काठमाडौं । उद्यमशीलतामार्फत सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने सोचका साथ नबिल बैंकले ‘सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम’ सुरु गरेको छ ।
याे कार्यक्रमले नवीन सोचमा आधारित उद्यमलाई प्रबर्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनेछ । साथै स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप तथा वित्तीय सहयोग उपलब्ध गराउनेछ ।
सामाजिक उद्यमको प्रबद्र्धन गर्ने उद्देश्यले ‘नबिल एसएसई’ कार्यक्रमले सामाजिक उद्यमशीलतामा प्रमाणपत्र र फेलोशिप गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।
सुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका निम्न स्कुल-कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ । जसमध्ये प्रदेश १ मा महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ मा वीरगन्ज पब्लिक कलेज रहेका छन् ।
यस्तै बागमती प्रदेशबाट काम्पिएन कलेज, गण्डकी प्रदेशबाट फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, पोखरा विश्वविद्यालय रहेका छन् भने लुम्बिनी प्रदेशमा क्षितिज इन्टरनेसनल कलेज, सुदूरपश्चिमबाट सुदूरपश्चिमाञ्चल एकेडेमी र कर्णालीबाट सुर्खेत मोडल कलेज रहेका छन् ।
यस कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्नेछ ।
यस्तै आवासीय तालिममा आधारित फेलासीप कार्यक्रमका लागि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको ‘स्कुल अफ म्यानेजमेन्टसँग बैंकले आजै सम्झौता गरेको छ ।
एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० सहभागीलाई समेटिने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।
‘नबिल एसएसई’ का दुवै कोर्स पूरा गरेका व्यक्तिहरूले उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरुवात गर्न सक्ने अपेक्षा बैंकले गरेको छ ।