काठमाडौं । खर्च जोगाएर नाफा बढी कमाउन ठेकेदारले ‘स्काफोल्डिङ’ को गलत अभ्यास गर्दा पुल बनिनसक्दै भत्किने गरेको तथ्य फेला परेको छ ।
एकपटक बनेको पुलको आयु कम्तीमा ५० वर्ष हुनुपर्नेमा स्काफोल्डिङको गतल अभ्यास गर्दा बनिनसक्दै पुल भत्किने गर्छन्', नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर त्रिरत्न बज्राचार्य भन्छन्, 'पुल कमजोर हुनुको प्रमुख कारण स्काफोल्डिङ नै देखिएको छ ।'
स्काफोल्डिङ भनेको पुल ढलानभन्दा पहिले कंक्रिट अड्याउनका लागि लगाइने टेको हो । योसँगै फर्माको पनि प्रयोग गरिन्छ । ढलानका लागि तयार पारिएको कंक्रिट गिलो हुन्छ । ढलानपछि नसुक्दासम्म यो अडिन सक्ने अवस्थामा हुँदैन । राम्ररी सुक्न करिब २८ दिन लाग्छ । र, सुक्नका लागि यसलाई प्रशस्त पानी चाहिन्छ । कारण, सिमेन्ट र पानीबीचको रसायनिक प्रतिक्रिया (रियाक्सन) हुन्छ । सुरुमा कंक्रिटमा हालेको पानीले २४ घण्टासम्म काम गर्छ । त्यसपछि राम्ररी सेट हुनका लागि पुनः पानीले भिजाइरहनुुपर्ने हुन्छ ।
यो प्रक्रिया ७ दिनसम्म तीव्र रूपमा हुने अध्यक्ष बज्राचार्य बताउँछन् । हप्ता दिनपछि वातावरणमा भएको आद्रताले उक्त कार्य पूरा गर्न सहयोग गर्छ । त्यसैले ७ दिनपछि पानी कम हालिन्छ । गर्मी मौसममा भने वाष्पीकारण छिटोछिटो हुने हुनाले बेलाबेला पानी छम्किने गरिन्छ । यस्तै चिसोमा अलि ढिलो गरिन्छ । ढलान गरिसकेपछि पूर्ण रूपमा कडा नभएसम्म कंक्रिट, डन्डीलगायत सबैको लोड अड्याउन प्रयोग गरिने टेकोलाई नै प्राविधिक भाषामा स्काफोल्डिङ भनिन्छ ।
योसँगै बिमहरूको आकारप्रकार तय गर्न प्रयोग गरिने अर्काे प्रकारको टेकोलाई फर्मा भनिन्छ । तर, फर्मा पनि स्काफोल्डिङमै अडिने बज्राचार्य बताउँछन् । ‘समग्रमा भन्ने हो भने, स्काफोल्डिङले पुलको संरचना वा भारलाई थेग्ने काम गर्छ । पुल निर्माण होस् या अन्य जुनसुकै संरचना, ढलानका निम्ति स्काफोल्डिङको भूमिका महत्वपूर्ण छ । यसलाई ढलानको मेरुदण्ड पनि भन्न सकिन्छ’ उनले प्रस्ट्याए ।
स्काफोल्डिङको प्रत्येक टेकोमा कति लोड आउँछ ? टेकाको जगको अवस्था के छ ? यसको फाउन्डेसन कहाँ बनाइएको छ ? प्रत्येक टेकाले धान्न सक्ने लोड कति हो ? जस्ता कुराको आधारमा डिजाइन गरिनुपर्छ । ठाडो र तेर्साे गरी राखिएका टेकामा दुवै टेकालाई मिलाएर लगाउनुपर्ने हुन्छ । नत्र त्यो बांगिन्छ । यसकारण टेकाको धरातलमा विशेष ध्यान दिनुपर्ने सुझाव उनको छ ।
‘टेकोभन्दा मुनिको भागमा अग्लो गरी माटोले पुरेर स–साना टेका लगाइन्छ, मुख्य समस्या यही नै हो । यसरी माटो थुपारेर स्काफोल्डिङ गर्दा टेकामा बढी लोड परेर भरान गरिएको माटो भासिन सक्छ । र, ढलान गर्दागर्दै पुल भत्किन सक्छ’ अध्यक्ष बज्राचार्य बताउँछन् ।
नेपालमा यसरी नै पुल निर्माण भइरहेका छन् । जुन एकदमै गलत अभ्यास हो । माटो थुपारेर पुलमा मात्रै होइन नदीको प्राकृतिक बहावलाई पनि असर पुर्याउँछ । साथै नदीले गहिरो खाल्डो बनाउने खतरा पनि उत्तिकै हुन्छ ।
टेकाको प्रयोग जति कम भयो खर्च पनि त्यति नै कम हुन्छ । त्यसैले निर्माण व्यवसायीले सकेसम्म धेरैभन्दा धेरै माटो थुपारेर स्काफोल्डिङको प्रयोग गरेको देखिन्छ । सीधा अर्थमा भन्ने हो भने स्काफोल्डिङको खर्च आफ्नो फाइदाका लागि गरेको देखिएको उनको भनाइ छ ।
‘यस्तो गलत अभ्यास हुनुमा राज्यको पनि कमजोरी छ’ उनी भन्छन्, ‘राज्यले राम्ररी पुल निर्माणको अनुगमन नगर्नु नै यस्ता घटनाको मुख्य कारण हो । त्यसैले प्रत्येक संरचना निर्माण हुँदा उचित अनुगमन हुन जरुरी हुन्छ ।’
बज्राचार्यका अनुसार पुलको आयु ५० वर्षको हुन्छ । यसलाई बीचबीचमा ‘स्पेसिफिकेसन’ मर्मतसम्भार गरियो भने ७०/८० वर्षसम्म निर्धक्कसँग काम गर्छ ।