काठमाडौं । शुक्रबार गरिएको मौद्रिक नीतिको त्रैमासिक समीक्षाको असर आइतबारको सेयर बजारमा परेको छ । धेरैले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सेयर धितोको एकल ग्राहक कर्जा सीमा परिवर्तन गर्ने अपेक्षा गरेका थिए । तर, समीक्षले यो प्रावधानलाई नछोएपछि आइतबार बजार सूचक सम्हालिन खोज्दा खोज्दै पनि निरन्तर ओरालो लागेको छ ।
कारोबार सुरु हुँदा २७३१ बिन्दूबाट ओरालो यात्रा समातेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ८० अंकले घटेर २६५१.४९ अंकमा रोकिएको छ । कारोबारको बीच-बीचमा बजार केही उक्लिने कोशिस भने पटक पटक भएको थियो । तर, अन्तिम समयमा बजार सूचक ८६ अंकसम्म झरेकोमा कारोबार बन्द हुँदा घट्ने मार्जिन कम गर्दै बजार बन्द भएको हो ।
यसले सोमबारको बजारमा सकारात्मक सन्देश दिन सक्छ । त्यसलाई आइतबारको कारोबार रकमले पनि साथ दिएको छ । आइतबार ५ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा गत साताको भन्दा धेरै हो । गत साताको आइतबार सबैभन्दा धेरै ४ अर्ब २४ करोड मात्रै कारोबार भएको थियो ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितोको कर्जा प्रतिवित्तीय संस्था ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड दिन पाइने व्यवस्था गरेको थियो । यो व्यवस्था खारेजीको माग गर्दै एकथरी लगानीकर्ताहरु आन्दोलनमा समेत होमिएका थिए ।
उनीहरुले गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै धर्नासमेत बसेका थिए । तर, दुवै निकाय टसमस नभए पछि लगानीकर्ताहरुको आन्दोलन त्यसै तुइएको थियो । त्यसपछि सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरुमा एकल ग्राहक कर्जा सीमा परिवर्तन हुने हल्ला पिटाएर प्रभावित बनाउन खोजेका थिए । अन्तत मौद्रिक नीति समीक्षाले लगानीकर्ताको कर्जा सीमा सम्बन्धी व्यवस्थालाई नछोइकन तरलता व्यवस्थापनमा ध्यान दिएको संकेत गर्दै कर्जा निक्षेप अनुपात लागू गर्न झन कडा नीति लिएको छ ।
यसअघि नै असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था रहेकोमा मौद्रिक नीति समीक्षाले सीडी रेसियो कार्यान्वयन सम्बन्धी प्रस्ताव वित्तीय संस्थाको सञ्चालक समितिबाट पास गराएर केन्द्रीय बैंकमा बुझाउनु पर्ने व्यवस्था गरेको छ ।
यद्यपि, राष्ट्र बैंकले तरलता व्यवस्थापनमा सहजीकरण गर्न आयातलाई निरुत्साहन नीति लिएको छ । तर, यो नीतिले पनि साना आयातकर्तालाई समस्यामा पार्ने हो । ठूला व्यापारीलाई भने खासै असर गर्दैैन । खासगरी, गैरआवसीय नेपालीहरुलाई डलर खाता खोल्न सहजीकरण गर्ने, विदेशी कम्पनीबाट ऋण लिन प्रोत्साहन गर्ने, चाँदी आयातलाई निरुत्साहित गर्ने जस्ता नीतिले निक्षेपलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । कर्जा निरुत्साहन र निक्षेप प्रवद्र्धन भएको अवस्थामा सीडीको व्यवस्थापन सहज हुने र त्यसले समग्र तरलता व्यवस्थापनलाई सजिलो बनाउँदा सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने सम्भावना हुन्छ ।
बजार घट्न आइतबार १८२ कम्पनीले सहयोग गरेका थिए । यद्यपि, सबैभन्दा बढी मूल्य घट्ने कम्पनीको सूचीमा हिमालयन पावर पार्टनरको मूल्य ८.४९ प्रतिशतले घटेको छ । घट्दो बजारमा पनि ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक प्रभाव पर्दा आइसीएफसी फाइनान्स र सामलिङ पावरको सेयर मूल्यमा भने उछाल आएको छ । आइसीएफसीको ९.७८ र सामलिङको ८.२१ प्रतिशतले मूल्य बढेको छ । उता महालक्ष्मी विकास बैंकको सेयर सबैभन्दा धेरै २९ करोड ८१ लाख ९१ हजार रुपैयाँ बरारबको कारोबार भएको छ ।