरेका मानिसहरूमाथि यात्रा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।
हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी गरिएको छ ।
बेलायत आउने हरेक यात्रुले दुई दिन मात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पिसिआर टेष्ट गरिन थालिएको छ । यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस पोजेटिभ देखिएमा आफै आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछि मात्र बाहिर निस्किन पाउने बताइएको छ ।
हालै अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि इजरायलले आफ्ना नागरिकलाई अफ्रिकी देशहरुको भ्रमणमा प्रतिबन्ध लगाएको छ ।प्राप्त समाचारहरुमा इजरायलले हाल कुनै थप प्रतिबन्धहरुको घोषणा गरेको त छैन तर हालका लागि अफ्रिकी देशहरुको भ्रमणमा आफ्ना नागरिकहरुलाई रोक लगाएको जनाएको छ ।
इजरायलले सातवटा अफ्रिकी देशलाई रातो सूचीमा राखेर ती देशको यात्रामा प्रतिबन्ध गरेकामाा शनिबार सबै अफ्रिकी देशमा नजान आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको हो । त्यस्तै इजरायलले हाल करिब ५० ओटा अफ्रिकी देशहरुमा रहेका आफ्ना नागरिकहरुलाई पनि स्वदेश फर्किन भनेको छ ।
हालै अफ्रिकामा देखिएको यो भेरिएन्ट अहिलसम्मकै सबैभन्दा बढी खतरनाक पाइएको अनुसन्धानबाट देखिएको छ । यो भेरिएन्ट देखिएपछि यसको अनुसन्धान सुरु भएको बताइएको छ ।
(एजेन्सीहरुको सहयोगमा)