काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसा र बाल–विवाहविरुद्ध अभियान सुरु गरेको छ । बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टाले बिहीबारदेखि लैंगिक हिंसाविरुद्ध अभियान सुरु गरेको हो ।
साे अभियान संयुक्त राष्ट्रसंघको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सँगै हुनेछ । महिला माथि निरन्तर रुपमा हिंसाका घटनाहरु भइराखे पनि इज्जत जोगाउनुपर्ने डर, उजुरी गरिहाले पनि सुनुवाइ नहुने र साथ नपाइने डरले उजुरी नगर्ने परम्परा रहिआएको छ ।
‘कहिलेकाँही यस्तो भैहाल्छ नि, एकचोटिलाई छोड्देऊ’ भनेर लैंगिक हिंसाका धेरै घटनाहरु बाहिर ल्याइदैन । सोहि कुरालाई मध्ये नजर गरेर जोन्टाले ‘कहिलेकाहीँ होइन, कहिले पनि हुँदैन’, भन्ने सन्देश दिने गरी ४ वटा सर्ट फिल्म बनाएको छ ।
साे सर्ट फिल्महरुले हिंसा, उत्पीडन र बाल–विवाह कहिल्यै पनि सहनुहुँदैन र यसको विरुद्धमा बोल्नैपर्छ भनेर सन्देश दिन खोजेको जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले बताइन् । उनले भनिन्, ‘हामी आशा गर्दछौं, यी भिडियोहरुले पीडितहरुलाई सहयोग माग्न हौसला दिनुका साथै सुरक्षित रुपमा सहयोग लिन सकिने ठाँउहरुको बारेमा जानकारी दिनेछन् ।’
यससँगै जोन्टाले अभियानको एक हिस्साको रुपमा काठमाडौंको विभिन्न सार्वजनिक स्थलहरुमा डिसेम्बर १ देखि सडक नाटक पनि प्रदर्शन गर्ने जनाएको छ । सामाजिक सन्देश प्रवाह गर्नको लागि सडक नाटकहरु बढी प्रभावकारी हुने भएकाले यिनीहरु मार्फत ‘लैंगिक हिंसा र बाल–विवाह विरुद्ध आवाज उठाऔं’ भन्ने मुख्य सन्देश फैलाउन हामी निरन्तर लागि पर्नेछौं’ जोन्टा क्लवका सदस्य एवं अधिवक्ता रत्न कार्कीले बताए ।
जोन्टा काठमाडौंले हिंसामा परेका महिला र बालिकाहरुको सहयोगको लागि ललितपुर महानगरीय प्रहरीको हेल्पलाइन १ सय र अन्य विभिन्न संस्थाहरुसँग पनि सहकार्य गरिरहेको छ । साथै घरेलु हिंसा र कार्यस्थल जन्य हिंसा पीडित महिलालाई कानुनी सल्लाह र सहयोग प्रदान गर्नको लागि जोन्टाले राष्ट्रिय महिला आयोगसँग मिलेर ११४५ नम्बरको हेल्पलाइन पनि तयार गरेको छ ।
साे अभियान कार्यक्रममा सरकारी कर्मचारीहरु, कूटनीतिज्ञहरु, डेभलपमेन्ट पार्ट्नस्, नागरिक समाजका सदस्यहरु र सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।