काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई लिमिटेडले मात्रै नेपालमा एक तिहाइ विप्रेषण (रेमिट्यान्स) भित्र्याउने गरेको छ । विश्वभरि सञ्जाल विस्तार गरेको आईएमई नेपालमा रेमिट्यान्स (विप्रेषण) भित्र्याउने अगुवा (पायोनियर) कम्पनी बनेको छ ।
आईएमईले २०२१ को १० महिना (२०२१ जनवरीदेखी अक्टोबरसम्म) मा १ अर्ब ११ करोड ८८ लाख ४४ हजार अमेरिकी डलर रेमिट्यान्स नेपालमा भित्र्याएको छ । आईएमईले यसअवधिमा भित्र्याएको कुल रेमिट्यान्स ३ अर्ब ४८ करोड ३० लाख ६२ हजारको ३२.१२ प्रतिशत हो ।
गत वर्ष (२०२० फेब्रुअरीदेखि २०२१ फेब्रुअरीसम्म) पनि आइएमईले नै सबैभन्दा बढी रेमिट्यान्स, १ अर्ब ५८ करोड १८ लाख ९७ हजार डलर नेपाल भित्र्याएको थियो । जुन अन्य कम्पनीहरूमार्फत आएको कुल रेमिट्यान्स ४ अर्ब ७९ करोड ९ लाख १० हजार डलरको ३३ प्रतिशत हो ।
बढी रेमिट्यान्स ल्याउने दोस्रो कम्पनीको सूचीमा सिटी एक्सप्रेस मनी ट्रान्सफर परेको छ । सिटीले १० महिनामा ५८ करोड ६१ लाख ७४ हजार डलर रेमिट्यान्स भित्र्याएको छ । सिटीले ल्याएको रकम पनि कम्पनीमार्फत आएको कुल रेमिट्यान्सको करिव १७ प्रतिशत हो । सिटीले गत वर्षको यसै अवधिमा ८३ करोड २५ लाख ९२ हजार डलर रेमिट्यान्स ल्याएको थियो ।
रेमिट्यान्स ल्याउने तेस्रो सूचीमा प्रभु मनी ट्रान्सफर परेको छ । प्रभुले पछिल्लो १० महिनामा ३९ करोड ५२ लाख ८८ हजार डलर नेपालमा भित्र्याएको हाे । जुन कूल रेमिट्यान्स आप्रवाहको ११.३५ प्रतिशत हो । प्रभुले गत वर्ष ६० करोड ३९ लाख ७६ हजार डलर रेमिट्यान्स भित्र्याएको थियो ।
रेमिट्यान्स नेपालमा ल्याउने मध्ये ३ कम्पनीको हिस्सा ६० प्रतिशतभन्दा बढी छ । नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागबाट प्राप्त जानकारीअनुसार नेपालमा रेमिट्यान्स भित्र्याउन ३८ वटा कम्पनीले अद्यावधिक तथ्यांक उपलब्ध गराएका छन् । तीमध्ये ३१ कम्पनीमार्फत मात्रै रेमिट्यान्स आएको छ । विभिन्न ५१ वटा कम्पनीले रेमिट्यान्स ल्याउनका राष्ट्र बैंकबाट इजाजत लिएका छन् ।
छुट्टै खोलिएका कम्पनीबाहेक बैंकहरूमार्फत पनि नेपालमा रेमिट्यान्स भित्रिने गर्दछ । पछिल्लो समय बैंकहरूले रेमिट विभाग नै गठन गरेर आफ्नै बैंकको नाममा रहेको रेमिटमार्फत रेमिट्यान्स भित्र्याउने गर्दछन् । चालू वर्षको ३ महिना (असोजसम्म) मा नेपालमा २ अर्ब २ करोड डलर रेमिट्यान्स भित्रिएको छ ।
गत वर्षभरि ८ अर्ब १५ करोड डलर रेमिट्यान्स भित्रिएको थियो । कूल आप्रवाहमध्ये आधाभन्दा बढी रकम रेमिट्यान्स कम्पनीमार्फत आउने गर्छ ।
खासगरी विश्वव्यापी रूपमा देखिएको कोरोना महामारीका कारण वैदेशिक रोजगारी सुस्ताउँदा नेपाल भित्रिने रेमिट्यान्स पनि घट्दै गएको छ । गत वर्ष ९.८ प्रतिशतले बढेको रेमिट्यान्स चालू वर्षको ३ महिनामा ७.६ प्रतिशतले ह्रास आएको छ ।